बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • चार वर्षदेखि बाजुराकाे साफेँ मार्तडी सडक बर्खामा ठप्प

चार वर्षदेखि बाजुराकाे साफेँ मार्तडी सडक बर्खामा ठप्प

  • बुधबार, साउन ६, २०७८
चार वर्षदेखि बाजुराकाे साफेँ मार्तडी सडक बर्खामा ठप्प

पदम बहादुर सिहं — बाजुरा जिल्ला सदरमुकाम जोड्ने मुख्य सडक चार वर्षदेखि हरेक बर्खामा बन्द हुने गरेको छ। यसपटक पनि असार १ गते भएको वर्षासँगै सडक अवरुद्ध छ। त्रिवेणी नगरपालिका–९ पैमामा भीरबाट पहिरो आउने र तलतिर बूढीगंगा नदीले सडक बगाएपछि सडक अवरुद्ध हुँदै आएको हो। पहिरोले, बूढीगंगा नगरपालिकाको बल्देबाट बडिमालिका नगरपालिकाको सिमाना हरडे खोलासम्म सडक भत्किएको छ।

बर्खाका बेला सडक भत्किएपछि सदरमुकामा मार्तडीसँग बाजुरा जिल्ला सदरमुकाम र धेरै स्थानीय तहसँगको सम्बन्ध टुटेको छ। ‘चार वर्षदेखि सडक सञ्चालनका लागि कुनै ठोस पहल भएको छैन। बर्खाका चार महिना सडक पूरै अवरुद्ध हुने गरेको छ’, बूढीगंगा नगरपालिकाका २ का वडाध्यक्ष हीरालाल थापा भन्छन्।
अछामको साँफेबगरबाट मार्तडीसम्म २२ वर्ष लगाएर ट्र्याक खुलेको थियो। त्यो सडक चार वर्षअघि मात्रै कालोपत्रे भएको हो। ‘गत आर्थिक वर्षमा त्यो सडक हामीलाई हस्तान्तरण भइसकेको छ। पहिरोले सारै दुःख दियो’, सडक डिभिजन कार्यालयका इन्जिनियर दमन बिष्ट भन्छन्, ‘सडक बनाउने कुनै आधार छैन। माथिबाट पहिरो आएको छ। तलबाट नदीले सडक कटान गरिसकेको छ। त्यस क्षेत्रको पहिरो पन्छाउन दुईवटा डोजर तैनाथ राखिएका छन्।’

मुख्य सडक अवरुद्ध भएपछि अहिले पहिरो गएको ठाउँसम्म मात्रै सवारी साधन जाने गरेका छन। भाँसिएको तीन किलोमिटरमा यात्रु हिँडेर अर्कोतिरको गाडीसम्म जाने गरेका छन्। दैनिक उपभोग्य सामान बोकेर अर्कोतिरको गाडीसम्म पुर्‍याउने गरिएको छ।
‘चार वर्षदेखि हरेक बर्खामा सडक अवरुद्ध हुने गरेको छ। स्थानीय तहको बजेटले भ्याउँदैन, प्रदेश र संघ सरकारले चासो लिएको छैन, बाजुराका बासिन्दा दुःखमा छन्,’ मार्तडी हाटबजार ब्यबस्थापन समितिका अध्यक्ष चक्र मल्ल भन्छन्।

बर्खामा अकासिन्छ मूल्य
सडक अवरुद्ध भएका कारण मार्तडी कोल्टीसहितका बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ। ताप्रीसेराबाट भरिया र खच्चरबाट सामान ढुवानी गर्नुपर्ने भएकाले उपभोग्य सामानको मूल्य अकासिएको हो। ‘किलोको १० रुपैयाँ महँगोमा ढुवानी गर्नुपरेको छ, त्यसैले मूल्यवृद्धि भएको छ,’ व्यापारी हंसबहादुर सिंह भन्छन्, ‘चामल मौज्दात थियो, त्यही बिक्री गरिरहेका छौं। अरू सामान सबै सकियो, सडक खुलाउन पहल नगरे अभै मूल्यवृद्धि हुनेछ।’

बिरामी समस्यामा
सडक अवरुद्ध भएपछि सर्वसाधारणले हिँडेर तीन किलोमिटर सडक पार गर्ने गरे पनि बिरामीलाई समस्या भएको छ। बिरामीका आफन्तले दुई÷दुईवटा एम्बुलेन्सको व्यवस्था गर्नुपरिरहेको छ। बाजुराको जिल्ला अस्पताल र कोल्टी अस्पतालले रेफर गरेका बिरामीलाई बाहिर लैजान साह्रै समस्या भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. प्रकाश जोशी बताउँछन्। ‘बिरामीका आफन्त समस्यामा छन, रेफर गरे पनि ठूला अस्पतालसम्म लैजान समस्या छ’, डा. जोशी भन्छन्, ‘अझ जिल्ला अस्पताललाई चाहिने औषधि ढुवानीमा समस्या आएको छ। आधा बाटोमा गोदाम भाडामा लिएर औषधि भन्डारण गर्नु परेको छ।’
वैकल्पिक मार्ग बनाउन पहल

राजमार्ग अवरुद्ध हुने गरे पनि त्यसको वैकल्पिक मार्गबारे अझै टुंगो लागेको छैन। साविकको स्थानमा सडक बन्ने सम्भावना एकदमै न्यून छ। ‘माथिबाट ठूलो पहिरो आउने गरेको छ। तलतिर नदी बगिरहेको छ। त्यती बेला छोटो र कम खर्चिलो हुन्छ भनेर नदीको छेउछेउ सडक बनाइयो, अहिले बगेपछि बैकल्पिक मार्ग बनाउनुपर्छ’ नागरिक समाज बाजुराका अध्यक्ष मदनराज जैशी भन्छन्, ‘तर, त्यसका लागि पनि खासै पहल भएको छैन।’

गत वर्ष राजनीतिक नेतृत्वकाबीच भर्चुअल बैठकहरू पनि भए तर सडक अवरुद्ध हुँदासम्म कतैबाट पहल भने नभएको जैसीको भनाइ छ।
बडिमालिका नगरपालिकाका मेयर पदम बढुुवाल बर्खाका बेला सडक अवरुद्ध हुँदा जनताले दुःख पाइरहेको बताउँछन्। ‘यसमा संघीय सरकारको बढी चासो हुनुपर्छ, त्यो सडकको रेखांकन नै परिवर्तन गर्नुपर्छ,’ बढुवाल भन्छन्।

सडक डिभिजन कार्यालय साँफेबगरले भने त्यस सडकको विकल्पका धुरालसेन–डुुग्री हुँदै तिपाडा जोड्नको लागि डीपीआर बनाएर संघीय मन्त्रालयमा पठाएको जनाएको छ। डिभिजन कार्यालयका इन्जिनियर बिष्ट बैकल्पिक सडक बनाउनका लागि संघीय भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भइरहेको बताउँछन्।

‘अहिले भत्किएको सडकको पहिलो विकल्प धुरालसेन–डुग्री–तिपाडा हो तर त्यो ठाउँ पनि पूर्णरूपमा सुरक्षित छैन। त्यहाँ सर्वसाधारणको जग्गा घर पर्छन्, पछि मुआब्जाका कुराहरू उठ्छन्, बस्ती नै जोखिममा पारेर बैकल्पिक मार्ग बनाउनुपर्ने देखिन्छ’ इन्जिनियर विष्टले भने।
उनले अर्को बिकल्पका रूपमा रहेको बल्दे–आँटिचौर–मैतोला भौनेर हुँदै मार्तडी भएको बताए । ‘त्यसका लागि पनि भौनेरामा पुल वा बेलिब्रीज आवश्यक हुन्छ। त्यहाँ पनि बल्दे, अम्कोट, द्वारी र मलाती क्षेत्रको दुई किलोमिटर सडक पहिरोले भासिएको छ,’ उनले भने।

सडक डिभिजनले नयाँ रेखांकनको डिपिआर बनाए पनि पुरानो सडकलाई दिगो बनाउन विज्ञ टोली आएर फर्केको तर त्यसको रिपोर्ट भने आई नसकेको इन्जिनियर बिष्टले बताए। साँफे मार्तडी ५७ किलोमिटर सडक निर्माणमा नेपाल सरकारको झण्डै पौनै २ अर्ब बजेट खर्च भइसकेको सडक डिभिजन कार्यालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार