शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • मारिऊपोलमा यूक्रेनी सेनाले आत्मसमर्पण गरेको रूसको दाबी

मारिऊपोलमा यूक्रेनी सेनाले आत्मसमर्पण गरेको रूसको दाबी

  • आइतवार, जेष्ठ ८, २०७९
मारिऊपोलमा यूक्रेनी सेनाले आत्मसमर्पण गरेको रूसको दाबी

मस्को — यूक्रेनको बन्दरगाह सहर मारिऊपोलमाथि रूसले विजय हासिल गरेको दाबी गरेको छ। मारिऊपोलको आजोभ्स्टाल स्टील उद्योगमा रहेका बाँकी सैनिकहरूले शुक्रबार आत्मसमर्पण गरेसँगै अब उक्त शहर पूर्णरूपमा रूसी सेनाको नियन्त्रणमा गएको हो।

उक्त विशाल औद्योगिक क्षेत्रमा रहेका यूक्रेनी लडाकूहरूले रुसलाई सो सहरमाथि पूर्ण रूपमा नियन्त्रण कायम गर्न महिनौँदेखि रोकिरहेका थिए। शुक्रवार यूक्रेनी फौज पछि हटेसँगै मारिऊपोलमा ठूलो क्षति हुनेगरी भएको सबैभन्दा डरलाग्दो घेराबन्दी पनि समाप्त भएको बताइएको छ।

रुसी रक्षा मन्त्रालयले ५३१ यूक्रेनी लडाकूहरू त्यहाँबाट हटेपछि मारिऊपोल र सो स्टील उद्योग ‘अहिले पूर्णतः मुक्त’ भएको जनाएको छ। “लडाकूहरू लुकिरहेको उक्त उद्योगका भूमिगत क्षेत्रहरू पनि रुसी सशस्त्र बलको पूर्ण नियन्त्रणमा आएको एक विज्ञप्तिमा रूसले जनाएको छ।

यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँ खटेका अन्तिम सुरक्षाकर्मीहरूलाई उक्त स्थान छाड्न आदेश दिइएको स्वीकार गरेका छन्। शुक्रवार एउटा टेलिभिजन च्यानलसँग कुरा गर्दै उनले भने, “आज यूक्रेनी सैनिक नेतृत्वले उनीहरूलाई उनीहरूले त्यहाँबाट बाहिर निस्किन र आफ्नो ज्यान जोगाउन सक्ने स्पष्ट सन्देश दिएको छ।”

हप्तौँसम्म आजोभ्स्टाल क्षेत्र पूरै घेराबन्दीमा रहँदै आएको थियो। रूसी सैनिकहरूले त्यस क्षेत्रमा सबै मानवीय सहायतालाई अवरोध पुर्याउँदै त्यहाँ गोलाबारी गर्दै आएका थिए। उनीहरूले त्यहाँ सुरक्षार्थ खटिएका यूक्रेनी फौजलाई आत्मसमर्पण गर्न भनिरहेका थिए। उक्त क्षेत्रमा फस्ने कैयौँ गैरसैनिक नागरिकमध्ये महिला, बालबालिका र ज्येष्ठ नागरिक पनि रहेको यूक्रेनी अधिकारीले बताएका छन्। -सिन्ह्वा रासस

चर्चामा

सम्बन्धित समाचार