सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • सुर्तीजन्य पदार्थमा कर बढाउन सुझाव

सुर्तीजन्य पदार्थमा कर बढाउन सुझाव

  • शुक्रबार, चैत्र १८, २०७८
सुर्तीजन्य पदार्थमा कर बढाउन सुझाव

काठमाडौं– स्थानीय निकायको निर्वाचनका सन्दर्भमा निर्माण हुने घोषणापत्रमा सुर्तिजन्य पदार्थमा कर वृद्धिका लागि विज्ञहरूले सुझाव दिएका छन्। नेपाल अर्बुद रोग निवारण संस्थाको आयोजनामा बिहीबार काठमाडौंमा भएको कार्यक्रममा विभिन्न दलका नेता एवं चिकित्सकहरूले सुर्तिजन्य पदार्थमा कर वृद्धिका लागि सुझाव दिएका हुन्।

सुर्तीजन्य पदार्थको सेवन र व्यापारलाई उचित नियन्त्रण गरी वर्षेनी हुने गरेको ४० अर्ब रुपैयाँको आर्थिक क्षतिलाई कम गर्ने सुझाव पनि कार्यक्रममा दिइएको थियो। आउँदो आर्थिक वर्षको बजेटमा गत वर्षको निर्णयलाई समेट्दै सुर्तीजन्य पदार्थमा लाग्ने करलाई अझ प्रभावकारी बनाउन ३५ देखि ६० प्रतिशतले वृद्धि गरी कम्तिमा पनि भारतको स्तरमा पुर्‍याउन पनि विज्ञले सुझाव दिए।

हाल नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या निकै उच्च अर्थात् ३२ प्रतिशत रहेको नेपाल विकास अनुसन्धान प्रतिष्ठानका महासचिव डा. जयकुमार गुरुङले बताए। उनका अनुसार प्रत्येक वर्ष नेपालमा सुर्तीजन्य पदार्थको सेवनले ३७ हजार ५ सय २३ अर्थात् प्रतिघण्टा ४ जना भन्दा धेरै मानिसले ज्यान गुमाइरहेका छन्। जुन संख्याले नेपालको जम्मा मृत्युदरको १९.४१ प्रतिशत ओगट्छ।
दैनिक उपभोग्य वस्तुहरू र आयस्रोतको तुलनामा सुर्तीजन्य पदार्थको मुल्य धेरै सस्तो र वर्षेनी हुने वृद्धि नगन्य रहेको पनि महासचिव डा. गुरुङले बताए। उनका अनुसार १०० जना मानिसमा गरिएको एक अनुसन्धानमा ३२ जनाले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको पाइयो। सेवन गर्नेमा महिलाभन्दा पुरुष ४ गुणा बढी रहेको देखियो।

सुर्तीजन्य पदार्थ सेवन गर्नेमा धेरै जसो शिक्षित व्यक्ति नै रहेको र कतिपय आर्थिक अवस्था कमजोर भएका पनि रहेको उनले बताए। त्यसैले यस्तो सेवनलाई नियन्त्रण गर्न सरकारले कर बढाउनुपर्नेमा उनले जोड दिए। काठमाडौं महानगरपालीकाकी उपमेयर हरी प्रभा खड्कीले अनुगमनलाई फितलो बनाउन नहुनेमा जोड दिइन्। काठमाडौंलाई हरियाली बनाउने आफ्नो लक्ष्य पनि उनले सुनाइन्। सुर्तीजन्य पदार्थमा धेरै जसो युवाहरू नै लागेकाले यसमा बढी कर लगाएमा जनताले कमै किन्ने उनको भनाइ छ।

नेपाल मेडिकल एसोसिएनका अध्यक्ष डा.लोचन कार्कीले सुर्तिजन्य पदार्थको सेवनले क्यान्सर भएर विभिन्न अनुदान माग्नुभन्दा क्यान्सर हुनै नदिनु महत्वपूर्ण कुरा भएको बताए।
नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले स्थानीय चुनाव आउन लागेको सन्दर्भमा सुर्तिजन्य पदार्थमा कर वृद्धि गरी सचेतना जगाउनु सान्दर्भिक भएको बताए।

कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्थाका सदस्य डा.प्रकाशराज न्यौपानेले सुर्तिजन्य पदार्थको प्रयोगबाट हुने क्यान्सर रोगबारे प्रस्तुती दिए। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता भक्ति सिटौला, नेकपा समाजवादी पार्टीका डा.वंशीधर मिश्र, नेकपा माओवादी केन्द्रका गणेश शाहलगायतले सुर्तिजन्य पदार्थमा कर वृद्धिका लागि पहल गरे।अन्नपुर्णपाेष्टबाट ।

चर्चामा

सम्बन्धित समाचार