मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाचार
  • फिदिम बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

फिदिम बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

  • सोमवार, कार्तिक ८, २०७८
फिदिम बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

पाँचथर — पाँचथरको फिदिम नगरपालिका-४ सरखण्डेमा सोमबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा घाइते भइ उपचारका लागि अस्पताल ल्याइएका चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जसमध्ये तीनजनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दुर्घटनामा घाइते भएका मोरङको लेटाङ नगरपालिका–६ का ७ वर्षीय प्रज्ज्वल मगरको फिदिमको पाथीभरा अस्पतालमा, इलामकी ३४ वर्षीया प्रमिला देवानको पाँचथर जिल्ला अस्पतालमा तथा उनकै सात महिने छोरा निश्चल देवानको समर्पित अस्पताल फिदिममा उपचारका क्रममा मृत्यु भएको हो ।

समर्पित अस्पतालमै मृत्यु भएका एक महिलाको भने पहिचान हुन सकेको छैन। दुर्घटनामा थप ६१ जना घाइते छन् । घाइतेमध्ये हालसम्म ११ जनालाई थप उपचारका लागि तराईका सुविधासम्पन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरुलाई समेत उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भइरहेको सो कार्यालयले जनाएको छ । फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि हिँडेक को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ सरखण्डेमा दुर्घटनामा परेको हो ।

अर्को सवारीलाई उछिन्ने क्रममा बस सडकबाट करीब २० मिटर तल सडकमै झरेको थियो । दुर्घटनाका मृतक तथा घाइते कुम्मायक गाउँपालिकाको यासोकबाट ट्याक्सीमा निवुखोलासम्म आएका थिए । पुल भत्केकाले पैदल यात्रा गरी पुल तरेर उनीहरु बसमा चढेका थिए । तर बस केही किलोमिटर पार नगर्दै दुर्घटनामा परेको थियो।

चर्चामा

सम्बन्धित समाचार