• होमपेज
  • समाचार
  • पेन्गुइनको समलिंगी जोडीले अण्डा कोरल्यो, यसरी गर्दैछ चल्लाको हेरचाह

पेन्गुइनको समलिंगी जोडीले अण्डा कोरल्यो, यसरी गर्दैछ चल्लाको हेरचाह

  • शुक्रबार, माघ २१, २०७८
पेन्गुइनको समलिंगी जोडीले अण्डा कोरल्यो, यसरी गर्दैछ चल्लाको हेरचाह

आमरुपमा चराहरुमा अण्डा कोरलेर बच्चा निकाल्ने काम पोथीको हुन्छ । तर अमेरिकाको रोजामेन्ड गिफोर्ड चिडियाखानामा भने पेन्गुइन चराको समलिंगी जोडीले अण्डा कोरलेर चल्ला निकालेका छन् । उक्त जोडीले कोरलिएका चल्लाको पनि निकै राम्रोसँग हेरचाह गरिरहेको छ ।

पेन्गुइनको उक्त भाले भाले जोडीलाई हमबोल्ट पेन्गुइन्स भनिन्छ । वैज्ञानिक भाषामा त्यसलाई स्फेनिस्कस हमबोल्ट भनिन्छ । चिडियाखानामा उक्त समलिंगी जोडीको नाम एल्मर र लीमा राखिएको छ । उक्त भाले जोडीलाई एक अर्को पोथी पेन्गुइनले पारेको अण्डा दिइएको थियो ।

अरुको अण्डालाई त्यो समलिंगी जोडीले तत्कालै क्षतविक्षत गराउने आशंका थियो । तर त्यस्तो भएन । उक्त जोडीले त्यो अण्डालाई स्याहार्न थाल्यो र ओथारो बस्यो । अन्ततः जनवरी १ का दिन भाले जोडीले अण्डा कोरलेर चल्ला निकाल्यो ।

अहिले त्यो समलिंगी पेन्गुइनको जोडीले वास्तविक मातापिताले जस्तै गरी चल्लाको ख्याल गरिरहेको छ । चल्लाई चिसोबास जोगाउनका लागि उसलाई आफूसँगै राख्ने, खान लगेर खुवाउने लगायतका कुनै पनि कसर उक्त जोडीले बाँकी राखेको छैन ।

वास्तवमा ओथारो बस्न र अण्डा कोरल्नका लागि चिडियाखानाका कर्मचारीहरुले यो समलिंगी जोडीलाई पहिलेदेखि नै तालिम दिएका थिए । सुरुमा डमी अण्डा उनीहरूलाई दिएर अण्डाको स्याहार गर्न र ओथारो बस्न सिकाइयो । केही दिनपछि उक्त डमी अण्डा निकालेर त्यसको ठाउँमा वास्तविक अण्डा राखिएको थियो । अन्ततः त्यहीँ अण्डालाई कोरलेर उनीहरुले चल्ला निकाल्न सफल भए ।

स्मरण रहोस् समलिंगी पेन्गुइन जोडीले अण्डा कोरलेको यो पहिलो घटना भने होइन । यसअघि न्युयोर्क सिटी सेन्ट्रल जू तथा स्पेनमा समेत यस्तै घटना भएको थियो । उता नेदरल्याण्डको डिरेनपार्क एमर्सफुर्ट चिडियाखानामा त एक भाले पेन्गुइन जोडीले आफ्नो छिमेमी पेन्गुइनको अण्डा चोरी गरेर ल्याएर कोरलेका थिए । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार