शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • तारा एयरको जहाज खोज्न गएको सेनाको टोली मुस्ताङको नर्सिङ गुम्बामा अवतरण

तारा एयरको जहाज खोज्न गएको सेनाको टोली मुस्ताङको नर्सिङ गुम्बामा अवतरण

  • आइतवार, जेष्ठ १५, २०७९
तारा एयरको जहाज खोज्न गएको सेनाको टोली मुस्ताङको नर्सिङ गुम्बामा अवतरण

तारा एयरको वेपत्ता जहाज खोजीका लागि गएको नेपाली सेनाको हेलिकोप्टर मुस्ताङको नर्सिङ गुम्बा भन्ने स्थानमा अवतरण गरेको छ । त्यहाँबाट नेपाली सेनाका १० जना र नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई जनाको टोली मोबाइलको लोकेसन पत्ता लागेको तर्फ गएको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीले बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार पैदलयात्राबाट पनि सेना र प्रहरीको टोली पनि परिचालन गरिएको छ । काठमाडौंबाट हिमालयन रेस्क्युको टोली पनि पठाइएको छ ।

महाप्रवन्धक ठाकुरका अनुसार क्याप्टेन प्रभाकर घिमिरेको फोन ट्र्याक गर्दा टिटी लेक आसपासमा लोकेसन पत्ता लागेकाले खोजी त्यतै केन्द्रित गरिएको छ । यसअघि स्थानीयले घाँसातिर ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर सूचना दिएपछि प्रहरी र स्थानीयको टोली त्यसतर्फ गएको थियो तर त्यहाँ जहाज फेला परेन ।

१९ जना यात्रु र ३ जना चालक दलका सदस्य गरी २२ जना सवार ९ एन एईटी कलसाइनको ट्वीनअटर जहाज आज बिहान पोखराबाट मुस्ताङका लागि उडेको थियो । जहाज सिनियर क्याप्टेन प्रभाकर घिमिरेले उडाएका हुन् ।
बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको उक्त जहाज १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । उक्त जहाज जोमसोम विमानस्थलको टावरसँग १० बजेर ७ मिनेटमा म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो । त्यसपछि जहाज सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार