बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • महारानीको निधनपछि के-के परिवर्तन हुनेछ ?

महारानीको निधनपछि के-के परिवर्तन हुनेछ ?

  • शुक्रबार, भदौ २४, २०७९
महारानीको निधनपछि के-के परिवर्तन हुनेछ ?

सन् १९५२ देखि करिब ७० वर्षभन्दा लामो समयसम्म गद्दीमा बसेकी बेलायती महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ ।

महारानी एलिजाबेथको निधनसँगै बेलायतको राजसंस्थाको नेतृत्व मात्रै होइन अब त्यहाँको राष्ट्रगानदेखि भण्डा र नगदसमेत परिवर्तन हुनेछन् ।

सबभन्दा लामो समय शासन गरेकी एलिजबेथको तस्वीर बेलायती नागरिकको जीवनशैलीसँग जोडिएको छ । उनको निधनसँगै राजपरिवारका जेठा छोरा चार्ल्स बेलायतका नयाँ राजा बन्ने छन् । त्यसपछि एलिजाबेथका तस्वीरहरू अंकित हुने ठाउँमा नयाँ राजाको तस्वीरहरू राखिनेछन् ।

झण्डा

एलिजाबेथको निधनसँगै बेलायतको निशान छाप र त्यहाँको सेना र प्रहरीले प्रयोग गर्ने भण्डा परिवर्तन हुनेछ । बेलायतसँगै एलिजाबेथलाई राज्य प्रमुख मान्ने अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड लगायतका देशले समेत झण्डा परिवर्तन गर्न सक्नेछन् ।

हाल ती झण्डामा महारानीले पहिरने तक्माको आकृति र त्यसमुनि एलिजाबेथ द्वितीयको शासनलाई संकेत गर्ने (ईआईआईआर) उल्लेख गरिएको हुन्छ, जुन राजसंस्थाको प्रतिक हो । त्यसको सट्टामा नयाँ राजालाई संकेत गर्ने चिह्न प्रयोगमा आउनेछ ।

साथै सरकारी कार्यालयमा प्रयोग महारानी एलिजाबेथलाई संकेत गर्ने हरेक प्रतिमा, ब्यानर र झण्डाहरू परिवर्तन गरिनेछन् ।

राष्ट्रिय गान

बेलायतको राज संस्थाको नेतृत्व अब राजाले गर्ने भएकाले राष्ट्रिय गान समेत परिवर्तन हुनेछ । अहिले त्यहाँको राष्ट्रिय गानमा ‘गड सेभ दि क्वीन’ भन्ने गरिन्छ । अब राजसंस्थाको प्रमुख राजा हुने भएपछि त्यसलाई परिवर्तन गरेर ‘गड सेभ दि किङ’ शब्द बनाइने छ ।

पत्रमञ्जुषा र छाप

महारानीको शासनलाई संकेत गर्ने ‘ईआईआईआर’ उल्लेखित पत्रमञ्जुषा (पोस्ट बक्स) र छाप (स्ट्याम्प) पनि परिवर्तन हुनेछन् । अब ती चिजहरूमा एलिजाबेथको तस्वीर प्रयोग हुँदै आएकोमा चार्ल्सको तस्वीर प्रयोगमा ल्याइनेछ ।

राहदानी

एलिजाबेथलाई सम्बोधन गरेर बनाइएको प्रायः सबै कागजातसँग बेलायतको राहदानी (पासपोर्ट) पनि परिवर्तन हुनेछ । अहिले बेलायतको राहदानीमा एलिजाबेथलाई सम्बोधन गरेर ‘हर मेजेस्टी’ उल्लेख गरिएको हुन्छ । अब त्यसलाई परिवर्तन गरेर ‘हिज मेजेस्टी’ उल्लेख हुनेछ । यो नियम मिति सकेको पासपोर्टको हकमा लागू हुने जनाइएको छ ।

नोट र सिक्का

बेलायतको नोट र सिक्काहरूमा अब एलिजाबेथको तस्वीर अंकित हुने छैन, जसमा अब राजा चाल्र्स तृतीयको तस्वीर हुनेछ । एलिजाबेथका तस्वीर अंकित सिक्का र नोटहरू बेलायतमा मात्रै नभएर उनलाई राज्य प्रमुखको मान्यता दिने अन्य मुलुकमा पनि भएकाले उनीहरूले पनि त्यसमा परिवर्तन ल्याउनेछन् ।

सबै सिक्का र नोट प्रतिस्थापनका लागि कम्तिमा दुई वर्षभन्दा बढी समय लाग्नसक्ने अनुमान गरिएको छ । बेलायत सरकारले भने यसको तयारी केही समय पहिलैदेखि नै गरेको थियो । केहीसमय एलिजाबेथको तस्वीर अंकित नोट तथा सिक्का नै प्रयोगमा रहने र नयाँ सिक्का तथा नोट प्रचलनमा ल्याएपछि मात्रै त्यसलाई विस्थापित गरिनेछ ।

प्रार्थना

एलिजाबेथ चर्च अफ इंग्ल्याण्डकी संरक्षक र सर्वोच्च गभर्नरको भूमिकामा समेत थिइन् । सन् १९६२ देखि उक्त चर्चको प्रार्थना पुस्तकमा उनका लागि पनि छुट्टै प्रार्थना अंश राखिएको छ । राज संस्थाको नेतृत्वमा नयाँ राजा हुने भएपछि त्यसलाई पनि संशोधन गरिनेछ, तर त्यसका लागि क्रिश्चियन धर्म सभाले नै निर्णय गर्न सक्नेछ ।

कमनवेल्थ

बेलायती राजसंस्थाका प्रमुखलाई अन्य १४ वटा देशले समेत राष्ट्र प्रमुखकको मान्यता दिने गरेका छन् । एलिजाबेथको निधनसँगै अब ती देश (कमनवेल्थ) ले पनि चार्ल्स तृतीयलाई राष्ट्र प्रमुखको मान्यता दिनेछन् ।

सपथ

बेलायतमा अब कुनै पनि सार्वजनिक ओहोदाको व्यक्तिले पद बहाल गर्नुपूर्व लिने सपथमा परिवर्तन हुनेछ । बेलायती संसद ‘हाउस अफ कमन’मा सहभागी हुन, बोल्न, मतदान गर्न र तलब सुविधा प्राप्त गर्नका लागि त्यहाँका सांसदहरूले महारानीको ताजलाई साक्षी राखेर प्रतिज्ञा व्यक्त गर्नुपर्ने व्यस्था छ ।

जसमा महारानीलाई सम्बोधन गर्दै ‘उनकाप्रति कर्तव्यबोध गर्नेछु’ भन्ने आशयका शब्दहरू राखिएका हुन्छन् । अब ती शब्दको ठाउँमा राजा चाल्र्सलाई सम्बोधन गरिएका शब्दहरू हुनेछन् ।

चर्चामा

सम्बन्धित समाचार