• होमपेज
  • क्रिकेट
  • नेपालको खुसी दिने जित

नेपालको खुसी दिने जित

  • शुक्रबार, भदौ १०, २०७९
सेयर गर्नुहोस् :
नेपालको खुसी दिने जित

काठमाडौँ — कप्तान सन्दीप लामिछानेले भनेजस्तै यो केन्यामाथि नेपालको खुसी दिने जित थियो । पछिल्ला केही घण्टाको चर्को दौडधुपपछि नेपालले अन्ततः केन्याली राजधानी नैरोबीमा बिना कुनै तनावले पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा आफ्नो टिम उतारेको थियो । नत्र डर थियो, कतै भिसा समस्याले केन्या भ्रमण किरकिर हुने त होइन ? फेरि प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा नेपालले पहिलोपल्ट खेलिरहेको थियो । त्यसैले विजयी सुरुआत खुसी दिने खाले रह्यो ।

त्यतिमात्र होइन, लामो समयपछि पूर्वकप्तान ज्ञानेन्द्र मल्ल टिममा फर्केका थिए । उनलाई पुनरागमनको अवसर दिनु रणनीतिक निर्णय थियो, जसले नेपाली क्रिकेटमात्र होइन, व्यक्तिगत रूपमा ज्ञानेन्द्रलाई पनि फाइदा थियो ।

यी सबैबीच केन्यामाथि प्राप्त ५ विकेट जितले धेरै अर्थ राख्नेछ । हारमा केन्या पनि खुसी नै थियो । आखिरमा केन्यामा एक दशक जतिको समयपछि अन्तर्राष्ट्रिय क्रिकेट फर्केको हो । दशकपछि कुनै पहिलो अन्तर्राष्ट्रिय टिमको रूपमा नेपाल केन्या पुगेको थियो ।

कुनै समय केन्या अन्तर्राष्ट्रिय क्रिकेटको उदाउँदो शक्ति थियो । यसैक्रममा केन्याले एकदिवसीय विश्वकपको सेमिफाइनल यात्रासम्म तय गरेको थियो । तर चाँडै यो यति खराबसँग अस्तायो कि सबै चकितमात्र हुन सके । केन्याली क्रिकेट फेरि अन्तर्राष्ट्रिय मञ्चमा फर्कने प्रयासमा छ । यसकै कडी हो नेपालविरुद्धको खेल । पाँच खेल शृंखलाको पहिलो खेल हारेपछि पनि केन्याली कप्तान सेम एनगोचे खुसी नै रहे । उनले भने, ‘हाम्रा लागि केन्यामा अन्तर्राष्ट्रिय क्रिकेट फर्कनु नै ठूलो हो, हामी त्यसमै खुसी छौं ।’

नेपालको बलियो सुरुआत

प्रसिद्ध नैरोबी जिमखाना क्रिकेट मैदानमा बिहीबारको खेलमा नेपालले टस जितेर केन्यालाई पहिले ब्याटिङ गर्न निम्त्याएको थियो । यसक्रममा नेपाल बलियो सुरुआत लिनसफल रह्यो । केन्याले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । नियमित अन्तरमा विकेट गुमाएपछि एक समय केन्याको स्कोर सय रनभन्दा अगाडि नबढ्ने देखिएको थियो । तर, अन्त्यतिर नेपालको बलिङ केही फितलो रह्यो र केन्याले पनि खुलेर खेलेको थियो ।

घरेलु ब्याटरमध्ये तेस्रो क्रमका इरफान करिमले सर्वाधिक ३४ रन बनाए । यसका लागि उनले ४४ बल उपयोग गरेका थिए । उनले तीन चौका प्रहार गरे । त्यसपछि लुकास ओलुचले ३१ रन बनाए । उनले भने १३ बलमात्र सामना सामना गरे । उनले ५ चौका र १ छक्का प्रहार गरे । उनकै यस प्रदर्शनका कारण केन्याको स्कोर सम्मानजनक देखिएको थियो । ‘इनिङ्सको अन्त्यतिर केन्याले बनाएको रनले हामी केही चिन्तित रह्यौं,’ सन्दीपले पनि माने ।

तर, सन्दीपले आफ्ना प्रारम्भिक बलर सोमपाल कामीको प्रशंसा गर्न भने बिर्सेनन् । ‘प्लयेर अफ द म्याच’ भएका सोमपालले ४ ओभरमा २२ रनमात्र खर्चेर तीन विकेट लिए ।

सन् १९९५ को एकदिवसीय विश्वकपमा केन्याले वेस्ट इन्डिजमाथि प्राप्त सनसनीपूर्ण जितमा ब्रायन लाराको उत्कृष्ट क्याच लिएका तारिक इकवालले नै सोमपाललाई उत्कृष्ट खेलाडीको अवार्ड थिए । त्यसपछि सोमपालले भने, ‘पिचमा ब्याटिङ गर्न सजिलो भने थिएन ।’

अन्तिम ओभरमा प्राप्त जित

नेपाली टिमको रणनीति थियो, अन्तिम २० औं ओभर अगाडि नै जित निकाल्ने । तर त्यसो भएन । आरिफ शेखले अन्तिम ओभरका सुरुआती दुई बलमा लगातार चौका प्रहार गरेपछि नेपाल धेरै तनाव बेहोर्न बाध्य रहेन । आरिफको ब्याटबाट २४ रन निस्केको थियो । खेल टुंगिँदा नेपालले १९.२ ओभरमा १ सय ३३ रन बनाएको थियो । नेपालको सुरुआत भने राम्रो रहेन । प्रारम्भिक ब्याटर पवन सर्राफ एक रनमात्र बनाएर आउट भए ।

त्यसपछि क्रिजमा ज्ञानेन्द्र आए । उनले २३ रनको योगदान दिए । यसक्रममा उनले तीन आकर्षक चौका प्रहार गरे । उनले दोस्रो विकेटमा ४५ रनको ठोस साझेदारी गरे । आसिफ शेखले भने १९ रन जोडे । नेपाली इनिङ्समा सबैभन्दा ठूलो स्कोर दीपेन्द्रसिंह ऐरीको रह्यो । उनले २४ बलमा ३३ रन बनाए । त्यसमा एक चौका र दुई छक्का प्रहार गरे । यो जितपछि शृंखलामा नेपालले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल नैरोबी जिमखानामै शुक्रबार हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार