शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा यात्रुलाई खुलेयाम ठगिरहँदा प्रशासन मौन, ६ किमिको भाडा २५०

बाजुरामा यात्रुलाई खुलेयाम ठगिरहँदा प्रशासन मौन, ६ किमिको भाडा २५०

  • शुक्रबार, भदौ ३, २०७९
बाजुरामा यात्रुलाई खुलेयाम ठगिरहँदा प्रशासन मौन, ६ किमिको भाडा २५०

वसन्तप्रताप सिंह — बडिमालिका तीर्थयात्रामा गत साता गएकी काठमाडौंकी लक्ष्मी ढकाललाई धनगढीबाट आउने बसले बाजुराको बार्जुगाड नजिक छोडिदियो । बार्जुगाडमा पहिरो गएका कारण बस त्यहाँबाट अगाडि जान सक्ने अवस्था थिएन । मार्तडी बजार जानुपर्ने उनले पहिरो पार गरेपछि स्थानीय जिप चढिन् । जिपले बार्जुगाडदेिख बल्देसम्म ६ किलोमिटरको भाडा २ सय ५० रुपैयाँ माग्यो ।

पक्की राजमार्गमा प्रतिकिलोमिटर ५ रुपैयाँका दरले सरकारले भाडादर तोकेको थाहा पाएकी उनले त्यसको प्रतिवाद गरिन् । ‘यत्रो महँगो भाडा किन लिनु हुन्छ भन्दा उल्टै सबै जिपवाला आएर मलाई घेर्न थाले,’ उनले भनिन्, ‘म नयाँ मान्छे झगडा गरेर पनि साध्य भएन । २ सय ५० लिएर छाडे ।’

मार्तडी जाने बाटोमा अर्को पटक पनि उनी ठगिइन् । बल्देबाट केही मिनेट हिँडेर अर्को पहिरो पार गरेपछि उनी मार्तडी जाने जिपमा चढिन् । त्यहाँबाट १० किलोमिटर जति दूरीमा रहेको मार्तडी बजारको भाडा ३ सय ५० रुपैयाँ तिर्नुपरेको उनले बताइन् । ‘बाटोमा प्रहरी पनि थिए । खुलेयाम यात्रुलाई जिपवालाले लुटिरहेका थिए । केही बोल्यो भने उल्टै झम्टिन आउँथे,’ उनले भनिन्, ‘यहाँ त जिपवालाकै राज्य रहेछ । जति लुटे पनि हुने ।’

जिपवालाबाट लुटिनेमा लक्ष्मी एक्ली यात्रु होइनन्, गत सातामात्रै सम्पन्न बडिमालिका मेला हेर्न देशका विभिन्न जिल्लाबाट बाजुरा पुगेका सबैले यसरी नै अस्वाभाविक भाडा तिरेर मार्तडी पुग्नु पर्‍यो । बडिमालिका मेला हेर्न भनेर बाजुराबाहेक देशका विभिन्न जिल्लाबाट १० हजार बढी दर्शनार्थी त्यहाँ पुगेका मेला आयोजकको अनुमान छ । ‘मेलाकै बेला पारेर लुटेका हुन् कि सधैं यस्तै हो थाहा भएन,’ डडेलधुराका पदम थापाले भने, ‘यसरी यात्रुलाई खुलेयाम ठगिरहँदा पनि स्थानीय प्रशासनले केही नगरेको देख्दा अचम्म लाग्यो ।’

साँफे—मार्तडी सडक अवरुद्ध भएको मौकामा यहाँका जिप व्यवसायीले यसैगरी यात्रु ठग्दै आएको भए पनि यसलाई नियन्त्रण गर्न कसैले चासो नदिने गरेको बाजुरा बुढीगंगा नगरपालिकाका स्थानीयसमेत रहेका मालिका माविका शिक्षक आशानन्द जैशीले बताए । ‘हामी ठगियौं भनेर कतिपटक जिल्ला प्रशासन कार्यालयमा निवेदन दियौं । कतिपटक विद्यार्थीहरूले आन्दोलन गरे तर जिपवालाको मनोमानी रोक्न कसैले चासो दिएनन्,’ उनले भने, ‘कि त नियन्त्रण गर्ने निकाय र जिपवालाको साँठगँठ छ, कि जिपवालाका अगाडि सरकारको पनि केही नचल्ने रहेछ । केही बुझ्न सकिएको छैन ।’ उनले वर्षभरि नै यसरी यात्रु ठगिने गरेको उल्लेख गर्दै महँगो भाडा तिर्न नसक्ने न्यून आय भएका हिँडेरै गन्तव्यमा पुग्ने गरेको बताए ।

यहाँका जिप व्यवसायीहरूले यात्रुबाट चर्को भाडा मात्रै असुल्ने गरेका छैनन्, बाहिर जिल्लाबाट रिजर्भ गरेर ल्याएका गाडीबाट पनि रिजर्भ शुल्क भन्दै पाँच प्रतिशत अतिरिक्त नगद असुल्ने गरेका छन् । बडिमालिका जान बझाङका जनक खड्कालगायतले बझाङबाटै जिप रिजर्भ गरेर गएका थिए । फर्किने क्रममा आफूलाई जयमालिका यातायात समितिका वरिष्ठ उपाध्यक्ष भनेर आफूलाई चिनाउने देवेन्द्र शाहलगायत केही व्यक्तिले रिजर्भ चार्ज पाँच प्रतिशत समितिमा नबुझाए गाडी अगाडि बढ्न नदिने भन्दै बाम्का बजारमा गाडी रोके । ‘रिजर्भ शुल्क काट्नुस्, नत्र गाडी लैजान पाइँदैन भनेर उहाँसहित चार/पाँच जना आएर हाम्रो गाडी रोके’ खड्काले भने, ‘मसँग बाजुरा प्रशासन कार्यालयको फोन नम्बर थियो । त्यहाँ फोन गरेपछि बल्ल छोडे । त्यहाँ अरू गाडीबाट भने धमाधम पैसा असुले ।’ उनले बाहिर जिल्लाबाट तीर्थयात्रामा आएकालाई यसरी दुःख नदिनुस् भन्दा उल्टै हप्कीदप्की गरेको बताए ।

बाजुरामा दुई सय ५० बढी जिप यो समितिअन्तर्गत चल्ने गरेका छन् । अन्य रुटमा चल्ने जिपहरूले पनि यस्तै मनोमानी गर्ने गरेका कारण बाहिरबाट बाजुरा रिजर्भमा जान पनि आफूहरूलाई डर लाग्ने गरेको बझाङबाट रिजर्भमा बाजुरा गएका जिप चालक देवेन्द्र रोकायाले बताए । ‘यहाँका जिपवालासँग प्रहरी प्रशासनको पनि केही चल्दैन । बाहिरबाट आएका यात्रुसँग मात्रै होइन, गाडीवालासँग दादागिरी गरेर पनि पैसा असुल्छन् ।’ उनले भने, ‘त्यसैले यो रुटमा गाडी चलाउन पनि डर लाग्छ ।’

यो विषयमा पटकपटक जिल्ला प्रशासनमा छलफल हुने र व्यवसायीले सरकारले तोकेको भाडादरमा गाडी चलाउँछौं भनेर सहमति गर्ने गरे पनि कार्यान्वयन भने नहुने गरेको बाजुराका नागरिक अगुवा मदनराज जोशीले बताए । ‘प्रशासन कार्यालयमा तोकिएकै भाडादरमा गाडी चलाउँछौं भनेर सहमत गर्छन् । बाहिर गएपछि आफूखुसी रेट लिन्छन्,’ जोशीले भने, ‘यो विषयमा कसैले प्रशासनलाई उजुरी गर्‍यो भने त्यो मान्छेलाई गाडीमा चढ्न दिँदैनन् । यहाँ जिपवालाको दादागिरी अति छ ।’

जयमालिका यातायात समितिका महासचिव देवेन्द्र नाथले समितिमा आबद्ध नभएका जिपहरूले मनोमानी भाडा उठाएको हुन सक्ने स्वीकार गरे पनि रिजर्भ शुल्क भनेर पाँच प्रतिशत असुलेको बारे भने जानकारी नभएको बताए । ‘हामीले बार्जुगाडदेखि बल्देको एक सय र बल्देदेखि मार्तडीको २ सय ५० रुपैयाँ भाडा तोकेका छौं । हाम्रो समितिमा दर्ता नभएका कुनै गाडीले त्यो भन्दा बढी पनि लिएको हुन सक्छ,’ उनले भने, ‘हाम्रा वरिष्ठ उपाध्यक्ष देवेन्द्र शाहले ५ प्रतिशत रिजर्भ शुल्क उठाएकोबारे समितिलाई जानकारी छैन । त्यसो हो भने हामी बुझ्छौं ।’ उनले रातो प्लेटका गाडीले पनि यात्रु बोक्ने, समितिमा आबद्ध नभएका गाडीले मनोमानी भाडा लिने गरेको र यसमा प्रशासनले पनि बेवास्ता गर्ने गरेको आरोप लगाए ।

यता जिल्ला यातायात व्यवस्था समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बढी भाडा असुल गरेको गुनासो आएको स्विकार्दै नियन्त्रण गर्ने प्रयास भइरहेको सुनाए । ‘यो गुनासो हामीकहाँ पनि पुगेको छ,’ उनले भने, ‘ट्राफिक नियम उल्लंघन गर्ने र तोकिएको भन्दा बढी भाडा लिनेलाई कारबाही गर्न भनेर हामीले ट्राफिकको असईको ड्युटी नै हाइवेमा राखेका छौं । मनोमानी गर्नेलाई कारबाही गर्छौं ।’

चर्चामा

सम्बन्धित समाचार