आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • चीनमा जीवनभरको बचत गुमाएका उपभोक्ताहरुको रकम सरकारले तिरिदिने

चीनमा जीवनभरको बचत गुमाएका उपभोक्ताहरुको रकम सरकारले तिरिदिने

  • बुधबार, असार २९, २०७९
चीनमा जीवनभरको बचत गुमाएका उपभोक्ताहरुको रकम सरकारले तिरिदिने

एजेन्सी — चीनको एक सरकारी निकायले एउटा वित्तीय काण्डको शिकार भएका उपभोक्ताको रकम तिरिदिने बाचा गरेको छ। खराब ऋणका कारण बैंक नै टाट पल्टिएपछि हेनान र अन्हुई प्रान्तका पाँच ग्रामिण बैंकका उपभोक्ताले आफूले जम्मा गरेको रकम अप्रिलदेखि झिक्न पाएका छैनन्।

राष्ट्रिय बैकिङ नियामक संस्थाले एक वक्तव्य जारी गर्दै सबै उपभोक्ताले बैंकमा जम्मा गरेको रकम पाउने बताएको छ। ५० हजार युयानसम्म रकम जम्मा गरेका उपभोक्ताको रकम शुक्रबारदेखि दिइन सुरु गर्ने चाइना बैकिङ नियामक आयोगले बताएको छ। अन्य उपभोक्ताका रकम पनि अलग रुपमा भुक्तानी गर्ने तयारी भइरहेको पनि आयोगले बतायो।

कयौं उपभोक्ताले जीवनभरीको कमाई बैंकमा जम्मा गरेको पाइएको छ। गैरकानुनी तथा आपराधिक’ क्रियाकलापमा संलग्न कोष रकम भने तत्काल भुक्तानी गर्न नसरिने बताइएको छ। आइतबार झण्डै १००० वचतकर्ताहरुले झेङझाउस्थित पिपुल्स बैंक अफ चाइनाको कार्यालय अघि गएर तिनको पैसा फिर्ता गर्नुपर्ने भन्दै विरोध प्रदर्शन गरेका थिए।

यस्तै खालको विरोध मे र जुन महिनामा पनि भएको थियो। सामाजिक संजालमा भाइरल भएको भिडियोहरुमा सेतो पहिरनमा रहेका अज्ञात मानिसहरुको समूहले प्रदर्शनकारीलाई पिटिरहेको देखिन्छ। प्रदर्शनकारीले स्थानीय प्रहरी तथा प्रशासनले बैंकसँगको मिलोमतोमा प्रदर्शनकारीमाथि धरपकड गरेको आरोप लगाएका छन्। आइतबार नै प्रहरीले वित्तीय काण्डसँग मुछिएका व्यक्तिहरुलाई पक्राउ गरेको छ।

उनीहरुले ग्रुप कम्पनीमार्फत विभिन्न बैंकको ऋण लिएको र काल्पनिक ऋणको नाममा अनधिकृत रकम स्थानान्तरण गर्ने गरेकोसमेत पाइएको छ। चीनमा विरलै मात्र सार्वजनिक प्रदर्शन हुन्छ। त्यहाँको सत्तारुढ कम्युनिष्ट पार्टीले विरोधहरुमाथि निगरानी गरिरहेको हुन्छ। असन्तुष्ट नागरिकहरु पक्राउ तथा कारबाहीको जोखिमका बावजुद ठुलो स्तरको प्रदर्शन आयोजना गर्न सफल हुन्छन्।

चर्चामा

सम्बन्धित समाचार