शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • कांग्रेसले ०७४ मा जितेका २३ मध्ये एउटा गुमायो, थप १२ सिट गुमाउने खतरा

कांग्रेसले ०७४ मा जितेका २३ मध्ये एउटा गुमायो, थप १२ सिट गुमाउने खतरा

  • बिहिबार, मंसिर ८, २०७९
कांग्रेसले ०७४ मा जितेका २३ मध्ये एउटा गुमायो, थप १२ सिट गुमाउने खतरा

सत्तारुढ नेपाली कांग्रेसले २०७४ मा बाम गठबन्धनका बाबजुद जितेका २३ मध्ये एउटा सिट गुमाएको छ भने १२ सिट गुमाउने सङ्केत देखिएको छ । तत्कालीन एमाले– माओवादी र फोरम–राजपा गरी दुवै गठबन्धनका बाबजुद कांग्रेसले २३ निर्वाचन क्षेत्रमा जित निकालेको थियो ।

अहिले पाँच दलीय गठबन्धनका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएको कांग्रेस ०७४ मा जितेका निर्वाचन क्षेत्रमै पछाडि परेको हो । अहिले कांग्रेसबाट दोहोरिएका ८ र नयाँ ४ जना र नेकपा एकीकृत समाजवादीले लिएको १ क्षेत्रमा सत्ता गठबन्धन पछाडि परेको छ । बर्दिया १ मा भने कांग्रेस र नागरिक उन्मुक्ति पार्टीबीच प्रतिस्पर्धा चलिरहेको छ ।

काठमाडौँ–६ मा कांग्रेसका भीमसेनदास प्रधान पराजित भएका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल जित नजिक छन् भने एमालेका सर्वेन्द्र खनाल दोस्रो स्थानमा छन् । ७० र ७४ मात जितेका प्रधान तेस्रो हुन पुगेका छन् ।

बारा – १ मा कांग्रेस सह–महामन्त्री उमाकान्त चौधरी निकै पछाडि परेका छन् । यहाँ एमाले–जसपाका साझा उम्मेदवार अच्युतप्रसाद मैनालीले सत्ता गठबन्धनका चौधरीलाई करिब ४ हजार मतान्तरले पछाडि पारेका हुन् । २०५६ मा बारा १, ०६४ मा बारा ५ र ०७४ मा बारा १ बाट भएका उनी अहिले पराजित दिशामा छन् ।

कपिलवस्तु – ३ मा पनि कांग्रेसका अभिषेकप्रताप साह पछाडि परेका छन् । एमालेका मंगलप्रसाद गुप्तासँग उनी २ हजार मतान्तरले पछाडि छन् । अन्तरिम व्यवस्थापिका सदस्य २०६३ देखि संसद् यात्रा ब्रेक लाग्ने सङ्केत देखिएको छ । उनी ०६४ मा र ०७० मा कपिलवस्तु ५ बाट र ०७४ कपिलवस्तु ३ बाट निर्वाचित भएका थिए ।

संसदीय निर्वाचनमा डबल ह्याट्रिक गरेका कांग्रेसका नेता विजयकुमार गच्छदारको संसद् यात्रामा पनि ब्रेक लाग्ने भएको छ । सुनसरी – ३ मा एमालेकी भगवती चौधरी अग्रस्थानमा हुँदा दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल बाबु मैनाली छन् । भगवती र गच्छदारको मतान्तर १ हजार भन्दा बढी छ । २०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा निर्वाचित उनी यसपटक रोकिने सङ्केत देखिएको छ ।

सुनसरी – २ मा कांग्रेसका सिताराम मेहता पनि तेस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापा अग्रस्थानमा छन् भने एमालेका भीम आचार्य दोस्रो स्थानमा छन् । ०६४ र ०७० मा सुनसरी ४ तथा ०७४ मा सुनसरी २ बाट प्रत्यक्ष चुनाव जितेर ह्याट्रिक गरेका मेहता यसपटक रोकिने सङ्केत देखिएको छ ।

सुनसरी – ४ बहालवाला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि लिड गर्न नसकेको अवस्था छ । उनी एमालेका जगदिशप्रसाद कुसियैतसँग ५ सयभन्दा बढी मतान्तरले पछाडि छन् । ०७४ मा सुनसरी ४ बाट पहिलो पटक प्रत्यक्ष चुनाव जितेका कार्कीलाई दोस्रो जितका लागि कडा संघर्ष गर्नु परेको छ ।

रुपन्देही – ४ मा चुनाव जितेका प्रमोद यादव पनि चुनाव हार्ने सम्भावना बढेको छ । ०७४ मा कांग्रेस प्रवेश गरे लगत्तै उम्मेदवार बनेर होटल, पेट्रोलियम व्यवसाय तथा रियलस्टेट व्यवसायी यादवले चुनाव जितेका थिए । अहिले उनी लोसपाका सर्वेन्द्रनाथ शुक्लासँग करिब ४ हजार मतले पछाडि परेका छन् ।

रुपन्देही – ५ भरत शाहको संसद् यात्रा पनि ब्रेक लाग्ने सङ्केत देखिएको छ । जारी मत गणनामा एमालेका वासुदेव घिमिरेसँग उनी करिब ६ हजार मतान्तरले पछाडि छन् । २०५६, २०७० र ०७४ मा रुपन्देही ५ बाटै निर्वाचित शाहको यात्रामा घिमिरेले ब्रेक लगाउने सम्भावना बढेको छ । ०७४ मा बाम गठबन्धनलाई पराजित गरेका उनी अहिले ६ दलीय गठबन्धनको साझा उम्मेदवार हुँदा पनि चुनाव हार्ने दिशामा छन् ।

मोरङ – २ मा ०७४ मा कांग्रेसका मिनेन्द्र रिजालले बाम गठबन्धनका बाबजुद पनि चुनाव जितेका थिए । मोरङका ६ वटा निर्वाचन क्षेत्र मध्ये कांग्रेसले ५ वटा गुमाउँदा रिजालले २ नम्बरमा एमालेका ऋषिकेश पोखरेललाई पराजित गरेका थिए । अहिले रिजाललाई रोकेर कांग्रेस सुजाता कोइरालालाई मैदानमा उतारेको छ । उनी एमालेका पोखरेलसँग करिब १ हजार मतले पछाडि परेकी छिन् । ०६४ मा प्रत्यक्ष चुनाव लडेर हारेकी सुजातालाई पहिलो जितको खोजीमा संघर्षरत छिन् ।

नवलपरासी– २ मा पनि देवेन्द्र कँडेलले हार नजिक पुगेका छन् । राप्रपाका ध्रुवबहादुर प्रधान जित नजिक हुँदा एमालेका दिपेन्द्रकुमार अधिकारी दोस्रो स्थानमा छन् । ०७४ मा सहज जित निकालेका कँडेल अहिले तेस्रो स्थानमा पुगेका छन् । उनी प्रधानभन्दा करिब ७ हजार मतान्तरले पछाडि छन् । कँडेल २०५१, ०५६ र २०७४ मा नवलपरासीबाट निर्वाचित भएका थिए । यस पटक भने उनी रोकिने पक्का जस्तै छ ।

रौतहट – २ मा पनि कांग्रेस पछाडि छ । स्वतन्त्र उम्मेदवार किरणकुमार साहले कांग्रेसका फिर्दोस आलमलाई सुरुवातीदेखि नै पछाडि पारेका छन् । यसअघि यहाँ फिर्दोसका बुबा अफताव आलम निर्वाचित भएका थिए । कर्तव्य ज्यान मुद्दामा अफताव जेल परेपछि कांग्रेसले फिर्दोसलाई उम्मेदवार बनाएको थियो ।

सर्लाही – ४ मा कांग्रेसका नागेन्द्र राय पनि पछाडि परेका छन् । ०७४ मा कांग्रेसबाट चुनाव जितेका अमरेशकुमार सिंह अगाडि छन् । कांग्रेसबाट कारबाहीमा परेका सिंहले नागेन्द्रलाई चुनौती दिएको अवस्था छ ।

सिरहा– १ मा प्रदीप गिरिले जितेका थिए । त्यहाँ यस पटक नेता गिरिको निधन भएपछि कांग्रेसले उम्मेदवारी नै दिएको छैन । गठबन्धनबाट एकीकृत समाजवादीका धर्मनाथ साह उम्मेदवार छन् । एमाले–जसपा गठबन्धनबाट जसपाका वीरेन्द्रसिंह महतो अगाडि छन् ।

०७४ मा चुनाव जितेका कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, प्रकाशमान सिंह, मोहन आचार्य र राजेन्द्र केसी यसपटक पनि निर्वाचित भएका छन् । उदयपुर – १ मा नारायण खड्का, सप्तरी– ४ मा तेचुलाल चौधरी, रौतहट – ४ मा देवप्रकाश तिमिलसिना, नवलपुर– २ मा शशांक कोइराला, बर्दिया – १ मा सञ्जय गौतम अगाडि छन् । राताेपाटी डट कमबाट साभार 

चर्चामा

सम्बन्धित समाचार