• होमपेज
  • देश
  • चुनावमा पाँचदलीय गठबन्धन निश्चित

चुनावमा पाँचदलीय गठबन्धन निश्चित

कांग्रेसको औपचारिक निर्णयपछि गठबन्धनभित्र सिट बाँडफाँडको संवाद सुरु हुने

  • मङ्लबार, चैत्र १५, २०७८
चुनावमा पाँचदलीय गठबन्धन निश्चित

आसन्न ३० वैशाखमा एकै चरणमा हुने स्थानीय तह निर्वाचन सत्तारुढ पाँच दलबीच गठबन्धन हुने निश्चित भएको छ । सत्तासाझेदार अन्य दलले पहिला नै निर्णय गरिसकेको र कांग्रेसले पनि मंगलबार केन्द्रीय कार्यसमिति बैठकमार्फत यसबारे औपचारिक निर्णय लिने भएपछि स्थानीय चुनावमा पाँचदलीय गठबन्धन निश्चित भएको हो ।

कांग्रेस बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धनबारे सैद्धान्तिक र रणनीतिक निर्णयसँगै आवश्यकताका आधारमा तल्ला तहमा यसले आकार ग्रहण गर्नेछ । तर, कुन मोडालिटीमा गठबन्धन बनाउने भन्नेमा दलहरूबीच अझै सहमति भइसकेको छैन । यसअघि गठबन्धनमा रहेका दलहरूले पहिला सबै दलले आन्तरिक निर्णय लिने र त्यसपछि मात्रै मोडालिटीमा जाने सहमति गरिसकेका छन् ।

पार्टीभित्र इतर समूहले गठबन्धन नबनाउन दबाब दिए पनि केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवाको चाहनाअनुसार आवश्यकता आधारमा गठबन्धनमा जानुपर्ने मत राखेका थिए । सोहीअनुसार पार्टीले मंगलबारको बैठकबाट प्रस्ताव पास गर्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए । ‘केन्द्रीय समितिमा मूलतः चुनावी अभियानको मूल्यांकन भयो । ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ अभियान’अन्तर्गत केन्द्रबाट खटिएका प्रतिनिधिले दिएको सुझाव र पार्टीको अवस्थाबारे पनि छलफल भयो । अहिलेको गठबन्धन विशिष्ट परिस्थितिमा बनेको हो । केन्द्रीय समिति बैठकमा आवश्यकताका आधारमा तालमेल गरेर जाँदा पार्टी मजबुत हुने र आउने संसदीय चुनावमा पनि जित्ने परिस्थिति निर्माण हुने सुझाव आएको छ,’ प्रवक्ता महतले भने, ‘कतिपयले गठबन्धन र तालमेल नगरी कांग्रेस एक्लै निर्वाचनमा गएर पार्टीलाई परीक्षण गर्नुपर्ने पक्षमा पनि मत राखेका छन् । अधिकांश मत गठबन्धन र तालमेल गरेर जानुपर्छ भन्नेमा छ । यसका आधारमा कहाँ तालमेल गर्ने र कहाँ नगर्ने, गठबन्धनको मोडालिटी के बनाउने भन्ने प्रस्ताव तयार हुन्छ । प्रस्ताव मंगलबार केन्द्रीय समिति बैठकबाट पारित हुन्छ ।’

बैठकमा स्थानीय तह निर्वाचनमा गठबन्धनको विषयलाई लिएर पदाधिकारी तहमा दुई थरी मत देखिएको थियो । सोमबार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमुल्लाह मंसुर, उमाकान्त चौधरी, भीष्मराज आङदेम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियारले धारणा राखेका थिए । धारणा राख्ने अधिकांशले तालमेलको निर्णयको अधिकार केन्द्रलाई नै दिनुपर्ने मत राखेका थिए । महामन्त्री थापाले स्पष्ट रूपमा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए । यसबाहेक संस्थापननिकट पदाधिकारीले स्पष्ट रूपमा गठबन्धनको पक्षमा मत राखेका थिए । इतरनिकट पदाधिकारीले भने आवश्यकताका आधारमा तल्लो तहलाई अधिकार दिएर गठबन्धनबारे निर्णय गर्नुपर्ने पक्षमा धारणा राखेका थिए ।

सोमबार पदाधिकारीबाहेक केन्द्रीय सदस्यहरू रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, डा. शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, अम्बिका बस्नेत, सुरेन्द्रराज पाण्डे, सुजाता परियार, रमेश लेखक, रामजनम चौधरी, यज्ञराज जोशी, प्रदीपकुमार सुनुवार, मानबहादुर नेपाली, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, मञ्जु खाण, सुशीला थिङ र गणेश लामाले आ–आफ्ना धारणा राखेका थिए ।

संसद्बाट एमसिसी अनुमोदन भएलगत्तै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले चुनावमा गठबन्धन बन्ने अभिव्यक्ति दिन थालेका थिए । एमसिसी अनुमोदन भएको चौथो दिन १९ फागुनमा बसेको गठबन्धनको बैठकमा देउवाले सत्तासाझेदार दलहरूलाई तीनै तहको निर्वाचनमा मिलेर जाने बताएका थिए । संविधान र लोकतन्त्रको रक्षा गर्न बनेको गठबन्धनको अझै आवश्यकता रहेको प्रधानमन्त्री देउवाले बताउँदै आएका छन् ।

चुनावी परिणामअनुकूल दिने गरी प्रधानमन्त्री देउवाले सफल गठबन्धनका लागि रणनीतिक रूपमै कदम चालेका छन् । स्थानीय तहमै गठबन्धन बनाएर जान सकिने कांग्रेसमा बलियो मत छ । प्रधानमन्त्री देउवालाई पार्टीनिकट नेताहरूले ‘एमालेले जितेका ठाउँमा कांग्रेसले गठबन्धनको सहयोगले जित्छ, कांग्रेसले जितेका ठाउँ फेरि कांग्रेसले नै जित्छ । समग्रमा गठबन्धन कांग्रेसकै पक्षमा हुन्छ, त्यसैले यसमा अगाडि जान’ सुझाएका छन् ।

गठबन्धनलाई लिएर कांग्रेस पदाधिकारीमा मतभेद

शेरबहादुर देउवा (सभापति) : गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ । गठबन्धन नगरेर हुन्छ ? गठबन्धन गरेर जाँदा हामी सबै जित्छौँ । गठबन्धन नहुँदा पहिला धेरै साथी हारेका होइनन् ? मलाई पनि पहिले माओवादीले गोली हानेकै हुन् । पुराना कुरा सम्झेर हुन्छ ? त्यसकारण गठबन्धन गरेर जाऔँ । धेरै ठाउँमा जितौँ । म कांग्रेसको सिद्धान्त कसरी तोड्छु ? माओवादीलाई बोक्यो भन्नुहुन्छ । माओवादीलाई मैले ल्याएको हो ? हिजो गिरिजाबाबुलाई प्रश्न गर्न सक्नुभयो ? अहिले माओवादीलाई बोक्यो भन्ने । कांग्रेसको नीति–सिद्धान्तबारे मलाई नसिकाउनुस् । म कांग्रेसका लागि जीवन काटेको मान्छे हुँ ।

पूर्णबहादुर खड्का (उपसभापति) : गठबन्धन अहिलेको आवश्यकता हो । संविधान बचाउन बनेको गठबन्धन संविधानलाई सही ट्र्याकमा नल्याएसम्म निरन्तर रहनुपर्छ ।

धनराज गुरुङ (उपसभापति) : निर्वाचन गठबन्धनले जित्ने होइन, एजेन्डाले जित्ने हो । भ्रष्टाचारको फाइल खोल्नुपर्छ । ०४६ पछि सार्वजनिक लाभको पदमा रहेकाको सम्पत्ति छानबिन गर्नुपर्छ, यसबाट जनताको मन कांग्रेसमा फर्कन्छ । अहिले हामी तालमेलबारे बहस गरिरहेका छौँ । मामाघर गएका कम्युनिस्टहरू मिलेर एकताको सन्देश लिएर आए भने के हुन्छ ?

गगन थापा (महामन्त्री) : लाखौँ मतदाता नयाँ छन् । नयाँ मतदातालाई आज रूखबाहेक अरूमा भोट हाल्न सिकाउने हो भने भोलि उनीहरू कांग्रेस बन्न आउँछन् त ? गठबन्धनबाट कांग्रेसले आफ्नो अस्तित्व जोगाउन सक्दैन । त्यसैले कांग्रेसले गठबन्धन गर्नुहुँदैन । नेपालमा कम्युनिस्टबाट खतरा छ भनेर हामीले बारम्बार भन्यौँ । के अबको निर्वाचनमा कम्युनिस्ट मिल्न नदिएर लोकतन्त्र बचायौँ भनेर भन्न जाने हो ?

महामन्त्री विश्वप्रकाश शर्मा : कांग्रेसले विगतमा प्राप्त गरेको मतको तथ्यांकले आवश्यकताअनुसार गठबन्धन गर्नुपर्ने देखाउँछ । विगतमा कहीँ कांग्रेस बलियो छ, कहीँ कमजोर छ । त्यसैले आवश्यकताअनुसार गठबन्धन गरेर जानुपर्छ ।

रामचन्द्र पौडेल : हाम्रो लडाइँ एमालेसँग हो । ओलीलाई बलियो बनाउनुहुँदैन । प्रचण्ड र माधवलाई अलिअलि मत हामीले थपेर छुट्टै राख्नुपर्छ । ओलीलाई साइजमा राख्नुपर्छ । त्यसका लागि गठबन्धन गरेरै जानु आवश्यक छ ।

डा. शेखर कोइराला : गठबन्धन किन गर्ने र केका लागि गर्ने ? रुष्ट कार्यकर्तालाई सम्बोधन नगरी कसरी अघि बढ्न सकिन्छ ? सभापतिले नै एमाले बलियो भनेपछि कार्यकर्ताको मनोबल कसरी बढाउने ? कांग्रेसको नीति र सिद्धान्त तिलाञ्जली दिएर कसरी माओवादीलाई बोक्न सकिन्छ ?

गठबन्धनतिर जाने कांग्रेसको तयारीमा अरू दल के भन्छन् ?

एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधर भन्छन्– कांग्रेस सही दिशामा छ
गठबन्धन हुनुपर्छ भनेर हामीले पहिलेदेखि भनेको हो । यो गठबन्धन विशिष्ट परिस्थितिमा बनेको हो । प्रतिगमनकारी सोच भएकालाई परास्त र धुलिसात नगरेसम्म यसको मिसन पूरा हुन सक्दैन । मुलुकमा संविधानको रक्षा गर्ने गठबन्धनको मिसन हो । यसैले लोकतन्त्रको रक्षा गर्ने हो । तीनै तहको चुनाव गठबन्धनमा जाने कुरा स्वाभाविक हो, यो हुन जरुरी थियो । कांग्रेसको छलफल स्वागतयोग्य छ । मिसन पूरा नहुन्जेलसम्म एक्लाएक्लै जान हुँदैन । चुनावमा के ‘मोडालिटी’मा गठबन्धन गरेर जाने भन्ने प्रश्न छ । सबै दल बसेर छलफल गर्छौँ । त्यसपछि एउटा निर्णयमा पुग्ला ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेल भन्छन्– प्रतिगमनकारी शक्तिलाई कमजोर बनाउन गठबन्धन हुन्छ
गठबन्धन गर्न जरुरी थियो । गठबन्धनले मुलुकलाई स्थायित्व दिन्छ । यहाँ गठबन्धनको राजनीति अनिवार्य भयो । चुनावपछि बनेका गठबन्धनको भर नहुने भयो, त्यसैले पहिला गठबन्धन गर्दा राम्रा हुने भयो । प्रतिगमनकारी शक्तिलाई परास्त गर्न बनेको गठबन्धन भएकाले सँगै जान आवश्यकता हो । यसलाई कमजोर बनाउनुहुन्न । चुनावमा गठबन्धनले कसरी तालमेल गर्ला भन्ने कुरा उठिरहेको छ । सबै ठाउँमा गठबन्धन हुनुपर्छ भन्ने पनि छैन । कतिपय ठाउँमा होला, कतिपय ठाउँमा नहोला । जहाँ प्रतिगमनकारी शक्तिलाई कमजोर गराउने हो, त्यहाँ गठबन्धन गर्ने हो ।

जसपा नेता नवराज सुवेदी भन्छन्– गठबन्धनको औचित्य अहिले पनि छ
जुन धरातलमा गठबन्धन बनाएका हौँ, त्यसको औचित्य अहिले पनि छ । गठबन्धनका घटकबीच तालमेल हुनुपर्छ । गठबन्धन दलहरूको आत्मसम्मानलाई ख्याल गरेर बाँडफाँड हुनुपर्छ । संयुक्त रूपले जाँदा स्थानीय तहमा देखापरेका मूलभूत समस्याहरू समाधान गर्ने हिसाबले जानुपर्छ । संयुक्त घोषणापत्र पनि हुनुपर्छ । स्थानीय तहलाई ‘होल्ड’ गर्ने मात्र होइन, डेलिभरी पनि गर्नुपर्छ । त्यसकारण, मापदण्ड बनाउँदा बुद्धि पुर्‍याउनुपर्छ । सम्मानजनक तालमेल हुनुपर्छ । नयाँ पत्रिकाबाट साभार । 

चर्चामा

सम्बन्धित समाचार