आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा टाइफाइड विरुद्धको खोप लगाउन शुरु

बाजुरामा टाइफाइड विरुद्धको खोप लगाउन शुरु

  • आइतवार, बैशाख ४, २०७९
बाजुरामा टाइफाइड विरुद्धको खोप लगाउन शुरु

बाजुरा–बाजुरामा आइतबार बाट बालवालिकालाई टाइफाइडविरुद्धको (कन्ज्युगेट भ्याक्सिन) खोप लगाउन शुरु गरिएको छ । देशभरी चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने तयारी अनुसार बाजुरामा बैशाख ४ अर्थात आइतबार बाट ८ गते सम्म खोप लगाउन शुरु गरिएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दायकृष्ण पन्तले वताएका छन् ।
जिल्लामा १५ महिना देखी १५ बर्ष सम्मका ५९ हजार ३८ जना बालवालिकालाई खोप लगाउन शुरु गरेको छ । टाइफाइड विरुद्धको खोप नेपालमा पहिलो पटक बालबालिकालाई दिन शुरु गरिएको हो । अभियान पश्चात नियमित खोपका रुपमा १५ महिना पुगेका बालबालिका लागि प्रयोग गरिने स्वास्थ्य कार्यलय बाजुराका सुचना अधिकारी महेश चन्दले वताए । यो सँगै नेपालमा बालबालिकालाई दिइने नियमित खोपको संख्या १३ पुग्नेछ ।
खोप केन्द्र स्वास्थ्य केन्द्र र बिद्यालयमा राखिएको छ । जिल्लाका ३ सय ४८ ठाउँमा रहेका खोप केन्द्रमा ३ सय ४८ स्वास्थ्यकर्मी र ६ सय ७६ स्वयसेवक परिचालन भएको सुचना अधिकारी चन्दले वताए । परिवार कल्याण महाशाखाका अनुसार विगत ५ वर्षको तथ्यांक अनुसार नेपालमा वर्षेनी औसत ४ लाख ५० हजार जनामा टाइफाइड पुष्टि भएको पाइएको छ । विगत ३ वर्षको तथ्यांक अनुसार पानी तथा खानाजन्य संक्रामक रोगमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणमध्ये टाइफाइड रोग चौथोमा पर्ने देखिएको छ ।
‘पछिल्लो अध्ययन अनुसार नेपालमा ८२ हजार ४४९ टाइफाइडका बिरामी रहेको अनुमान गरिएको छ । टाइफाइड रोगको संक्रमण सबै उमेरका समूहमा हुन्छ । संक्रमित हुने ६० प्रतिशत १५ बर्षमुनिका बालबालिकामा रहेको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।
राष्ट्रिय खोप सलल्लाहकार समितिले १४ अगष्ट, २०२० मा टाइफाइड खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरेको थियो । विश्व स्वास्थ्य संगठनले टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशहरूमा प्रयोगको लागि सिफारिस गरेको छ । यो खोप अभियानसँगै टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र नेपाल हो ।
टाइफाइड साल्मोनेला टाइफीको संक्रमणबाट हुने गम्भीर रोग हो । जुन ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, पखाला लाग्ने र बान्ता हुने हुन्छ । सरकारले देश भरका १५ महिना देखि १५ वर्षमुनिका झण्डै ७५ लाख बालबालिका लागि खोप दिने लक्ष्य राखेको छ ।
टाइफाइड खोप लगाएपछि अन्य खोपहरुमा जस्तै केही सामान्य (सूई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नी दुख्ने आदि) असर हुनसक्छन् र यस्ता सामान्य असरहरु विस्तारै आफैं ठीक भएर जान्छन् ।खोप लगाए पश्चात यस्ता लक्षणबाहेक अन्य स्वास्थ्य जटिलता देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्ने स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
यो खोप विगतमा कुनै खोप लिँदा प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा दिनुहुँदैन । साथै उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा दिनुहुँदैन, तर बिरामी ठीक भइसकेपछि यो खोप लिन सकिन्छ । तर साधारण बिरामी भएको अवस्था जस्तै, हल्का ज्वरो आएको, रुघाखोकी लागेको, कुपोषण भएको अवस्थामा यो खोप लगाउन मिल्ने गरेको स्वास्थ्यकर्मीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार