शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • सन्दीप सीपीएल खेल्न जाँदा रोहितलाई जुरेको अवसर

सन्दीप सीपीएल खेल्न जाँदा रोहितलाई जुरेको अवसर

  • शुक्रबार, भदौ १७, २०७९
सन्दीप सीपीएल खेल्न जाँदा रोहितलाई जुरेको अवसर

काठमाडौं — सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान मात्र नभएर महत्वपूर्ण सदस्य समेत हुन् । सन्दीप कप्तान बनेपछि नेपालले टी-२० विश्वकप छनोटदेखि क्रिकेट विश्वकप लिग टुमा तीन वटा शृखंला खेलिसकेका छ । तर उनको अनुपस्थितमा नेपालले केन्यासँग आज (शुक्रबार) एकदिवसीय क्रिकेट खेल्दै छ ।

सन्दीप नभएपछि अब हालका उपकप्तान २० वर्षीय रोहितकुमार पौडेलले एकदिवसीय खेलमा नेपालको कप्तानी गर्नेछन् ।

उमेर समुहको नेपाली टिमको कप्तानी गरिसकेका रोहितले पहिलो पटक सिनियर टिमको कप्तानी गर्न लागेका हुन् । नेपाली टिममा पूर्व कप्तान ज्ञानेन्द्र मल्लको सबैभन्दा अनुभवी सदस्यका रुपमा छन् ।

यस्तै पूर्व उपकप्तान दीपेन्द्र सिंह ऐरी र फ्रेन्चाइज क्रिकेटमा कप्तानी गरिसकेका सोमपाल कामी, करण केसी लगायत अनुभवी खेलाडी पनि टिममा छन् । उमेर समुहमै कप्तानी गर्नेमा रोहित र दीपेन्द्रसँगै आसिफ शेख र यू-१९ राष्ट्रिय टिमका वर्तमान कप्तान देव खनालसम्म टोलीमा छन् । यस मानेमा रोहितले अनुभवी खेलाडीको साथ पाउनेछन् ।

सन् २०१६ मा पहिलो पटक यू-१९ टिममा परेका रोहितले सन् २०१८ देखि सिनियर टिममा खेल्दै आएका छन् । उनले सन् २०१८ मा नेपालले नेदरल्याण्ड्स विरुद्ध खेलेको ऐतिहासिक पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेल खेल्दै डेब्यु गरेका थिए । तर चार खेलपछि नै एकदिवसीय टिमबाट ड्रप भएका रोहितले गत वर्ष पुनरागमन गरे ।

उनले २०२१ सेप्टेम्बरमा ओमान भ्रमणका क्रममा पपुवा न्युगिनी विरुद्धको एकदिवसीय शृंखलाबाट नेपाली टिममा पुनरागमन गरेका थिए । त्यसयता उनले पछाडि पर्कनुपरेको छैन । नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्दे आएका छन् ।

रोहितले नेपालका लागि एकदिवसीयमा १ शतक र ५ अर्धशतक प्रहार गरिसकेका छन् । उनले मार्चमा कीर्तिपुर मैदानमा पपुवा न्यु गिनी विरुद्ध नै १२६ रन बनाएका थिए । केन्या विरुद्धको पाँच खेलको टी-२० शृंखलामा पनि रोहितले उत्कृष्ट प्रदर्शन गरेका थिए । दुई खेलमा अर्धशतक नजिक पुगेर पनि आउट भएका उनले दुवै खेलमा ४७ रन बनाएका थिए । पाँच खेलमा उनले सर्वाधिक १५६ रन बनाएका थिए ।

यसअघि भएको पाँच खेलको टी-२० शृखंला नेपालले ३-२ ले जितेको थियो । टी-२० शृंखला जिते पनि पाँच खेलपछि नेपालको टी-२० वरीयता दुई स्थान तल झरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आगामी नोभेम्बरमा नामिबिया हुने शृंखलाको तयारीका रुपमा नेपालले केन्या भ्रमण गरेको हो ।

हेड टु हेड

५० ओभरमा नेपाल र केन्याबीचको पछिल्ला पाँच खेलमा केन्याले ३ खेल जित्दा नेपालले २ खेल मात्र जितेको छ ।

सन् २०१५ मा नामिबियामै भएको डिभिजन टु मा नेपाल केन्यासँग लिग चरण र तेस्रो स्थानका लागि भएको खेलमा पराजित भएको थियो ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सन् २०१७ मा कीर्तिपुरमै भएको दुई खेलमा पहिलो खेल केन्याले जितेको थियो । दोस्रो खेल भने नेपालले जितेको थियो ।

पछिल्लो पल्ट सन् २०१८ मा नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन टु मा नेपाल र केन्या खेलेका थिए । उक्त खेल नेपालले अन्तिम ओभरमा जितेको थियो । अन्तिम बलमा सोमपाल कामीले दुई रन लिएपछि नेपालले केन्यालाई ३ विकेटले पराजित गरेको थियो ।

त्यस खेलमा रोहित पौडेलले सर्वाधिक ४७ रन बनाएका थिए । रोहित र आरिफ शेखले छैटौं विकेटका लागि ८७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार