शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • निर्वाचनभन्दा खाद्यान्न जोहोको चिन्तामा

निर्वाचनभन्दा खाद्यान्न जोहोको चिन्तामा

  • मङ्लबार, कार्तिक १५, २०७९
निर्वाचनभन्दा खाद्यान्न जोहोको चिन्तामा

राँझा– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन नजिकिए पनि बाँकेको नरैनापुरवासीमा चुनावी रौनक आउन सकेको छैन । बर्सादमा धान रोप्ने बेला लामो समय खडेरी भएपछि धान रोप्न नपाएका नरैनापुरवासीको यतिबेला भकारी रित्तिएको छ । खेतबारी पनि बाँझै रहेको छ । अलि अलि रोपेको धान पनि असोजको अन्तिम साता आएको बर्सादले डुबाएको छ ।

धानको बीउ रोप्ने समय असार, साउन र भदौ तीन महिना खडेरी परेको नरैनापुरमा असोजमा आएको बेमौसमी बर्सादले अधिकांश क्षेत्र डुबान गरेको थियो । नरैनापुरवासी आम निर्वाचनभन्दा पनि खाद्यान्न जोहोको चिन्तामा छन् । ‘पानी पर्ने बेला नपरेर धान रोप्न पाइएन अलि अलि भएको पनि डुबान भएर स्याहार्न पाइएन’, नरैनापुर-६ निवासी सोहनलाल यादवले भने, ‘खडेरी र डुबानले पीडित नरैनापुरवासीलाई यतिबेला चुनावभन्दा पनि खाद्यान्न जोहो गर्नेमा चिन्ता छ ।’

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यस क्षेत्रबाट विभिन्न पार्टीका तर्फबाट उम्मेदवार बनेका नेता तथा कार्यकर्ता नरैनापुरमा जाने गरे पनि स्थानीयले चुनावप्रति त्यति धेरै चासो नदिएको उनको भनाइ छ ।

नरैनापुर गाउँपालिका–१ कटकुइँया निवासी प्रमोद मिश्राले सुक्खाग्रस्त नरैनापुरमा खाद्यान्नको व्यवस्था र सिँचाइ तथा डुबानमुक्त गराउने नेतालाई भोट दिने बताए । खडेरी र बाढीको डुबानमा परेका नरैनापुरवासीको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने योजनासाथ अगाडि बढेका नेकपा एमालेबाट बाँके क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकालले बताए ।

बाँके क्षेत्र नं १ प्रदेश ९१० मा पर्ने नरैनापुरमा सत्ता गठबन्धनबाट नेकपा माआवादी केन्द्रका नेता तथा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज उम्मेदवार रहेका छन् । यो गठबन्धनबाट प्रदेशसभा सदस्यमा माओवादीकी कृष्णा केसी उम्मेदवार हुन् भने एमाले राप्रपा तालमेलबाट राप्रपाका नरेन्द्र पौडेल र जनता समाजवादी पार्टीबाट अमर खड्का उम्मेदवार रहेका छन् ।

समयमा पानी नपरेपछि धानबाली लगाउन नपाएर समस्या झेल्दै आएका नरैनापुरवासीलाई दैनिक छाक टार्न समस्या भएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । धान रोप्ने समयमा लामो खडेरी भएका कारण धान रोप्न नपाएपछि नरैनापुर गाउँपालिकालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न गाउँपालिकाले माग गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार