शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • तेलले मुटुलाई बलियो बनाउँछ कि हानि गर्छ ?

तेलले मुटुलाई बलियो बनाउँछ कि हानि गर्छ ?

  • शनिबार, कार्तिक ६, २०७८
तेलले मुटुलाई बलियो बनाउँछ कि हानि गर्छ ?

बजारमा आउने कतिपय विज्ञापनमा तेलले मुटुलाई बलियो र सुरक्षित बनाउँछ भनिन्छ । तर बजारमा आउने विज्ञापनमा जस्तै मुटुको सुरक्षाको लागि तेलको प्रयोग प्रभावकारी हुन्छ त ? चिकित्सकहरू तेलले मुटु बलियो बनाउन सहयोग नै गर्छ भनेर ढुक्क हुन नसकिने बताउँछन् । यसको मात्रा मिलाउन नजाने तेलले उल्टै हानि गर्न सक्ने भन्दै यसको प्रयोगमा ध्यान दिनुपर्ने उनीहरुको तर्क छ । यद्यपि मुटुको स्वास्थ्य र तेलको उपभोगका बीचमा सम्बन्ध नभएको भने होइन । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजु मुटुको स्वास्थ्य र तेलको सम्बन्धबारे यसरी सुनाउँछन् ।

तेलले मुटु बलियो बनाउँछ नै भन्ने हुँदैन । यति हुँदाहुँदै पनि तेल आफैँमा शरीरको लागि आवश्यक पेय पदार्थ भने पक्कै हो । आयल भन्ने बित्तिकै यसमा फ्याट हुन्छ । मुटुको स्वास्थ्यको लागि उचित मात्रामा फ्याट युक्त खानेकुराको सेवन गर्नुपर्छ । फ्याट विभिन्न खाद्य तथा पेय पदार्थबाट पाउन सकिन्छ । जस्तै, मासु, दूध, पनिर जस्ता पदार्थमा पनि फ्याटको मात्रा पर्याप्त हुने गर्छ । यही फ्याटकै कारण मुटुको रक्तनली साँघुरो हुँदै जान्छ । त्यसैले चिल्लो र गुलियो खानेकुरालाई निश्चित मात्राभन्दा धेरै खानु मुटुको स्वास्थ्यको लागि उचित हुँदैन ।

अब फेरि आउँछ सन्तुलित मात्रा भनेको कति हो ? सामान्यतया फ्याटको मात्रा यति नै चाहिन्छ भनेर भन्न सकिँदैन । तर हामीले खाने खानामा एक चौथाइभन्दा कम फ्याट युक्त खाना खानुपर्छ भन्ने मान्यता छ । त्यसर्थ, फ्याट कम गर्नको लागि भने तेल मात्रै नियन्त्रण गरेर हुँदैन । यसमा मासु, दही दूध जस्ता फ्याटको उपभोगमा समेत स्वनियन्त्रण गर्नुपर्छ ।

स्वास्थ्यको धेरै ख्याल गर्ने कतिपयले तेलयुक्त खानेकुराहरु नियन्त्रण गर्ने भनेर अभियान चलाउने गरेको पनि पाइन्छ । तर यसरी तेल खाँदै नखाने र अरू फ्याट युक्त खानेकुरा धेरै खाने हो भने यसले पनि हामीलाई फाइदा गर्दैन । तेल खानुपर्छ । तर आफ्नो खानामा सन्तुलन भने मिलाउनुपर्छ भन्ने हो ।

अब फेरि अर्काे कुरा आउन सक्छ, तेलको सट्टामा घिउको प्रयोग गर्दा के हुन्छ ? यस्तो दुई विकल्प छन् भने घिउभन्दा मुटुको स्वास्थ्यको लागि तेल नै उचित खानेकुरा हो । किनकि एनिमल फ्याटले मुटु लगायतका अंगलाई त्यति राम्रो गर्दैन । त्यसको सट्टा तोरी, सस्र्यू जस्ता बाली र ओखर जस्ता खानेकुराबाट निकालिएका तेलहरु स्वास्थ्यको हिसाबले पनि बढी सुरक्षित छन् । अहिले त बिस्तारै तोरीको तेल पनि राम्रो भन्ने कुरा आउन थालेको छ ।

अर्काे कुरा ट्रान्स फ्याट पनि हाम्रो स्वास्थ्यको लागि राम्रो हुँदैन । यसले पनि मुटुलाई असर गर्छ । ट्रान्स फ्याटले पनि मुटुको रक्तनलीहरुलाई बिस्तारै साघुँरो बनाउँदै लैजान्छ । तेल अन स्याचुरेटेड फ्याटले हो हाम्रो शरीरलाई फाइदा गर्ने गर्छ । यो बदाम, तोरी, जैतुन आदिको तेल अन स्याचुरेटेड हो । जुन मुटुको लागि फाइदाजनक छ ।

चर्चामा

सम्बन्धित समाचार