बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • राजनीति
  • अमेरिकामा पाँच दिनपछि हुने चुनाव डेमोक्र्याटले हार्ने प्रक्षेपण

अमेरिकामा पाँच दिनपछि हुने चुनाव डेमोक्र्याटले हार्ने प्रक्षेपण

  • बिहिबार, कार्तिक १७, २०७९
अमेरिकामा पाँच दिनपछि हुने चुनाव डेमोक्र्याटले हार्ने प्रक्षेपण

अमेरिकामा अबको पाँच दिनपछि संसदीय चुनाव हुँदैछ। नोभेम्बर ८ को मिडटर्म चुनाव डेमोक्र्याटहरूका निम्ति कठिन रहेको सर्वेक्षणहरूले देखाएका छन्।

रियलक्लियर पोलिटिक्स डटकममा रहेका सर्वेक्षणमध्ये पछिल्ला १५ दिनका सर्वेक्षणले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा डेमोक्र्याटको संख्या कम हुने देखाएका हुन्। सार्वजनिक भएका ३१ सर्वेक्षणमध्ये २७ ले रिपब्लिकन पार्टीले अहिलेभन्दा बढी सिट ल्याउने देखाएका छन् भने ४ वटाले मात्रै डेमोक्र्याटले सिट बढाउने देखाएका छन्।

गत जुन २४ मा अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनलाई कानुनी मान्यता दिन अस्वीकार गरेसँगै मतदाता डेमोक्र्याटसँग रूष्ट छन्। अदालतको त्यस फैसलालाई राष्ट्रपति जो बाइडेनले दु:खद त्रुटी भन्दै टिप्पणी गरेका थिए। रिपब्लिकनले भने त्यस फैसलालाई चरम गल्ती र असंवेदनशील भन्दै प्रचार गरेको थियो। महिलाहरूले अदालतले गर्भपतनलाई कानुनी मान्यता दिन अस्वीकार गर्दै प्रजनन अधिकारमा धावा बोलेको भन्दै प्रदर्शन समेत गरेका थिए। तर अहिले अमेरिकी मतदाताको प्राथमिकतामा गर्भपतनभन्दा अर्थतन्त्र परेको छ। आकासिँदो मूल्य वृद्धि, चर्को व्याजदरका कारण अर्थतन्त्रमा आएको चुनौति र अपराधका घटनाहरूमा डेमोक्र्याटभन्दा मतदाताहरूले रिपब्लिकनलाई पत्याएका छन्। त्यसैकारणपनि यसपाली डेमोक्र्याटहरूलाई चुनाव गाह्रो पर्ने देखिएको छ।

यो बाहेक पाँच आधारले डेमोक्र्याटका उम्मेदवारलाई यसपालिको चुनाव गाह्रो रहेको सिएनएनले उल्लेख गरेको छ।

१. बाइडेनको लोकप्रियता खस्किनु

सिएनएनले बाइडेनको लोकप्रियता खस्किएका कारणले चुनावी परिणाममा असर पुग्ने लेखेको छ। सेप्टेम्बर र अक्टोबरमा गरिएका सर्वेक्षणअनुसार ४६ प्रतिशतले मात्रै बाइडेनलाई मन पराएका थिए। अहिले त्यो संख्या घटेर ४२ प्रतिशत पुगेको छ। यता १७ प्रतिशतले मात्रै बाइडेनको कामलाई अनुमोदन गरेका छन् भने ४७ प्रतिशतले असन्तुष्टि जनाएका छन्।

२. राष्ट्रिय समस्या समाधानमा असफल

मतदाताहरूले बाइडेन प्रशासन राष्ट्रिय प्राथमिकता तय गरेर समस्या समाधानमा असफल भएको बताउन थालेका छन्। सर्वेक्षणमा सहभागीमध्ये ३९ प्रतिशतले मात्रै बाइडेनको प्राथमिकता सही रहेको भन्दै समर्थन जनाएका थिए। ६१ प्रतिशतले भने बाइडेन प्रशासनप्रति असन्तुष्टि जनाएका हुन्। सन् २०१८ को चुनावमा सिएनएनले सर्वेक्षण गर्दा ४० प्रतिशत मतदाताले ट्रम्पका प्राथमिकता सही रहेको मत जाहेर गरेका थिए।

३. अर्थतन्त्रको स्थितिमा मतदाताको असन्तुष्टl

बाइडेन प्रशासनले मुलुकको अर्थतन्त्रलाई सही दिशामा लैजान नसकेको भन्दै आलोचना गरेका छन्। सर्वेक्षणमा सहभागीमध्ये ५१ प्रतिशतले अर्थतन्त्र सुधारकलाई आफ्नो मत जाने बताएका छन्। ७१ प्रतिशत मतदाताले आफ्नो निर्वाचन क्षेत्रमा रिपब्लिकनका उम्मेदवारलाई मतदान गर्ने बताएका छन्। पेट्रोलियम पदार्थको भाउ महंगिएर गरिबलाई मर्का पर्दासमेत बाइडेन प्रशासनले केही गर्न नसकेको भन्दै रिपब्लिकनले चुनावी एजेन्डा बनाइरहेको छ।

४. विकल्पको पक्षमा ७२ प्रतिशत मतदाता

सिएनएनको सर्वेक्षणम सहभागीमध्ये ७२ प्रतिशत मतदाताले विकल्प खोज्नुपर्ने बताएका छन्। २८ प्रतिशतले मात्रै बाइडेन प्रशासन ठीकै चलिरहेको बताएका छन्। यसले मतदाताहरू विकल्पको पक्षमा रहेको संकेत गर्छ। ह्वाइट हाउस चलाउने डेमोक्र्याटविरूद्धका असन्तुष्टिका स्वरहरू रिपब्लिकनका निम्ति फाइदाजनक हुनसक्छ।

५. आर्थिक मन्दीको त्रास

७५ प्रतिशत मतदाताले मुलुकमा आर्थिक मन्दी आउन सक्ने चिन्ता व्यक्त गरेका छन्। आर्थिक मन्दीका विषयमा बहस भइरहे पनि मतदाताहरूले यस विषयलाई कसरी लिइरहेका छन् भन्नेमा वर्तमान प्रशासनले चासो लिएको देखिँदैन।

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स ४३५ सदस्यीय छ। उनीहरूको कार्यकाल २ वर्षको हुन्छ। अमेरिकामा सत्तारूढ दल संसदीय चुनावमा पछि पर्ने ट्रेन्ड छ। सन् २०१८ को चुनावमा डेमोक्र्याटले २ सय ३५ सिट जित्दै बहुमत ल्याएको थियो। त्यसबेला रिपब्लिकनले १ सय ९९ सिट जितेको थियो। सन् २०२० मा राष्ट्रपति डोनाल्ड ट्रम्पको अलोकप्रियताको कारण डेमोक्र्याटको सिट अझै बढ्ने आँकलन गरिए पनि त्यस बेला डेमोक्र्याटले २ सय २२ सिट जित्दै बहुमत सुनिश्चित गर्‍यो। रिपब्लिकनले २ सय १३ सिट जितेको थियो।

डेमोक्र्याटलाई चुनाव कठिन रहेका मत सर्वेक्षण सार्वजनिक भइरहँदा अमेरिकी राष्ट्रपति बाइडेनले मतदातालाई विशेष अपिल गरेका छन्। मुलुकमा लोकतन्त्रको भविष्य आगामी चुनावी परिणाममा निर्भर रहने भन्दै सचेत हुन मतदातालाई उनले अपिल गरेका हुन्।

‘लोकतन्त्रलाई अब हल्का रूपमा लिन सकिँदैन,’ उनले सम्बोधनमा भनेका छन्,‘म यहाँ उभिएर सम्बोधन गरिरहँदा उम्मेदवारहरूलाई नियालिरहेको छु। चुनावमा भाग लिने तर परिणामलाई अस्वकीर गर्नेहरू पनि सहभागी छन्,’बाइडेनले भने, ‘ यो बाटो अराजक हो, गैरकानुनी हो र गैरअमेरिकी चरित्र हो।’

राष्ट्रपतीय निर्वाचनको परिणाम अस्वीकार गर्दै समर्थकहरूलाई प्रदर्शनमा उतार्ने ट्रम्पप्रति बाइडेन निकै आक्रोशित सुनिन्थे।

‘जनमत अस्वीकार गरेर पूर्वराष्ट्रपतिले अमेरिकी लोकतन्त्रमा प्रहार गरे। हिंसा झुठ र षडयन्त्रको सहायतामा काम गरिरहेका छन्। हामीले शान्तिपूर्ण तवरले सत्यता अघि सार्नुपर्छ,’ उनले भने।

हिंसा र द्वन्द्वको प्रवर्द्धन गर्नेहरू अमेरिकामा कमजोर रहने उनको टिप्पणी छ। अमेरिकी जनताले संसदीय चुनावमा हिंसाको प्रवर्द्धन गर्ने शक्तिलाई हराउनेमा आफू आशावादी रहेको बताएका छन्। बाइडेनले डेमोक्र्याटिक नेशनल कमिटीको राजनीतिक कार्यक्रममा आफ्नो सम्बोधन गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार