मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • पुसबाट बालबालिकालाई खोप लगाउने तयारी

पुसबाट बालबालिकालाई खोप लगाउने तयारी

  • बुधबार, अशोज ६, २०७८
पुसबाट बालबालिकालाई खोप लगाउने तयारी

काठमाडौं : आगामी पुसबाट बालबालिकालाई कोरोनाविरुद्ध खोप लगाउने तयारी थालिएको छ । त्यसका लागि सरकार अन्तिम तयारीमा छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकालाई आगामी पुसदेखि कोरोनाविरुद्ध खोप दिन सुरु गरिने तयारी भइरहेको बताए । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बुधबार बसेको बैठकमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि एक करोड मात्रा खोप आउने प्रक्रियामा रहेको जानकारी दिए।

उनले भने,‘गाभिमार्फत् ४० लाख मात्रा मोर्डना खोप ल्याउन प्रक्रिया टुंगिसकेको छ । फाइजरको ६० लाख मात्रा खोप सन्दर्भमा प्रक्रिया अन्तिम स्टेजमा पुगेको छ । डिसेम्बर वा जनवरिबाट खोप लगाइन्छ ।’ यसअघि औषधि व्यवस्था विभागले फाइजर खोप आयातका लागि अनुमति दिइसकेको छ । हालसम्म नेपालमा कोभिसील्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एष्ट्राजेनेकाले आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेका छन् ।

हालसम्म नेपालले १ करोड ७७ लाख मात्रा खोप नेपालले प्राप्त गरेको बताए । अमेरिकी फर्मा कम्पनी फाइजरले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप ५ देखि ११ वर्षको बालबालिकामा प्रयोगका लागि सुरक्षित रहेको बताइएको छ । सो उमेर समूहका बालबालिकामा पनि पर्याप्त मात्रामा एन्टिबडी उत्पादन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हालसम्म देशभर १८ प्रतिशत नागरिकले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ५६ लाख २८ हजार नागरिकले कोरोनाविरुद्ध पूर्णखोप लगाएका छन् । यस्तै, ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप प्रभावकारी रहेको बताइएको छ । लामो परीक्षणपछि खोप उत्पादन कम्पनीले विज्ञप्ती जारी गर्दै सो उमेर समूहका लागि फाइजर प्रभावकारी रहेको बताएको हो ।

कम्पनीले ५ देखि ११ वर्ष उमेर समूहका करिब २ हजार २६८ बालबालिकामा क्लिनिकल परिक्षण गरेको थियो । परीक्षणको क्रममा १० माइक्रोग्रामको दुईवटा भिन्दाभिन्दै फाइजर खोपको डोज दिएको थियो ।

परीक्षणपछि कम्पनीले सो उमेर समूहका लागि फाइजर खोप प्रभावकारी रहेको निश्कर्ष निकालेको थियो । सो उमेर समूहका लागि खोप निर्माता कम्पनीले चाँडै स्वीकृति दिने जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार