शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • अमेरिकालाई उछिन्दै संसारकै धनी देश बन्यो चीन

अमेरिकालाई उछिन्दै संसारकै धनी देश बन्यो चीन

  • बुधबार, मंसिर १, २०७८
अमेरिकालाई उछिन्दै संसारकै धनी देश बन्यो चीन

काठमाडौं । छिमेकी मुलुक चीनले महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै विश्वकै धनी मुलुक बनेको छ । पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ । तर अमेरिकाको सम्पत्ति भने सोही गतिले बढेको देखिँदैन ।

कन्सल्टेन्सी फर्म म्याकिन्से एण्ड कम्पनीको ताजा रिपोर्टअनुसार पछिल्लो दुई दशकमा विश्वभरको कुल सम्पत्ति तीन गुणाले वृद्धि भएको छ ।

विश्वको ६० प्रतिशत आय रहेका १० मुलुकको वासलात (ब्यालेन्स शीट) को जाँचपछि उक्त रिपोर्ट तयार पारिएको हो । २० वर्षको अवधिमा वृद्धि भएको विश्वको कुल सम्पत्तिमध्ये चीनले एक-तिहाई अर्थात् ३३ प्रतिशत हिस्सा ओगटेको छ । यसरी हेर्दा सो अवधिमा चीनको कुल सम्पत्तिमा १६ गुणा वृद्धि भएको छ ।

रिपोर्टअनुसार सन् २००० मा विश्वको कुल सम्पत्ति करिब १५६ ट्रिलियन डलर थियो । तर २०२० मा विश्वको कुल सम्पत्ति बढेर ५१४ ट्रिलियन डलर पुगेको छ । उक्त अवधिमा वृद्धि भएको कुल सम्पत्तिमध्ये एक-तिहाई हिस्सा चीनको रहेको छ ।

सन् २००० मा विश्व व्यापार संगठनको सदस्य बन्दा चीनको कुल सम्पत्ति ७ ट्रिलियन अर्थात् ७० खर्ब डलर थियो । सन् २०२० मा त्यहाँको कुल सम्पत्ति बढेर १२० ट्रिलियन डलर पुगेको छ । यसको अर्थ २० वर्षमा चीनको कुल सम्पत्तिमा ११३ ट्रिलियन थपिएको छ ।

पछिल्लो २० वर्षमा चीनको तुलनामा अमेरिकाको सम्पत्तिमा कमी आएको र दुई गुणाले बढेको छ । २०२० मा अमेरिकाको कुल सम्पत्ति ९० ट्रिलियन डलर रहेको अनुमान गरिएको छ । सम्पत्ति (प्रोपर्टी) को मूल्यमा ज्यादा वृद्धि नहुँदा अमेरिकाले पहिलो स्थान गुमाएको र चीनले उछिनेर विश्वकै धनी मुलुक बनेको रिपोर्टमा उल्लेख छ ।

चीन र अमेरिका विश्वका सबैभन्दा ठूला अर्थतन्त्र हुन् । यी दुवै मुलुकको दुई-तिहाईभन्दा बढी सम्पत्ति अति धनि १० प्रतिशत मानिससँग रहेको र उनीहरूको हिस्सा बढ्ने क्रम जारी रहेको ब्लुमबर्गले म्याकिन्से एण्ड कम्पनीको रिपोर्ट उदृत गर्दै लेखेको छ ।

समाचारअनुसार विश्वकै ६८ प्रतिशत सम्पत्ति रियल स्टेटमा लगानी गरिएको छ । बाँकी सम्पत्ति पूर्वाधार, मेशिनरी, उपकरण, वौद्धिक सम्पत्ति र पेटेन्टमा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार