शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • बाढीपहिरोमा आफन्त गुमाएका परिवारले अझै पाएनन् राहत

बाढीपहिरोमा आफन्त गुमाएका परिवारले अझै पाएनन् राहत

  • मङ्लबार, अशोज ४, २०७९
बाढीपहिरोमा आफन्त गुमाएका परिवारले अझै पाएनन् राहत

धनगढी – दार्चुलामा भदौ २४ गते शुक्रबार राति बाढीपहिरोमा परी पाँच जनाको मृत्यु भयो। जिल्लामा १० जना अझै बेपत्ता छन्। उनीहरुको खोजी सम्भव नरहेको स्थानीय प्रशासनले बताएको छ।

जिल्लामा एक सय परिवार प्रभावित भएका छन्। उनीहरुका लागि दैनिक खाना, बासस्थान, लुगाकपडामा स्थानीय तह र स्थानीय प्रशासन लागेको छ। तर मृतकका परिवारलाई प्रदेश सरकारले दिने भनेको जनही एक लाख र संघीय सरकारले पठाएको २ लाख रकम वितरण भएको छैन।
सुदूरपश्चिम प्रदेश सरकारले २७ लाख जिल्ला प्रशासन कार्यालयको खातामा पठाएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले प्रदेश सरकार र संघीय सरकारबाट रकम आएको भएपनि वितरण नभएको बताए। ‘तथ्यांक संकलनको काम जारी छ। वितरण गर्न बाँकी छ’ उनले भने, ‘गृह मन्त्रालयलाई बेपत्ता भएकाहरुलाई पनि मृतक सरह राहत वितरणका लागि निर्णय गर्न भनेका छौं। निर्णय आएपछि र तथ्यांक पूरा भएपछि वितरण गर्छाै।’
यता अछाममा पहिरोका कारण २३ जनाको मृत्यु भएको छ। आइतबार बिहान तुर्माखाँदका १३ वर्षीय सुन्दर शाहीको शव भेटिएसँगै एकै रातमा पहिरोका कारण २३ जनाको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ। उनीहरुका लागि भने प्रदेश सरकारले रकम पठाएको छैन।

सोमबार प्रदेश सरकारले मृतकका परिवारलाई एक लाखका दरले राहत रकम दिने निर्णय भने गरेको छ। प्रदेश सरकारले ५० ओटा कम्बल अछाम पठाएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता लक्ष्मी जोशीले प्रदेशको अछाम, दार्चुला, कैलाली र कञ्चनपुरका लागि राहत रकम र सामग्री संकलनको काम भइरहेको बताए। ‘दार्चुला र अछामका लागि कम्बल पठाएका छौं। दार्चुलाका लागि २७ लाख पठाइएको छ। अछामका लागि पनि निर्णय भएको छ’ उनले भने, ‘आवश्यक त्रिपाल, कम्बल लगायतका सामग्री संकलनको काम जारी छ। हाम्रो स्टरमा रहेका सामग्री वितरण गरेका छौं।’

प्रदेशको विपद् व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष तथा कानून मन्त्री रणबहादुर रावल प्रदेश बाहिर रहेकाले अछाममा राहत रकम पठाउने निर्णय नभएको बताइएको छ। प्रदेश सरकारको विपद कोषमा १८ करोड ६२ लाख ८२ हजार ८ सय ७१ रुपैयाँ छ।

यस्तै कैलालीका बाढी पीडितका लागि राहत रकम वितरणको तयारीमा पनि प्रदेश सरकार लागेको छ। कैलालीको दक्षिण पूर्वी क्षेत्रका एक हजार पाँच सय परिवार बाढीले प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ। बाढीको कारण कैलालीमा २ जनाको ज्यान गएको छ भने कञ्चनपुरमा १ जनाको ज्यान जानुका साथै २ सय बढी परिवार विस्थापित भएको प्रारम्भिक विवरणले देखाएको छ।

चर्चामा

सम्बन्धित समाचार