बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • देश
  • यूएईको टी-२० लिगमा सन्दीपले डिजर्ट भाइपर्सबाट खेल्ने

यूएईको टी-२० लिगमा सन्दीपले डिजर्ट भाइपर्सबाट खेल्ने

  • शनिबार, भदौ ४, २०७९
यूएईको टी-२० लिगमा सन्दीपले डिजर्ट भाइपर्सबाट खेल्ने

काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले यूएईमा हुने इन्टरनेशनल लिग टी-२० क्रिकेट प्रतियोगिता डिजर्ट भाइपर्सबाट खेल्ने भएका छन् ।

लान्सर क्यापिटलको स्वामित्वमा रहेको डिजर्ट भाइर्पसले शुक्रबार लिगका लागि १४ विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा सन्दीपसहित साम बिलिङ्स, वानिन्दु हसरंगा, टम कुरान, शेल्डन कट्रेल, बेन डकेट, एलेक्स हाल्सलगायत छन् ।

२२ वर्षीय लेग स्पीनर सन्दीप यसअघि नै विश्वका नाम चलेका स्टार खेलाडीहरुसँगै मार्की खेलाडीको रुपमा अनुबन्ध भएका थिए । त्यसबाट उनलाई भाइपर्सले लिएको हो । डिजर्ट भाइपर्सको डिरेक्टरमा टम मुड्डी छन् भने मुख्य प्रशिक्षकमा जेम्स फोस्टर छन् ।

इमिरेट्स क्रिकेट बोर्डको आयोजनामा हुन लागेको पहिलो संस्करणको इन्टरनेशनल लिग टी-२० क्रिकेट आगामी वर्ष जनवरी ६ देखि फेब्रुअरी १२ सम्म हुनेछ । जसमा ६ फ्रेन्चाइज टिमले डबल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

हरेक टिममा १८ खेलाडी हुनेछन् । जसमध्ये १४ खेलाडी विदेशी रहने व्यवस्था छ । भाइपर्ससहित ६ वटै टिमले आफ्नो टिममा रहने १४ विदेशी खेलाडीको नाम सार्वजनिक गरिसकेका छन् । हरेक टिमको बाँकी ४ खेलाडी भने यूएईकै हुनेछन् । यस्तै प्लेइङ लिस्टमा ९ जना विदेशी खेलाडी हुनेछन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को तीन फ्रेन्चाइजले यस प्रतियोगितामा तीन वटा टिम लिएका छन् । जसमा मुम्बई इन्डियन्सको एमआई इमिरेट्स, कोलकता नाइट राइडर्सको अबु धाबी नाइट राइडर्स र दिल्ली क्यापिटल्सको दुबई क्यापिटल्स छन् । यस बाहेक डिजर्ट भाइपर्स, गल्फ जायन्ट र शारजहा वारियर्स छन् ।

सन्दीपको व्यस्त तालिका

राष्ट्रिय टिम र विभिन्न फ्रेन्चाइज लिग गरी कप्तान सन्दीप आगामी ६ महिना व्यस्त हुनेछन् । यस सिजन कप्तान सन्दीप राष्ट्रिय टिमसहित विदेशी लिगमा पनि व्यस्त हुँदैछन् ।

जसमा यस पटक नेपालकै अहिलेसम्मकै भव्य भनिएको नेपाल टी-२० लिग समेत थपिनेछ । यस्तै फ्रेन्चाइज क्रिकेटका लागि उनी वेष्ट इन्डिजदेखि श्रीलंकासम्म पुग्ने तालिका छ । बिग बास लिगमा छनोट भए अष्ट्रेलिया समेत पुग्नेछन् । यस्तै राष्ट्रिय टिमबाट केन्या भ्रमणमा जानेछन् ।

साउन पहिलो साता स्कटल्याण्डमा क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक शृंखला खेलेर आएपछि सन्दीपलगायत नेपाली खेलाडी केही हप्ता छुट्टी थियो ।

तर अफ्रिकन राष्ट्र केन्यासँग पाँच टी-२० आई र तीन एक दिवसीय खेल खेल्ने पक्का भएपछि नेपाली टोली अहिले प्रशिक्षणमा छ र अर्को साता सन्दीपको कप्तानीमा नेपाली टोली केन्या जाँदैछ ।

अर्को साता राष्ट्रिय टिमबाट केन्या भ्रमण जाने सन्दीप त्यहाँ टी-२० शृंखला खेलेर यही अगष्ट अन्तिमदेखि हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने सेन्ट किट्स एण्ड नेभिसमा जानेछन् । अगष्ट ३१ देखि हुने सीपीएलमा उनी जमैका तलहवाजमा अनुबन्ध भएका छन् । सीपीएल सेप्टेम्बर ३० सम्म हुनेछ ।

राष्ट्रिय टिमको खेलतालिकासँग जुधेपछि सन्दीपले सीपीएलअघि अगष्ट २४-२८ मा हुने सिक्स्टी क्रिकेट प्रतियोगिता भने गुमाउनेछन् ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म काठमाडौंमा हुने नेपाल टी-२० लिग हुँदैछ । यसको ड्राफ्ट हुन बाँकी रहेकोले सन्दीपको टिम तय हुन बाँकी छ ।

यदी सन्दीप नेपाली लिगमा पनि अनुबन्ध भएमा सीपीएलसँग मिति जुध्नेछ । जसले गर्दा उनले केही खेल गुमाउन सक्छन् ।

यसैगरी डिसेम्बरमा श्रीलंकामा हुने लंका प्रिमियर लिगमा सन्दीप दम्बुला जायन्ट्समा अनुबन्ध भएका छन् । यो लिग अगष्टमा हुने भनिएपछि श्रीलंकाको आर्थिक अवस्थाका कारण स्थगित भएको थियो र अब डिसेम्बर ६ देखि ३१ सम्म हुने भएको छ ।

अष्ट्रेलियामा डिसेम्बर १३ देखि सुरु हुने बिग बास लिग (बीबीएल) मा पनि सन्दीप विदेशी खेलाडीको ड्राप्टमा समावेश भएका छन् । यसअघि बीबीएलमा विदेशी खेलाडी सिधै अनुबन्ध भएर खेल्ने गरे पनि आगामी सिजनदेखि विदेशी खेलाडी ड्राप्टबाट अनुबन्ध गरिने भएको छ । यसअघि सन्दीपले सिधै अनुबन्धन भएर मेलवर्न स्टार्स र होबार्ट हुरिकेन्सबाट खेलेका थिए ।

बीबीएल र यूएईमा हुने इन्टरनेशनल लिग टी २० को मिति पनि जुधेको छ । तर बीबीएलभन्दा इन्टरनेशनल लिगको तलब राम्रो छ । यस्तो अवस्थामा सन्दीप बीबीएलमा छनोट भए पनि उनको रोजाइ इन्टरनेशनल लिग नै हुन सक्छ ।

सन्दीपको व्यस्त खेल तालिका्

केन्या भ्रमणमा पाँच टी-२० आई खेल : अगष्ट २५ देखि ३० सम्म

सीपीएल (जमैका तलावाज) : अगस्टदे ३१ देखि सेप्टेम्बर ३० सम्म

नेपाल टी-२० लिग (टिम तय हुन बाँकी) : सेप्टेम्बर २४ देखि अक्टोबर २२ सम्म

लंका प्रिमियर लिग (दम्बुला जायन्ट्स) : डिसेम्बर ६ देखि ३१ सम्म

इन्टरनेसल लिग टी-२० (डिजर्ट भाइपर्स) : २०२३ जनवरी ६ देखि फेब्रुअरी १२ सम्म

बिग ब्यास लिग (ड्राफ्टमा समावेश) : * छनोट भएमा डिसेम्बर १३ देखि २०२३ फेब्रुअरी ४ सम्म

चर्चामा

सम्बन्धित समाचार