आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • फेसबुकबाटै केपी ओलीलाई घनश्याम भुसालको स्पष्टीकरण

फेसबुकबाटै केपी ओलीलाई घनश्याम भुसालको स्पष्टीकरण

संविधान र राजनीतिका लागि मबाट संसदीय मर्यादा उल्लङ्घन भयो : भुसाल

  • शनिबार, जेष्ठ १५, २०७८
फेसबुकबाटै केपी ओलीलाई घनश्याम भुसालको स्पष्टीकरण

एमाले नेता घनश्याम भुसालले फेसबुकबाटै प्रधानमन्त्री समेत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण दिएका छन् । एमाले स्थायी कमिटी बैठकले उनीसहित १२ नेतालाई स्पष्टीकरण सोधेपछि उनले फेसबुकबाटै स्पष्टीकरण दिएका हुन् ।

स्पष्टीकरणमा उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले संसदीय मर्यादा उलंघन गरेको स्वीकार गरेका छन् । तर संविधान र राजनीतिका लागि आफूले उल्लङ्घनको विकल्प रोज्नु परेको उनको भनाइ छ ।

‘अहिले नेकपा एमालेका केहि सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ । एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु’, उनको स्पष्टीकरणमा भनिएको छ, ‘तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्घनको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ । मेरो निर्णय लोकतान्त्रिक स्थिरताका साथ बाँच्न चाहाने नेपालको आकाङ्क्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ ।’

मेरो स्पष्टीकरण
म दैनन्दिन सूचनाको खोजीमा खासै चासो राख्दिन । दलाल पुँजीवादले हाम्रो संविधानमाथि आक्रमण गरिरहने छ भन्ने मेरो अर्थराजनीतिक र भूराजनीतिक बुझाईबारे बोल्दै–लेख्दै आएको छु । एकजना कमरेडले करिब दुई वर्षदेखि हाम्रो भूराजनीति र यो लोकतान्त्रिक गणतन्त्रमाथि आइलाग्ने खतराबारे भन्दै आउनु भएको छ । त्यस्तो विश्लेषण केहि भारतीय संस्थापन नजिकका मिडियामा पनि देखिएकै हो । तर पोहोर सालको बैसाख ८ मा दल विभाजनसम्बन्धी अध्यादेश आएको भोली वा पर्सीपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले भनेको कुरा अझ स्पष्ट थियो जुन कुरा मैले धेरै साथीहरुलार्ई बताएको छु । उनले भनेका थिए ः नेकपाको विवाद समाधान हुँदैन । अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईँहरुलाई विभाजित गरिनेछ । संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ । संविधानले काम गर्दैन । त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ । नयाँ खिलराजहरुको अभ्यास हुनेछ । त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने छ ।

घटनाहरु जस्ताको त्यस्तै अगाडि बढ्दै छन् । अहिले नेकपा एमालेका केहि सांसदहले शेरबहादुर देउवालार्ई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ । एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्नको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ । मेरो निर्णय लोकतान्त्रिक स्थिरताका साथ बाँच्न चाहाने नेपालको आकाङ्क्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ ।
गणतन्त्र दिवसका उपलक्ष्यमा सबैलाई शुभकामना ।

चर्चामा

सम्बन्धित समाचार