शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • चाड-पर्व विशेष अफरमा नमस्ते भर्सेस एनसेल

चाड-पर्व विशेष अफरमा नमस्ते भर्सेस एनसेल

  • शनिबार, अशोज २३, २०७८
चाड-पर्व विशेष अफरमा नमस्ते भर्सेस एनसेल

हरेक वर्ष दशैं, तिहार तथा छठजस्ता पर्व लक्षित अफर ल्याउन नेपालका दुई ठूला दुरसञ्चार (टेलिकम्युनिकेशन) सेवा प्रदायक नेपाल टेलिकम र आजियाटाबीच प्रतिष्पर्धा हुने गरेको छ । नेपाल टेलिकमले नमस्ते र अजियाटाले एनसेल ब्राण्ड नाममा सेवा प्रदान गर्दै आएका छन् ।

यो वर्ष पनि यी दुई दुरसञ्चार सेवा प्रदायकले प्रतिस्पर्धी अफर ल्याएका छन् । सरकारी–सार्वजनिक स्वामित्वमा रहेको नेपाल टेलिकम र निजी दुरसञ्चार कम्पनी एनसेलले दशैं तिहारकै अवसरमा आ–आफ्ना ग्राहकमाझ भ्वाइस कल, इन्टरनेट तथा विविध दुरसञ्चार सेवामा छुट तथा बोनस अफर अघि सारेका हुन् ।

मुख्यतः यी दुई कम्पनी नै अहिले नेपाली टेलिकम्युनिकेशन क्षेत्रका प्रमुख प्रतिस्पर्धी हुन् । यी कम्पनीहरूबीच ग्राहकहरूमा प्रवाह गर्ने सेवा, छुट तथा विशेष अफरहरूमा पनि प्रतिष्पर्धा देखिन्छ । अहिलेको दशैं तिहारमा पनि यी दुई कम्पनीले अघि सारेका अफरहरू निकै प्रतिष्पर्धी देखिन्छ ।
नेपाल टेलिकमको अफर ः नेपाल टेलिकमले फेस्टिभ अफर अन्तर्गत असोज १९ गतेदेखि लागु हुने र कार्तिक २४ गतेसम्म कायम हुनेगरी डाटा र भ्वाइस प्याक तथा रिचार्जमा विभिन्न बोनस अफर गरेको छ ।
टेलिकमले डाटा प्याकअन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध गराएको हो ।

त्यसैगरी १ दिनभित्र प्रयोग गर्न सकिने १ एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ रुपैयाँमा उपलब्ध गराएको छ । भ्वाइस सेवा अन्तर्गत २५ रुपैयाँमा १ दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, ४० रुपैयाँमा ३ दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र ५०० रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने १,३०० मिनेटको प्याक उपलब्ध हुनेछ । यी प्याकहरू जुनसुकै समय प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

अफर प्राप्त हुने अवधिमा एसएमसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा एनटीसीले डाटा प्याक पनि उपलब्ध गराएको छ । २०० देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० रुपैयाँभन्दा बढी रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुने टेलिकमले जनाएको छ ।

एनसेलको अफर ः अन्तरराष्ट्रिय दुरसञ्चार कम्पनी आजियाटा लिमिटेड (एनसेल) ले पनि दशैंको अवसरमा आफ्ना ग्राहकहरूका लागि अन्तरराष्ट्रिय कलमा स्मार्टफोन उपहार योजना ल्याएको छ ।

यस योजना अन्तर्गत एनसेल प्रयोगकर्ताहरूले मलेसिया, युनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबमा रहेका आफ्ना परिवारजन, साथीभाइ र आफन्तहरूसँग बाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउनेछन् । असोज २१ गतेदेखि कार्तिक २४ गतेभित्र सबैभन्दा बढी कल गर्ने २१ जना व्यक्तिलाई कम्पनीले एक÷एक वटा स्मार्टफोन प्रदान गर्नेछ ।

साथै, विदेशमा रहेका आफन्तबाट रिचार्ज प्राप्त गर्नेमध्ये प्रतिहप्ता एक जनाले समेत स्मार्टफोन पाउने कम्पनीले जानकारी दिएको छ । कुल पाँच हप्ता सञ्चालन हुने यस योजनामार्फत ११० जना ग्राहकले स्मार्टफोन पाउनेछन् ।

चर्चामा

सम्बन्धित समाचार