शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • किन कम उमेरमै कपाल सेतो हुने क्रम बढ्दैछ ?

किन कम उमेरमै कपाल सेतो हुने क्रम बढ्दैछ ?

  • शनिबार, बैशाख २४, २०७९
किन कम उमेरमै कपाल सेतो हुने क्रम बढ्दैछ ?

उमेर बढ्दै जाँदा कपाल सेतो हुनु सामान्य कुरा हो । तर कम उमेरमै कपाल सेतो हुन थाल्दा भने समस्या हुन्छ । उमेर बढ्दै जाँदा शरीरमा कपाललाई रंग दिने तत्व मेलानिनको उत्पादन सुस्त हुन्छ ।

बुढेसकालसँगै शरीरमा मेलानिनको उत्पादनमा कमी आएपछि कपाल सेतो हुन थाल्छ । तर कम उमेरमा कपाल सेतो हुँदै गएको छ भने शरीरमा आवश्यक पोषक तत्वको कमी भएको हुनसक्छ भनेर बुझ्नुपर्छ । साथै, सानै उमेरमा कपाल सेतो हुनु शरीरमा बिस्तारै केही रोग विकास भइरहेको संकेत पनि हुन सक्छ ।

सानै उमेरमा कपाल फुल्ने कारण

वंशाणुगत

सानै उमेरमा कपाल फुल्ने कारण वंशाणुगत पनि हुन्छ । वंशाणुगत रूपमा नै कपालमा रंग दिने तत्वमा कमी भएर सानै उमेरदेखि कपाल फुल्ने समस्या हुन्छ ।

खानपान

अहिले हाम्रो खानपानमा एकदमै परिवर्तन आएको छ । घरमा पाइने ताजा खानेकुरा, फलफूल, तरकारीको साटो जंकफुड र प्याकेट फुडको सेवन बढेको छ । जसले गर्दा हाम्रो शरीरले पर्याप्त मात्रामा भिटामिन र प्रोटिन पाएको हुँदैन र कपाल फुल्छ । प्रोटिन, भिटामिन र आइरनको कमीका कारण पनि कपाल फुल्ने समस्या हुन्छ ।

धुम्रपान

धेरै अनुसन्धानले कम उमेरमा कपाल फुल्नुमा धुम्रपानको पनि सम्बन्ध रहेको पत्ता लगाएका छन् । किनभने चुरोट वा सूर्तीजन्य पदार्थ सेवन गर्दा रक्तनली साँघुरो हुन्छ र कपालको जरामा पर्याप्त रगत पुग्दैन । यो पनि कम उमेरमा कपाल फुल्नुको कारण हो ।

तनाव

तनावले शरीरका साथै कपाललाई पनि नोक्सान पुर्‍याउँछ । तनावको कारण मेलानोसाइडलाई नष्ट गर्ने खाल्को रसायन उत्पादन हुन्छ, जसले गर्दा कपाल फुल्छ । तनावको कारण निद्रा नलाग्ने, चिन्ता लाग्ने, भोक नलाग्ने, उच्च रक्तचाप जस्ता समस्या पनि आउन सक्छन् । धेरै अनुसन्धानमा यो देखियो कि जो व्यक्ति धेरै तनाव लिन्छ, उसको कपाल समयभन्दा पहिले नै सेतो हुन थाल्छ ।

कपाल कलर र स्ट्रेट गर्नु पनि कारण

अहिले कपाल कलर गर्ने र स्ट्रेट गर्नेको संख्या बढ्दो छ । यसको कारण पनि कम उमेरमा कपाल फुल्ने समस्या देखा परेको छ । कपालमा कलर र स्ट्रेट गरेका कारण कपालमा क्षति पनि पुग्न सक्छ ।

शरीरलाई चाहिने रसायनको कमी

शरीरलाई चाहिने रसायन जस्तो बायोटिन, भिटामिन बी-१२ र अन्य रसायनको कमीले पनि कम उमेरमा कपाल फुल्न सक्छ । विभिन्न रोगका कारण पनि कपाल फुल्ने समस्या भएको हुन सक्छ ।

कुनै बच्चामा कुपोषण भएको छ भने त्यसले पनि कपाल फुल्ने समस्या हुन्छ । यस्तै थाइराइड, अटोएम्युन रोग र दुबीका कारण पनि यो समस्या हुन सक्छ ।

समय अगावै कपाल फुल्नबाट जोगाउने उपाय

– सन्तुलित र पोषणयुक्त खाना खाने । खानामा प्रोटिन, भिटामिन, आइरन लगायतका तत्वहरू समावेश गर्ने

– विभिन्न भिटामिनका पूरक सेवन गर्ने

– नियमित योग तथा व्यायाम गर्ने

– धुम्रपान छाड्ने

– तनाव नलिने

– प्रशस्त मात्रामा ताजा फलफूल र तरकारी खाने

उपचार

कपाल फुल्ने समस्याको सम्पूर्ण उपचार त छैन । तर ३० वर्षभन्दा कम उमेर भएका व्यक्तिमा यस्तो समस्या छ भने क्याल्सियम प्यान्टोथेनेट ट्याब्लेटको सेवन गर्न सकिन्छ । चिकित्सकको सल्लाह अनुसार कपाल फुल्न कम गर्ने जेल र स्प्रे पनि प्रयोग गर्न सकिन्छ ।

कपाल फुल्ने समस्याको सम्पूर्ण उपचार नभएकाले कपाल कलर गर्ने चलन पनि लामो समयदेखि चल्दै आएको छ । तर एकदमै धेरै कपाल फुलेको छ भने यसका लागि विशेषज्ञ चिकित्सकको सल्लाह लिनुपर्छ ।  अनलाइनखबरबाट साभार। 

चर्चामा

सम्बन्धित समाचार