शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिका-नेपालको सम्बन्धन बहु-पुस्ताको जग हो : अमेरिकी राजदूत

अमेरिका-नेपालको सम्बन्धन बहु-पुस्ताको जग हो : अमेरिकी राजदूत

  • शुक्रबार, बैशाख १६, २०७९
अमेरिका-नेपालको सम्बन्धन बहु-पुस्ताको जग हो : अमेरिकी राजदूत

काठमाडौं — नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिका-नेपालको सम्बन्धन बहु-पुस्ताको जग भएको बताएका छन्।

शुक्रबार नेपाल-अमेरिका सम्बन्धको ७५औं वर्षगाँठको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जनता-जनताबीचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता यस बहु-पुस्ताको अमेरिका-नेपाल सम्बन्धको जग भएको बताए।

उनले जलवायु संकट र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउन दुई देशको आवश्यकता रहेको बताए। त्यसका लागि दुई देशले मिलेर काम गर्नुपर्ने उनले बताए।

‘आजको दिनमा जलवायु संकटलाई सम्बोधन गर्ने र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउने जस्ता कठिन समस्याहरूलाई समाधान गर्नका लागि हामीलाई पहिलेभन्दा बढी एकअर्काको आवश्यकता छ। यो काम हामी एकअर्कासँग मिलेर गर्न उत्सुक छौँ र यसबाट फल प्राप्त गर्नेछौं, जसरी पुस्तौँदेखिको हाम्रो मित्रताले हामीलाई प्रतिफल दिँदै आएको छ,’ उनले भनेका छन्।

यसैबीच अमेरिका-नेपालको सम्बन्ध ७५ वर्ष पुगेको अवसरमा अमेरिकाको उच्च स्तरीय भ्रमण तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै दुई देशको सम्बन्धनलाई अझ सुदृढ बनाउन अमेरिकाबाट उच्च स्तरीय भ्रमणको तयारी भइरहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताएकी थिइन्।

दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको समृद्ध इतिहासको अमेरिका प्रशंसा गर्ने जनाएको छ। ‘सांस्कृतिक संरक्षणका लागि राजदूत कोष नामक कार्यक्रमले विश्वभरका सांस्कृतिक सम्पदाको संरक्षणमा मद्दत गर्दछ। झन्डै २० वर्षको अवधिमा यस कार्यक्रमले नेपालमा २५ वटा सांस्कृतिक संरक्षण परियोजनालाई सहयोग गरी ३८ लाख डलरभन्दा बढी लगानी गरेको छ। यस कार्यक्रमका परिणाममध्ये काठमाडौँको सुन्दर गद्दी बैठकको जीर्णोद्धार पनि पर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ।

दूतावासले नेपालको स्वास्थ्य क्षेत्रमा अमेरिकाको ऐतिहासिक सहयोगले हाम्रो साझेदारीको सशक्त परिणामलाई झल्काउने उल्लेख गरेको छ।’ सन् १९५० को दशकमा औलोले लगभग २५ प्रतिशत जनसङ्ख्यालाई असर गरेको थियो। युएसएआईडीमार्फत अमेरिकी सरकारले औलो नियन्त्रण कार्यक्रमलाई सहयोग गर्‍यो र सन् १९६८ भित्र औलोका बिरामीहरूको सङ्ख्या राष्ट्रव्यापी रूपमा २० लाखभन्दा बढीबाट २ हजार ४६८ मा झर्‍यो,’ विज्ञप्तिमा भनिएको छ।

महामारी सुरु भएयताका पछिल्ला दुई वर्षमा अमेरिकाले नेपाललाई झन्डै ३८ लाख कोभिड-१९ खोपका मात्रा र १२ करोड ४८ लाख डलरभन्दा बढीको कोभिड सहायता प्रदान गरेको जनाएको छ।

‘गत फागुनमा नेपाल सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसनको नेपाल कम्प्याक्ट सम्झौतालाई अनुमोदन गर्‍यो । यस कम्प्याक्ट कार्यक्रमको प्रतिफलस्वरूप नेपालमा ऊर्जा र यातायात क्षेत्रको आधुनिकीकरणमा मद्दत पुग्नेछ र २ करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग पुग्नेछ,’ विज्ञप्तिमा भनिएको छ।

चर्चामा

सम्बन्धित समाचार