बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश
  • चिनियाँ पूर्व राष्ट्रपति चियाङ सेमिनको निधन

चिनियाँ पूर्व राष्ट्रपति चियाङ सेमिनको निधन

  • बुधबार, मंसिर १४, २०७९
चिनियाँ पूर्व राष्ट्रपति चियाङ सेमिनको निधन

काठमाडौं  – चिनियाँ पूर्वराष्ट्रपति चियाङ सेमिनको निधन भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व महासचिव, केन्द्रीय सैन्य आयोगका पूर्वअध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति चियाङको बुधबार ९६ वर्षको उमेरमा निधन भएको चिनियाँ सरकारी सञ्चार संस्था सिन्ह्वाले जनाएको छ । थप विवरण भने सार्वजनिक भएको छैन ।

चियाङ सन् १९८९ को तियानमेन स्क्वायरमा भएको आन्दोलनपछि चीनको शक्तिमा उदाएका नेता हुन् । सन् १९२६ को १७ अगस्टमा जन्मिएका उनी तियानमेन स्क्वायरमा भएको विद्यार्थी आन्दोलनपछि चिनियाँ कम्युनिस्ट पार्टीको अध्यक्ष बनेका थिए । उनीभन्दा अघि चाओ चियाङ पार्टीका महासचिव थिए ।

सन् १९४६ मा सीपीसीको पार्टी सदस्यता लिएका उनले संघाई विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गरेका थिए । केही समय चीनका उद्योगहरूमा काम गरेका उनले सन् १९५५ मा सोभियत युनियनबाट इलेक्ट्रिक सम्बन्धी थप तालिम समेत लिएका थिए ।

इलेक्ट्रिक अनुसन्धातासमेत रहेका उनी सन् १९८० मा आयात तथा निर्यात राज्यमन्त्री बनेका थिए । त्यसको दुई वर्षपछि उपमन्त्री बनेका उनी उक्त कार्यकालको अन्तिमतिर मन्त्री नै बनेका थिए । चीनले गरेको विकासमा उनको महत्वपूर्ण भूमिका रहेको मानिन्छ ।

उनी त्यहीबीचमा सन् १९८२ मा मार्टीको केन्द्रीय सदस्य बने भने १९८५ मा संघाईको मेयर र १९८७ मा पार्टी राजनीतिक ब्यूरो सदस्य बनेका थिए । पार्टीको नेतृत्वमा पुगिसकेपछि उनले सन् १९९३ मा चीनको शक्तिशाली मानिने केन्द्रीय सैन्य आयोगबाट देङ स्यावो पिङ हटेपछि उनी त्यसको पनि अध्यक्ष बनेका थिए । सन् १९९७ मा देङ स्यावो पिङको निधन भएपछि उनी चीनका सर्वोच्च नेता बनेका थिए ।

उनी सर्वोच्च नेता भएपछि नै चीनका तीन लाखभन्दा बढी उद्योगहरूमाथि सरकारको एकाधिकारलाई खुकुलो बनाउँदै निजीकरणमा लैजाने योजनाको सुरू भएको बताइन्छ ।

यससँगै अमेरिकासँग रहेको चीनको तिक्तापूर्ण सम्बन्ध सुधारमा पनि चियाङको महत्वपूर्ण भूमिका रहेको थियो । उनी सन् १९९७ मा सम्पन्न चीन–अमेरिका सम्मिटमा सहभागी भएर चीनका विषयमा उठिरहेको मानवअधिकारको विषयमा बोलेका थिए ।

उनी सन् २००२ सम्म पार्टीको नेतृत्वमा रहे भने २००३ सम्म चीनको राष्ट्रपति पदमा रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार