बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • शिक्षा
  • कक्षा ६ मा पढ्दै ४७ वर्षीया आमा

कक्षा ६ मा पढ्दै ४७ वर्षीया आमा

  • शुक्रबार, अशोज २२, २०७८
कक्षा ६ मा पढ्दै ४७ वर्षीया आमा

रामेछाप — रामेछापको मन्थली नगरपालिका–८ जखनीटारकी ४७ वर्षीया हर्कमाया माझी आजभोलि पढाइमा निकै व्यस्त छिन्। बुढ्यौलीले छुँदा पनि पढाइको तिर्सनाले सताउन थालेपछि विद्यालय जान थालेकी छन्। घरको सबै काम सकेर स्कुल जान्छिन्।

पढ्ने इच्छालाई मार्न नसक्दा ४५ वर्षको उमेरमा विद्यालय भर्ना भएको हर्कमाया बताउँछिन्। एक वर्षअघि घर नजिकैको विद्या सदन कक्षा ४ मा भर्ना भएकी हर्कमायालाई सुरुका दिनमा धेरैले होच्याए पनि। ‘हातमा किताब बोकेर हिँड्न अप्ठ्यारो पनि लाग्यो तर सब कुरालाई पढाइप्रतिको इच्छाले हटाइदियो,’ उनले भनिन्। ४ सन्तानकी आमा हर्कमायाकी कान्छी छोरीले १२ कक्षा पास गरी बीएड पढ्दैछिन्। तर, २८ वर्षीया जेठो छोरा दिलसिंह माझीले ८ कक्षा पढेर छाडेकोमा उनलाई दुःख लागेको छ।

हर्कमाया जिल्लास्तर तथा गाउँस्तरका छलफल तथा बैठकहरूमा सहभागी भइरहन्छिन्। तर, कार्यक्रममा टाँगिएको ब्यानरको अक्षर पढ्न नआउँदा उनलाई खिन्न लागेपछि पढ्न सुरु गरेको बताउँछिन्। विद्यालयमा कक्षा १ मा भर्ना हुन जाँदा अप्ठ्यारो लागेपछि उनी केही दिन विद्यालयबाहिरै बसेर कखरालगायत कक्षा तीनसम्मका सामान्य कुराहरू सिकिन्। पढ्न सक्ने भएपछि मात्रै उनलाई विद्यालयले ४ कक्षामा भर्ना गरेको थियो।

हर्कमाया विद्यालय आउन थालेपछि विद्यालमा पढ्ने अन्य बालबालिकाहरू अचम्मित भए। पहिला त उनीहरूले पत्याएनन्। तर, आफू निरन्तर बिहान १० बजे नै हातमा किताब र कापी च्यापेर विद्यालय पुग्न थालेपछि उनीहरूले पत्याएको हर्कमाया बताउँछिन्। अहिले उनीसँग अन्य कलिला उमेरका बालबालिकाहरू रमाइरमाइ सँगै बसेर पढ्ने गरेका छन्। उनी विद्यालय जान थालेकोमा शिक्षकहरू पनि छक्क परे। तर, पछि त्यसलाई सबैले सहज रूपमा लिए।

आमा विद्यालयमा गएर पढ्न थालेपछि आफूहरूलाई पनि खुसी लागेको छोरा मानबहादुर माझी बताउँछन्। २३ वर्षीय मानबहादुर एसएलसी उत्तीर्ण गरेका छन्। बुढेसकालमा विद्यालय गएर पढ्दाको रमाइलो व्याख्या नै गर्न नसकिने खालको भएको हर्कमाया बताउँछिन्। उनी अहिले कक्षा ३ मा पढ्ने ७ वर्षीय नातिसँगै स्कुल जान्छिन्।

अहिले कक्षा ६ मा पढ्दै गरेकी हर्कमाया सँगै पढ्ने नानीहरूले आफू स्कुल नगएको दिन ‘आज बज्यै स्कुल आउँदैन हो ?’ भनेर खोज्ने गरेको हर्कमाया बताउँछिन्। उनले भनिन्, ‘कोरोनाका कारण बन्द भएका विद्यालय खुल्ने बित्तिकै म नियमित पढ्न जान्छु।’ ४ वटै छोराछोरीलाई पढ्न विद्यालय पठाए पनि एउटा छोरा र एउटी छोरीले भने राम्रोसँग नपढेको उनलाई गुनासो छ।अन्नपुर्ण पाेष्टबाट साबार ।

चर्चामा

सम्बन्धित समाचार