शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • ५०औं टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

५०औं टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

  • बिहिबार, चैत्र १७, २०७८
५०औं टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

काठमाडौं — घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० श्रृंखलाको तेस्रो खेलमा नेपालले आज पपुवा न्यूगिनी (पीएनजी)सँग खेल्दै छ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा १२ः३० बजे सुरु हुनेछ ।

पीएनजीविरुद्ध मैदान उत्रँदा नेपाली क्रिकेट टिमको लागि त्यो विशेष खेल हुनेछ । किनकि यही खेलबाट नेपालले टी-२० अन्तर्राष्ट्रियमा ५० खेलको कोशेढुंगा पूरा गर्नेछ ।

सन् २०१४ मा बंगलादेशमा आईसीसी टी-२० विश्वकप क्रिकेटमा डेब्यु गरेको नेपालले त्यही पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको थियो । विश्वकप भएकाले नेपालले पहिलो चरणमा त्यहाँ खेलेका तीनवटै खेलले टी-२० मान्यता पाएको थियो ।

नेपालले हङकङसँग त्यो ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय खेलेको थियो र त्यसमा जित हात पारेको थियो । चटगाउँमा भएको उक्त खेल नेपालले ८० रनले जितेको थियो । खेलमा शक्ति गौचन म्यान अफ दि म्याच भएका थिए ।

नेपालले पीएनजीलाई हराएमा एक खेल अगावै फाइनलमा स्थान पक्का गर्नेछ । पीएनजीका लागि भने फाइनल सम्भावना कायम राख्न नेपाल विरुद्धको खेल जित्नैपर्छ ।
बंगलादेशबाट सुरु भएको टी-२० अन्तर्राष्ट्रिय यात्रामा नेपालले आयरल्याण्ड, युएई, लर्ड्स, ओमान लगायत ठाउँ पुगिसकेको छ । अहिले संयोग कस्तो जुरेको छ भने नेपालले ऐतिहासिक ५० औं खेल घरेलु मैदानमा खेल्दैछ ।

नेपालले अहिलेसम्म खेलेका ४९ खेलमध्ये २७ खेल जितेको छ । २१ खेलमा हार व्यहोर्दा एक खेल नतिजा विहीन बनेको थियो । नेपालको जित प्रतिशत ५६.२५ रहेको छ ।

नेपालको लागि टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी दीपेन्द्र सिंह ऐरी हुन् । उनले ३६ खेलमा ३१ इनिङ्स ब्याटिङ गर्दै ३ अर्धशतकको मद्दतमा ८०३ रन बनाएका छन् । यस्तै कप्तान सन्दीप लामिछानेले ३५ खेल खेल्दै सर्वाधिक ६७ विकेट लिएका छन् । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४० टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

अहिलेसम्म १६ राष्ट्रले ५० वा त्योभन्दा धेरै टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ । सबैभन्दा धेरै टी-२० अन्तर्राष्ट्रिय खेल्ने टिम पाकिस्तान हो । पाकिस्तानले १८९ खेल खेलेको छ ।

नेपालको नजर फाइनलतर्फ

लगातार दुई खेल जितेको नेपाल जारी त्रिकोणात्मक टी-२० श्रृंखलामा एक्लो अपराजित टिम हो । नेपालले यसअघि पीएनजीलाई हराइसकेको छ भने मलेसियालाई पनि पराजित गरेको छ ।

एकदिवसीय श्रृंखलामा नेपाललाई दुवै खेलमा हराएको पीएनजी टी-२० श्रृखंलामा भने लगातार दुई खेलमा पराजित भइसकेको छ ।

पीएनजी विरुद्ध मैदान उत्रँदा नेपालको नजर फाइनलतर्फ हुनेछ । नेपालले पीएनजीलाई हराएमा एक खेल अगावै फाइनलमा स्थान पक्का गर्नेछ । पीएनजीका लागि भने फाइनल सम्भावना कायम राख्न नेपाल विरुद्धको खेल जित्नैपर्छ ।

यसअघि पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले पराजित गरेको थियो । दोस्रो खेलमा मलेसिया विरुद्ध ६ विकेटको सहज जित निकालेको नेपाल लगातार तेस्रो खेल जित्ने योजनामा छ ।

बुधबार मलेसियालाई हराएपछि नेपालका कप्तान सन्दीप लामिछानेले टिमको लक्ष्य सबै खेल जितेर फाइनल पुग्ने र श्रृंखला नै जित्ने रहेको बताएका थिए । ‘पीएनजीसँगको खेलका लागि योजना बनाउनेछौं । हामी सबैजना शृंखला जित्ने लक्ष्यमा छौं । चार खेल जित्दै फालाईनल पनि जित्ने लक्ष्य छ,’ सन्दीपले भनेका थिए, ‘अझै फाइनल पुगेको छैन । फाइनल पुग्न एक खेल जित्नैपर्छ ।’

नेपालसँग पहिलो खेलमा पराजित भएको पीएनजीमाथि मलेसियाले ८ रनको ऐतिहासिक जित हात पारेको थियो । त्यसैले नेपालसँग खेल्दा पीएनजी केही दबाबमा हुनेछ ।

नेपाल र पीएनजीबीच यसअघि दुई वटा मात्र टी-२० अन्तर्राष्ट्रिय खेल भएको थियो जसमा दुवैले एक-एक खेल जितेका छन् । सन् २०१५ मा आयरल्याण्डमा भएको टी-२० विश्वकप छनोटमा पीएनजीले नेपाललाई हराएको थियो । त्यसको बदला नेपालले त्रिवि क्रिकेट मैदानमा लिइसकेको छ ।अनलाइनखबरबाट ।

चर्चामा

सम्बन्धित समाचार