शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • खेलकुद
  • बाजुराकी राजपुरा पछाईं १ घण्टा १९ मिनेट १० सेकेन्डमा, कोर्स रेकर्ड बनाउँदै महिलातर्फ पहिलो

बाजुराकी राजपुरा पछाईं १ घण्टा १९ मिनेट १० सेकेन्डमा, कोर्स रेकर्ड बनाउँदै महिलातर्फ पहिलो

६ वर्षपछि गोपीको चमक, राजपुराको कोर्स रेकर्ड

  • आइतवार, जेष्ठ २२, २०७९
बाजुराकी राजपुरा पछाईं १ घण्टा १९ मिनेट १० सेकेन्डमा, कोर्स रेकर्ड बनाउँदै महिलातर्फ पहिलो

बाजुरा  — सशस्त्र प्रहरी बल (एपीएफ) का धावक गोपीचन्द्र पार्कीले कान्तिपुर हाफ म्याराथनमा पहिलोपल्ट सहभागी हुँदा नै तेस्रो (२०७० साल) भएका थिए । अर्को साल दोस्रो भए । निरन्तर सुधार गर्दै २०७२ सालमा उपाधि नै जिते । देशकै उत्कृष्ट धावक भएर पनि २०७३ सालमा चौथोमै चित्त बुझाउन बाध्य भएका थिए । उनी उपाधि जोगाउन असफल भए । उनले ६ वर्षपछि कान्तिपुर हाफ म्याराथनमा फर्किंदै शनिबार दसौं संस्करणको उपाधि जितेका छन् ।

‘सबैभन्दा ठूलो जित्नु हो । जितियो, राम्रो भयो,’ १ घण्टा ७ मिनेट ४१ सेकेन्डमा दूरी पार गरेका गोपीले भने, ‘मेरो लक्ष्य रेकर्ड तोड्ने थियो । तर, यसपालि रुट अलि फरक भयो । एयरपोर्टतिर जाँदा एक–डेढ मिनेट बढी लाग्यो । दौडिने जित्नकै लागि हो, जितियो, त्यही ठूलो कुरा हो ।’ पुरुषतर्फ सर्वाधिक चारपल्ट उपाधि जितेका हरिकुमार रिमालको नाममा कोर्स रेकर्ड छ । उनले १ घण्टा ६ मिनेट ४१ सेकेन्डसाथ २०७५ सालमा उपाधि जित्दाको समय अरूले छुन सकेका छैनन् ।

धनगढीका ३३ वर्षीय पार्कीले २०७२ सालमा उपाधि जित्दा १ घण्टा ८ मिनेट २९ सेकेन्डमा हाफ म्याराथन पूरा गरेका थिए । त्यसयता उनको करिअरमा ठूलै उतारचढाव आयो । उनी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ५ हजार मिटर दौडमा स्वर्ण पदक जित्न सफल भए । सशस्त्र प्रहरीमा २०६९ सालमा भर्ती भएपछि दौडिन थालेका उनी नेपाल एथलेटिक्स संघको घोषणाअनुसार नेपालगन्ज म्याराथन जितेर टोकियो ओलम्पिक २०२० मा छनोट पनि भए । तर, ओलम्पिकमा दौडने सपना भने पूरा गर्न पाएनन् । त्यसभित्रको कथा र उनको पीडा बेग्लै छ । तर, उनले आफ्नो पाइलाको गति बढाइरहे । त्यहीक्रममा दोस्रोपल्ट कान्तिपुर हाफ म्याराथन जितेका हुन् ।

उनी गत महिना भएको एसियाली खेलकुद २०२२ छनोटमा १० हजार मिटरमा पहिलो भएका थिए । तर, चीनको हाङझाउमा आउने असोज–कात्तिकमा हुने तय गरिएको एसियाली खेलकुद कोभिड–१९ महामारीका कारण स्थगित भएको छ । त्यसैले उनको स्पर्धा फेरिएको छ ।

‘मेरो लक्ष्य म्याराथनमै हो र यसमा मेरो समय सुधार गर्न लागिरहेको छु,’ गोपीले भने, ‘आर्मीको प्रधानसेनापति म्याराथनबाट एसियाली खेलकुदमा खेलाडी छनोट गर्ने संघले भनेको थियो । त्यो म्याराथन मैले जित्न सकिनँ । त्यसैले एसियाडको छनोटमा १० हजार मिटरमा दौडिएँ । एसियाड स्थगित भयो । म फेरि हाफ म्याराथन, म्याराथनतिरै लागेको छु ।’ हालसम्म ८–१० वटा हाफ म्याराथन जितेको तर ठ्याक्कै संख्या भने याद नभएको उनले बताए ।

दोस्रोमा दीपक

कान्तिपुर पब्लिकेशन्सद्वारा आयोजित हाफ म्याराथन थापाथलीबाट सुरु भएर माइतीघर, बबरमहल, बिजुलीबजार, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, गट्ठाघर, सानोठिमी हुँदै भक्तपुरको सल्लाघारी चोक पुगेर पुनः त्यही बाटो फर्काइएको रुटमा माइतीघर पुगेपछि गोपीले दौडको गति अझ बढाउँदै अग्रता लिएका थिए, जसलाई ‘फिनिसिङ लाइन’ सम्म कायम राख्दै उपाधि जिते । उनलाई माइतीघरसम्म नेपाली सेनाका धावकहरूले चुनौती दिएका थिए । तर, उनीहरूले गोपीलाई भेट्टाउन सकेनन् । दोस्रोदेखि छैटौंसम्म भने आर्मीकै धावक रहे ।

दीपक अधिकारी १ घण्टा ७ मिनेट ५० सेकेन्डसहित दोस्रो भए । उनी तीन वर्षअघि नेपालमा आयोजित १३ औं सागमा १० हजार मिटरका कांस्य पदक विजेता हुन् । हाफ म्याराथनमा आर्मीका मुकेश पाल (१ घण्टा ८ मिनेट ४७ सेकेन्ड) तेस्रो, गजेन्द्र राई (१ घण्टा ९ मिनेट १ सेकेन्ड) चौथो, नरेन्द्रसिंह रावल (१ घण्टा ९ मिनेट १० सेकेन्ड) पाँचौं र खगेन्द्र भाट (१ घण्टा १० मिनेट १५ सेकेन्ड) छैटौंमा रहे । शीर्ष ६ धावकले क्रमशः १ लाख, ५० हजार, ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । महिलातफका शीर्ष ६ खेलाडीले पनि उति नै नगद पाए ।

कान्छीको रेकर्ड राजपुराले तोडिन्

कान्तिपुर हाफ म्याराथनमा महिलातर्फ सबैभन्दा बढी पाँचपल्ट कान्छीमाया कोजुले उपाधि जितेकी छन् । पुरुषतर्फका कीर्तिमानी हरिसँगै कान्छीमायाले प्रतिस्पर्धा गर्न छाडेका छन् । यी दुईले २०७५ सालमा कोर्स रेकर्ड बनाएका थिए । महामारीका कारण २०७६ सालयता यसैपालि आयोजना गरिएको कान्तिपुर हाफ म्याराथनमा कान्छीको कोर्स रेकड तोड्दै राजपुरा पछाईंले उपाधि जितेकी छन् ।

नेपाल प्रहरीकी राजपुरा १ घण्टा १९ मिनेट १० सेकेन्डमा २१.१ किमि पार गर्दै कोर्स रेकर्डसहित कान्तिपुर हाफ म्याराथनको नयाँ विजेता भएकी हुन् । उनले कान्छीमायाले २०७५ सालमा बनाएकी १ घण्टा १९ मिनेट ४२ सेकेन्डको कोर्स रेकर्ड उछिनेकी हुन् । उनले १३ औं सागको म्याराथनमा रजत जितेकी पुष्पा भण्डारीलाई पछाडि पार्दै यो सिजनमा दोस्रोपल्ट हाफ म्याराथनमा सफलता हात पारेकी हुन् ।

‘१ घण्टा १५–१६ मिनेटमा सकाउने लक्ष्य थियो । तर, सोचेजस्तो भएन,’ जुम्लाकी २५ वर्षीया राजपुराले भनिन्, ‘स्थानीय चुनावमा सिन्धुपाल्चोकमा खटिएकी थिएँ । त्यसैले एक हप्तामात्रै तयारी गरेर हाफ म्याराथनमा सहभागी भएकी हुँ । तर, जितमा खुसी नै छु ।’ सात वर्षअघि प्रहरीमा भर्ना भएकी उनी जुम्लामै हरिबहादुर रोकायसँग प्रशिक्षण लिएर दौडमा लागेकी थिइन् । अचेल राजधानीमा धनीराम चौधरीसँग प्रशिक्षण लिइरहेकी छन् । जापानको चर्चित होक्काइडो म्याराथनमा प्रतिस्पर्धा गरिसकेकी उनले तीनकुनेबाट लिएको अग्रता सहजै फिनिसिङ लाइनसम्म कायम राखिन् ।

उनले तेस्रो प्रयासमा कान्तिपुर हाफ म्याराथन जितेकी हुन् । अघिल्ला दुई सहभागितामा १ घण्टा २९–३० मिनेट लगाएर शीर्ष आठसम्म रहेकी थिइन् । ‘त्यो मेरो सुरु–सुरु थियो । बीचमा तीन संस्करण खेलिन् । अहिले दसौंमा आउँदा सफलता पनि हात पारें,’ उनले भनिन्, ‘अबको ५ हजार, १० हजार मिटर र हाफ म्याराथनमा राम्रो गर्ने लक्ष्य छ ।’ उनी एसियाडको छनोटमा ५ हजार मिटरमा पहिलो भएकी थिइन् । उनी आठौं राष्ट्रिय खेलकुद २०७६ की म्याराथन स्वर्ण विजेता हुन् । त्यसबेला १० हजार मिटरको प्रतिस्पर्धामा उनी विश्वरुपा बुढासँग पछाडि परेकी थिइन् ।

एपीएफकी पुष्पा १ घण्टा २२ मिनेट ५ सेकेन्डसाथ दोस्रोमा रहिन् । उनले भनिन्, ‘ओरालोमा मलाई गाह्रो लाग्छ, त्यही कमजोरी बन्यो । कोटेश्वरबाट ओरालो लागेपछि मैले उनलाई (राजपुरा) भेट्टाउन सकिनँ ।’ उनी गत वर्ष बंगलादेशमा भएको शेख मुजिब ढाका म्याराथन जित्दै यस स्पर्धामा विदेशमा उपाधि जित्ने पहिलो नेपाली महिला भएकी थिइन् । पुलिसकी रेखा विष्ट (१ घण्टा ३० मिनेट ४२ सेकेन्ड) तेस्रो, आर्मीकी निर्मला केसी (१ घण्टा ३१ मिनेट १३ सेकेन्ड) चौथो, एपीएफकी विन्द्रा धन्के श्रेष्ठ (१ घण्टा ३३ मिनेट २७ सेकेन्ड) पाँचौं र आर्मीकी गीता बिक (१ घण्टा ३६ मिनेट ३ सेकेन्ड) छैटौंमा रहे ।

ह्विलचेयरमा यामीको ह्याट्रिक

२०७५ र ०७६ की विजेता यामी झाँक्रीमगरले ३ किमिको ह्विलचेयर रेसमा यसपालि पनि पहिलो स्थान हासिल गर्दै उपाधिमा ह्याट्रिक गरिन् । दुई जनाले मात्रै दूरी पार गरेको यो स्पर्धामा रजनी राई दोस्रो भइन् । यामीले ३० हजार र रजनीले २० हजार पुरस्कार प्राप्त गरे । पुरुषतर्फ लगातार छपल्टका विजेता रामबहादुर तामाङ सहभागी हुन छाडेपछि नयाँ विजेता निस्किए रमेश खत्री । आर्मीका उनले १२ मिनेट ३२.०३ सेकेन्डमा दूरी पार गर्दै सफलता हात पारेका हुन् । यसमा प्रेमबहादुर बिक दोस्रो र दानबहादुर थिङ तेस्रो भए ।

कर्पोरेटको पुरुषतर्फ विकास पोखरेल १७ मिनेट ४८.२७ सेकेन्डमा ५ हजार मिटर पार गर्दै पहिलो भए । शेरबहादुर थापा (१८ मिनेट ४७.६९ सेकेन्ड) दोस्रो र रितेश वली (१९ मिनेट ४२.६६ सेकेन्ड) तेस्रो भए । महिलातर्फ सनी तामाङले २६ मिनेट ३४.२४ सेकेन्डसाथ उपाधि जितिन् । सुनिता महर्जन (२७ मिनेट ४.४२ सेकेन्ड) दोस्रो र लादेन प्रधान (३० मिनेट १७.१७ सेकेन्ड) तेस्रो भए । महिला–पुरुष दुवैको हाफ म्याराथन, कर्पोरेट रह्विलचेयर स्पर्धामा २ हजार बढी सहभागी थिए ।

चर्चामा

सम्बन्धित समाचार