सोमवार, कार्तिक ८, २०७८
  • होमपेज
  • समाचार
  • अदालतको गेटमै व्यवसायीमाथि खुकुरी प्रहार

अदालतको गेटमै व्यवसायीमाथि खुकुरी प्रहार

  • आइतवार, अशोज १०, २०७८
अदालतको गेटमै व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर — उच्च अदालत विराटनगरको गेटमै दिनदहाडै एक जना युवा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ। काभ्रे घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका-८ मा बस्दै आएका युवा व्यवसायी ३२ वर्षीय कलामसिंह लामामाथि आइतबार अपरान्ह १२ बजेतिर खुकुरी हानिएको हो। उनी आइतबार बिहान मात्रै विराटनगर आइपुगेका हुन्।

मोरङको कटहरी गाउँपालिका-६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लामाको लगानी छ। उनको काठमाडौंमा सहकारी पनि रहेको बताइएको छ।

विराटनगरस्थित वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको ल-फर्मबाट निस्किएर उच्च अदालतको गेट अगाडि पुगेपछि लामामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार खुकुरी प्रहारबाट लामाको हात, पेट लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। अवस्था खतरामुक्त रहेका उनको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको श्रेष्ठले बताए। खुकुरी प्रहार हुँदा लामासँग उनका साथी मोरङको कटहरी-६ का ४१ वर्षीय सुवास सरदार पनि सँगै थिए। घटना छुट्याउँदा उनको पनि शरीर र कपडा भरी रगत लागेको छ।

‘अदालतनजिक कुदेर आएका दुई युवामध्ये एक जनाले लामामाथि खुकुरी हान्न थाले,’ घटनाका प्रत्यक्षदर्शीसमेत रहेका सरदारले भने, ‘छुट्याउँदा रगत लागे पनि मलाई चैँ चोटपटक भने लागेन।’ उनका अनुसार मोरङको कटहरीमा रहेको इँटा उद्योगमा लामाले दुई वर्षअघिदेखि लगानी गरेका थिए।

त्यसअघि उद्योग मोरङको नोचाका मोहम्मद साजितको रहेको पाइएको प्रहरीले जनाएको छ। उद्योगमा साजित र उनकी श्रीमतीको ५०/५० प्रतिशत शेयर थियो। साजितले श्रीमतीको नाममा रहेको ५० प्रतिशत शेयर लामालाई बेचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

साजित र लामाको आधाआधा शेयर रहेको उद्योग नै पछि ५ वर्षका लागि लामालाई लिजमा दिएको पाइएको छ। त्यसवापत उनलाई लामाले वार्षिक ५० हजार थान इँटा दिने सर्तनामा थियो। तर पछिल्लो समय साजितले उद्योगबाट लामालाई निकाल्न र लामाको नाममा रहेको शेयर हडप्न विभिन्न खेल खेलिरहेको पाइएको प्रहरीको भनाइ छ। यही विषयले दुई जनाबीच विवाद बढेको थियो। यो विवाद यसअघि नै प्रहरीसम्म पुगिसकेको बताइएको छ।

इँटा उद्योगसँग सम्बन्धित कामले विराटनगर आएका बेला पुरानो विवादलाई लिएर लामामाथि खुकुरी प्रहार भएको अनुमान प्रहरीले गरेको छ। घटनामा साजितको योजना वा संलग्नता छ कि छैनभन्ने बारेमा खुल्न बाँकी रहेको डीएसपी श्रेष्ठले बताए। तर साजित अहिले सम्पर्कविहीन बनेको प्रहरीले जनाएको छ। लामामाथि खुकुरी हान्ने विराटनगर महानगरपालिका-११ का २७ वर्षीय विमल कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

घटनामा प्रयोग भएको खुकुरीसहित भाग्दै गर्दा कार्कीलाई विराटनगरको कोसी अस्पतालनजिकबाट पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार घटनामा संलग्न भनिएका अर्का एक युवा फरार छन्। पहिचान खुल्न बाँकी रहेका ती युवाको खोजी तीव्र पारिएको श्रेष्ठको भनाइ छ।

चर्चामा

सम्बन्धित समाचार