बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • करिष्माले किन छाडिन् बाबुरामको साथ ?

करिष्माले किन छाडिन् बाबुरामको साथ ?

  • शुक्रबार, चैत्र ४, २०७८
करिष्माले किन छाडिन् बाबुरामको साथ ?

भिनेत्री करिष्मा मानन्धर यतिबेला नेकपा एमालेमा प्रवेश गर्न लागेको विषयले चर्चा पाइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटकको भेटपछि उनी एमालेमा प्रवेश गर्न लागेकी हुन् । यसअघि उनले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सक्रिय भएर काम गरिन् । नयाँ शक्ति पार्टी संघीय समाजवादीमा एकीकरण भएपछि पनि करिष्माले केही समय काम गरिन् । तर, विस्तारै उनी राजनीतिबाट निष्क्रिय बनिन् ।

नयाँशक्ति पार्टीमा रहँदा डा. बाबुरामसँगै मञ्चमा देखिने करिष्माले आखिर किन छाडिन् त बाबुरामको साथ ? करिष्मा मानन्धरसँग नयाँ शक्ति पार्टीमा राजनीतिक सहकार्य गरेका राजनीतिक विश्लेषक एवं हाल जनता समाजवादी पार्टी (जसपा) का नेतासमेत रहेका डम्बर खतिवडा करिष्माको पाँच वर्षे राजनीतिक जीवनलाई यसरी सम्झन्छन्–

म राजनीतिकर्मी करिष्मा मानन्धर दिदी देशको राम्रो कलाकार र सम्मानित अभिनेत्री हुनुहुन्छ । म पहिलेदेखि नै उहाँको फिल्म हेर्दै आएको मानिस हुँ । उहाँको ‘अरुणी’मा भन्ने फिल्म पनि हेरेको थिए । अभिनय क्षेत्रमा उहाँले जुन भुमिका गर्नु भएको छ । त्यो हामी राजनीतिक क्षेत्रका मानिसले पनि सम्मान गर्ने कुरो हो ।

नयाँ शक्ति पार्टीको करिव ५ बर्षे अवधिमा करिष्मा दिदीसँग जुन संगत गर्ने अवसर मिल्यो, त्यसको आधारमा भन्ने हो भने उहाँ एकदमै भद्र, कम बोल्ने, धेरै राजनीतिक हस्तक्षेप नगर्ने, आफ्नो भागमा परेको काम लुरुलुरु गर्ने, साथीभाइको चित्त नदुखाउने त्यस्तो स्वभावको हुनुहुन्थ्यो ।

राजनीतिक विचारधाराको भिन्नता बुझ्न उहाँलाई गाह्रो छ । नयाँ शक्तिमा लाग्दा पनि हामी किन लाग्यौं, राजनीतिक एजेन्डाले कहाँ पुर्याउँछ भन्ने विषयमा कन्फर्म नभएको हुँदा उहाँको राजनीतिक जीवन कस्तो हुन्छ, म भन्न सक्दिनँ ।

नेपालमा कलाकार राजनीतिमा आउने हराउने गरिरहेका छन् । अभिनेता भुवन केसी पनि एकपटक एमाले प्रवेश गर्नु भएको थियो । राजनीतिमा टिक्नुभएन । राजनीतिमा कलाकारको उपस्थिती अन्य देशको हेर्दा र हाम्रो देशको हेर्दा अलि फरक देखिन्छ । भारतमा शत्रुघ्न सिन्हा, धर्मेन्द्र देवल, सन्नी देवललगायत चुनाव जितेर सांसद भएको अवस्था छ ।

कुनै बेला अभिनेता अमिताभ बच्चनले पनि राजनीति गरे । एकपटक राज्य सभा र एक लोकसभाको गरेर उनी दुई पटक सांसद भएका थिए । त्यसपछि राजनीति मेरो काम होइन रहेछ भनेर बच्चनले राजनीति नै छोडे ।मेरो विचारमा करिष्मालाई कुनै राजनीतिक पार्टीले सम्मानजनक ढंगले कला क्षेत्रको नेतृत्व गरेको हिसावले उहाँलाई राष्ट्रिय सभाको सदस्य बनाउनु राम्रो हो । हाम्रो राष्ट्रिय सभाको क्यारेक्टर पनि मुलतः त्यही हो । त्यो हिसाबकोसम्म उहाँको भूमिका उपयुक्त हुन सक्छ । मास राजनीतिमा उहाँले भुमिका गर्न सक्नुहुन्छ जस्तो मलाई लाग्दैन ।

कुनै पार्टीको महत्वपूर्ण पदमा बसेर, जनताको बीचमा गएर चुनाव लडेर अगाडि बढ्न उहाँ सक्नुहुन्न । अहिले विकास गर्नुभएको छ, भने त्यो मलाई थाहा छैन । नयाँ शक्तिको अवधिमा भने त्यो क्षमता उहाँमा थिएन । भर्खर सिक्दै हुनुहुन्थ्यो ।

नयाँ शक्तिमा रहँदा उहाँ देशभर डुल्नुभयो । संगठनात्मक भन्दा पनि प्रचारात्मक हिसाबले आमसभाहरूमा जाने, भेलाहरुमा जाने गर्नुभयो । नयाँ शक्ति पार्टीको अवधिभरि उहाँ क्रियाशील हुनुहुन्थ्यो । एकता अवधिमा पनि उहाँ हुनुहुन्थ्यो । एकतापछि समाजवादी पार्टी बनेपछि पनि उहाँले सपथ लिनुभएको हो । त्यसपछि भने उहाँ असन्तुष्ट हुनुभएको हो । हामीले पनि उहाँ किन असन्तुष्ट हुनुभयो भनेर धेरै राम्रोसँग सोधखोज गरेनौं । त्यो हाम्रो पनि कमजोरी भयो होला ।

नयाँ शक्तिमा पदहरु थिएन । पार्टी एकतापछि समाजवादी पार्टी भएपछि त्यहाँ विभिन्न उपाध्यक्ष, महासचिव जस्ता पदहरु बनेका थिए । सायद त्यसको मनोवैज्ञानिक असर उहाँलाई पर्यो होला । नयाँ शक्तिमा कसैको पद छैन, मेरो पनि छैन भनेर उहाँलाई ठीक लागेको थियो होला ।

समाजवादी पार्टीमा कोही मानिस महासचिव भन्छन्, कोही उपाध्यक्ष लगायत बिभिन्न पद भन्छन् । म के हो त भन्ने पनि पर्यो कि । त्यो मनोवैज्ञानिक पाटो हो जस्तो लाग्छ । उहाँ पार्टीको एजेन्डा बिचारसँग असहमति भएर हिँड्नुभएको हो जस्तो मलाई लाग्दैन । उहाँ पार्टीबाट बाहिरिनुले पार्टीको संगठनात्मकरुपमा केही प्रभाव पर्दैन । पार्टीमा त्यतिको ब्यक्ति भइरहेको भए राम्रो हुन्थ्यो भन्ने हामीलाई अहिले पनि लाग्छ ।

एमाले प्रवेश उहाँको स्वतन्त्रताको विषय हो । म ब्यक्तिको सार्वभौमिकता विश्वास गर्ने मानिस हुँ । मानिसहरुले बिचार छोड्नु, पार्टी छोड्नु, नयाँ पार्टी बनाउनु, बिभिन्न ढंगले आफ्नो विकल्प रोज्नुलाई मैले कहिल्यै पनि नराम्रो हिसावले गाली गर्दिनँ । जुन पार्टीमा गए पनि उहाँले गर्ने भुमिका उस्तै–उस्तै हो ।

उहाँको मनमा खास एजेन्डाप्रतिको प्रतिवद्धता निर्माण भइसकेको छैन । नयाँ शक्ति भन्नु, समाजवादी भन्नु, जनता समाजवादी भन्नु, काँग्रेस एमाले भन्नु के भिन्नता हो वा समानता हो भनेर छुट्याएर, यो पार्टीमा म यसका लागि वकालत गर्छु वा यो पार्टीमा म यस विषयमा वकालत गर्छु भन्नेखालको ठोस अवधारणा उहाँमा निर्माण भइसकेको छैन । अहिले पनि छैन भन्ने मलाई लाग्छ । एमालेमा गएर पनि उहाँ एउटा कलाकार एमाले हुनुहुन्छ भन्ने मात्रै हो ।

(राताेपाटीमा खतिवडासँग कुराकानीमा आधारित) 

चर्चामा

सम्बन्धित समाचार