सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राजनीति
  • देउवाविरुद्ध चुनाव लड्न कस्सिएका सागर भन्छन्, ‘डडेल्धुराबाट जित्छु, प्रधानमन्त्री हुनसक्छु’

देउवाविरुद्ध चुनाव लड्न कस्सिएका सागर भन्छन्, ‘डडेल्धुराबाट जित्छु, प्रधानमन्त्री हुनसक्छु’

  • शनिबार, साउन १४, २०७९
देउवाविरुद्ध चुनाव लड्न कस्सिएका सागर भन्छन्, ‘डडेल्धुराबाट जित्छु, प्रधानमन्त्री हुनसक्छु’

धनगढी– प्रधानमन्त्री शेरबहादुर देउवासँग उनकै गृहजिल्लामा चुनाव लड्न कस्सिएका सागर ढकालले आफूले जित्ने दाबी गरेका छन्। शुक्रबार दिनेशखबरसँग संक्षिप्त कुराकानी गर्दै ढकालले डडेल्धुराबाट चुनाव लडेर देउवासँग जित्ने दाबी गरेका हुन्।

आफू डडेल्धुरा पुगेर चुनावी तयारीको अभियानमा खटिएको बताउँदै उनले जिल्लामा छलफल र भेटघाट बढाएको बताए। उनले भने, ‘डडेल्धुराका युवाहरु सबैजना आर्कषित हुनुहुन्छ। मैले जहाँ पनि जोलाई पनि भेट्छु, सबै जनाले भोट तपाइलाई नै हो भन्नुहुन्छ। सोचेभन्दा एकदम राम्रोसँग चुनावी अभियान चलिरहेको छ। युवाहरुले सपोर्ट गरिरहेका छन्। यहाँका सबै नागरिकलाई हामीले बुझाएर अभियान सफल पार्नुपर्ने छ।’ डडेल्धुराले देशलाई नै सन्देश दिनेगरि आफूले जित्नुपर्ने र जितेर देशको प्रधानमन्त्री समेत हुनसक्ने उनको भनाइ छ।

यस्तै देउवासँग चुनाव लड्न कत्तिको चुनौती छ ? भन्ने प्रश्नमा उनले चुनौती भए पनि मिहेनत आवश्यक रहेको बताए। उनी भन्छन्, ‘चुनौती छ। चुनौतीसँग लड्न मेहनत आवश्यक पर्छ। म यसका लागि तयार छु। हामी प्लान बनाएर जानुपर्छ। मलाई आफै थाहा थियो गाह्रो छ भनेर तर मैले जानेर नै चुज गरेको हुँ।’ उनले आफू पुलचोक क्याम्पसबाट अक्सफोर्ड जान पनि असम्भवै भएको तर, मेहनतले सम्भव भएको बताए। देउवाबाट यहाँका नागरिक निराश भएको बताउँदै असम्भव कुरालाई सम्भव बनाउने आफूमा आँट भएको उनको भनाइ छ।

सागर ढकालले बिहीबार प्रधानमन्त्री देउवाको गृहजिल्ला समेत रहेको पत्रकार सम्मेलन गर्दै डडेल्धुराबाट आगामी प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गरेका छन्। उनले देउवालाई आराम दिन आएको बताउँदै डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेका थिए। ‘शेरबहादुरहरूलाई स–सम्मान आराम दिने हो। उहाँहरूले धेरै मेहेनत गर्नुभयो। हाम्रो लागि बोल्ने वातावरण बनाइदिनु भयो,’उनले भनेका थिए, ‘बुवा पुस्ता गगन थापा, योगेश भट्टराई, घनस्याम भुसालहरू ढुङ्गामुढा गरेर आउनु भएको हो। उहाँहरू लोकतन्त्रको लागि लड्नुभयो। अब सल्लाह दिने काम गर्नुहुन्छ।’

केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डलगायतलाई आराम दिन देशभरि युवा उठाउने अभियान सुरु गरेको उनले बताएका थिए। ५ वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर गुल्मीका सागर ढकाल चर्चामा आएका थिए। ढकाल पेशाले इन्जिनियर हुन्। उनले बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएको बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार