शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • लन्डनमा दुईवटा रेल आपसमा जुधे, १७ जना घाइते

लन्डनमा दुईवटा रेल आपसमा जुधे, १७ जना घाइते

  • सोमवार, कार्तिक १५, २०७८
लन्डनमा दुईवटा रेल आपसमा जुधे, १७ जना घाइते

लन्डनको सेलिसबरीमा गएराति दुईवटा रेल आपसमा जुध्दा थुप्रै व्यक्ति घाइते भएका छन्।

यो दुर्घटना लन्डन रोडनिर भएको थियो जसमा साउथ वेस्टर्न रेल्वे र ग्रेट वेस्टर्न सर्भिस आपसमा जुधेका थिए। रेल जुध्दा एक जना चालक भित्रै अड्किएका थिए जसलाई उद्धार टोलीले बाहिर निकालेको थियो। यो घटनामा १७ जना घाइते भएका छन्। उनीहरू अस्पतालमा उपचाररत छन्।

एउटा रेलले सुरूङभित्र कुदिरहेको अवस्थामा कुनै वस्तुलाई ठक्कर दिएको थियो। त्यही बेला दोस्रो रेल अघिल्लो रेलसँग जुध्दा दुर्घटना भएको हो। रेल्वे ट्रयाकमा रहेका संकेत चिह्नहरूको समस्याले दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।

दुर्घटना हुँदा रेलमा रहेकी एन्जेला म्याटिंग्ली भन्छिन्, ‘रेल गुड्दा गुड्दै अचानक चारैतिर अन्धकार भयो। रातो बत्तीहरू झिलिक झिलिक बलेको मात्र देख्यौं।’

‘त्यसपछि रेल बेस्कन हल्लियो र घद्रकघद्रक गर्दै निकै बेर उफार्यो,’ उनले भनिन्, ‘मैले सम्झेसम्म केही यात्रुहरू आफ्नो सिटबाट उछिट्टिएका थिए। उनीहरूको टाउकोमा चोट लागेको हुनुपर्छ।’ ‘केही समय त मलाई के भयो भन्ने नै होस भएन, होसमा आउँदा चारैतिर अफरातफरी मच्चिएको थियो,’ उनले भनिन्।

दुर्घटनापछि चलाइएको आकस्मिक रेल सेवा। तस्बिर स्रोत: बिबिसी
डर्बीकी ५१ वर्षीया काेरिना एन्डरसन पनि लन्डनको वाटरलूबाट आफ्नो साथी भेट्न सेलिसबरी जाँदै थिइन्। रेल गुड्दा गुड्दै उनले एक्कासि ठूलो आवाज आएको सुनिन् र आफ्नो सिटबाट हुत्तिएर रेलको भित्तामा जोडसँग बजारिन पुगिन्।

आकस्मिक स्वास्थ्य सेवामा तालिमप्राप्त एन्डरसनले भनिन्, ‘मैले केही बेरमा आफूलाई सम्हालेँ। त्यसपछि दुर्घटनामा घाइतेहरूको उद्धार गर्नमा मेरो ध्यान गयो।’

लन्डन रेल्वेका प्रवक्ताले पोर्टसमाउथ हार्बरबाट ब्रिसटल टेम्पल गइरहेको ग्रेट वेस्टर्न रेल्वे सर्भिस सुरूङभित्र कुनै वस्तुमा ठोक्किँदा लिकबाट बाहिर उछिट्टिएको बताएको छ। त्यही क्रममा अर्को लिकबाट कुदिरहेको रेलसँग जुधेको प्रवक्ताको भनाइ छ। त्यो रेल लन्डल वाटरलूबाट होनिटन जाँदै थियो।

चर्चामा

सम्बन्धित समाचार