शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • नेपालको प्रतिद्वन्द्वी यूएई

नेपालको प्रतिद्वन्द्वी यूएई

  • बिहिबार, असार ९, २०७९
नेपालको प्रतिद्वन्द्वी यूएई

काठमाडौं — एसियन क्रिकेट काउन्सिल (एसीसी) महिला टीट्वेन्टी च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्ने भएको छ। यूएई समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।

नेपाल र यूएईबीचको खेल शुक्रबार हुनेछ। मलेसियाको किनरारा ओभलमा बुधबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा कतारलाई हराउँदै यूएई समूह विजेता बनेको हो। यूएईले चार खेलमा सात अंक जोड्यो। चार खेलमा ६ अंक जोडेको घरेलु टोली मलेसिया समूहको उपविजेता बन्यो।

नेपाल समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो। नेपालले चार खेलमा ६ अंक जोड्यो। लिग चरणका खेलमा नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई आठ विकेटले पराजित गरेको थियो। हङकङसँग भने नेपाल सात विकेटले पराजित भएको थियो। हङकङ समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। हङकङले चार खेलमा आठ अंक जोड्यो। हङकङले फाइनल प्रवेशका लागि मलेसियाको सामना गर्नेछ। च्याम्पियनसिपको फाइनल खेल शनिबार हुनेछ। १० टोली सहभागी च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टीट्वेन्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन्।

च्याम्पियनसिपका लागि रुबिना क्षत्रीको कप्तानीमा १५ सदस्यीय नेपाली टोली मलेसियामा भ्रमणमा छ। नेपाली टोलीमा रुबिना क्षत्रीसँगै इन्दु बर्मा, सीता रानामगर, ज्योति पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, सबनम राई, संगीता राई, अस्मिना कर्माचार्य, मनिषा उपाध्याय, बिन्दु रावल र ममता चौधरी छन्।

चर्चामा

सम्बन्धित समाचार