शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • दासढुङ्गा घटना एमालेका नेताले कमाइ खाने भाँडो बनाए !

दासढुङ्गा घटना एमालेका नेताले कमाइ खाने भाँडो बनाए !

  • सोमवार, जेष्ठ ३, २०७८
दासढुङ्गा घटना एमालेका नेताले कमाइ खाने भाँडो बनाए !

यमराज तिमिल्सिना —वि. सं. २०५० साल जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र कुशल सङ्गठक जीवराज अाश्रित चितवनको दासढुङ्गामा जिप दुर्घटनामा परि मृत्यु हुन पुग्यो । सो दुर्घटनामा जीव चालक अमर लामा सकुशल रहनु, भण्डारी र आश्रीतको मृत्यु हुँनाले रहस्यमय घटना भन्दै शङ्का उपशङ्का गर्न सकिने ठाउँ बन्यो । जुन आजसम्म पनि जारी नै छ ।
भण्डारी र आश्रितको रहस्यमय हत्या पछि एमालेले देशैभर आन्दोलन गर्‍यो । काङ्ग्रेस नेतृत्वको सरकारले पूर्व प्रधानन्यायधीश प्रचण्डराज अनिलको नेतृत्वमा छानविन आयोग बनायो । सो आयोगले हत्या र दुर्घटना केही पनि किटान गर्न सकेन । तर पनि एमालेको आन्दोलन रोकिएन । त्यस पछि फेरी बहालवाला न्यायधीश त्रिलोक प्रताप राणाको नेतृत्वमा अर्को आयोग गठन गर्‍यो । यसले पनि हत्या हो भनेर एकीन निष्कर्ष दिन सकेन । फेरि स्वस्फूर्त रूपमा पद्मरत्न तुलाधरको नेतृत्वमा अर्को आयोग बनाईयो र त्यसले भण्डारी/आश्रीत दुर्घटना नभई षड्यन्त्रमुलक हत्या भएको प्रतिवेदन सार्वजनिक गर्‍यो । अझ पार्टीको तर्फबाट एमालेले केपी ओलीको नेतृत्वमा आयोग बनायो । ओली नेतृत्वको आयोगले अहिलेसम्म कुनै पनि कुरा सार्वजनिक गरेको छैन । बरू मदन भण्डारीको हत्यापछि बढेको सहानुभुतिको प्रभावकै कारण एमाले सरकारमा जान सक्ने गरी निर्वाचन जीत्न सफल पनि भयो । सोही बखत एमालेको सरकार पनि बन्यो ! कार्यकर्ता र जनताले दबाब दिए । बिडम्बना आफ्नै सरकार हुदाँ पनि एमाले नेतृत्वको सरकारले भण्डारी हत्याको छानविन र अनुसन्धान गर्न सकेन । आफूसँग पूर्ण बहुमत नभएको, समय नपुगेको, छोटो समय भएको भनेर टारिरह्यो । २०७४ को चुनावमा लगभग दुई तिहाई सिट प्राप्त गरेपनि चुपचाप बसेको छ अत्तोपत्तो छैन । भनौ एमालेले भनेजस्तो सिट र समय अहिलेसम्म पनि पुगेको छैन ।
साहेत अहिले पनि सरकार प्रमुख ओली र राष्ट्र प्रमुख विद्या भण्डारी नहुँदा हुन् त एमालेका भ्रातृसंगठन दासढुङ्गा काण्ड छानविन गर भन्दै नाराजुलुस गर्थे होलान् । सत्ता बाहिर हुँदा यहि कुरालाई बारम्बार दोहोर्‍याइ रहन्थे । संभवत यसपछि सत्ता बाहिर हुँदा राजनीतिका नाममा राजनीति गर्न ‘दाशढुङ्गा घटना छानबिन गर’ भनेर सडकमा ओर्लिनुको कुनै तुक हुनेछैन । आफै सत्ता र शक्तिमा हुँदा कार्यकर्ता र जनताको शङ्का निवारण गर्न नचाहनेले फेरि सोही भ्रम छरिरहे भने पनि जनताले पत्याउनेवाला छैनन् ।
सुशील कोइराला प्रधानमन्त्री भएको बेला ‘मेरो बुबाको हत्यारा पत्ता लगाईदिनुस्’ भनेर सार्बजनिक भाषणमा डाको छोडेर रुने मदन भण्डारीका छोरीरू आफ्नै आमा एवम् भण्डारीकी पत्नी राष्ट्रपति र आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री भएको बेला ‘मेरो बुबाको हत्यारा पत्ता लगाइदिनु होस्’ भनेर किन प्रश्न गर्न सक्दैनन्/ सकेनन् ? यो प्रश्न भण्डारीको हरेक सम्झनामा उठिरहनेछ । किनभने सत्यतथ्य रूपमा छानबिन गर्न अहिले जस्तो सहज वातावरण बन्ने परिस्थिति कहिल्यै नआउन पनि सक्छ ।
अर्कोतिर नेकपा एमालेको बहुमतको सरकार बनेपछि वा आफूहरु सरकारमा पुगेपछि हत्यारा पत्ता लाग्छ भनेर त्यतिखेर बयानबाजी गर्ने र मदनभण्डारीको हत्या सम्बन्धि पार्टीबाट छानविन गर्न बनेको आयोगका प्रमुख केपी शर्मा ओली मदन भण्डारी र जीवराजको हत्याको करीब डेढ बर्ष पछि देशका गृहमन्त्री भए पछि उपप्रधानमन्त्री भए र दुई पटक प्रधानमन्त्री भइसकेका छन् । सरकारले भण्डारी/आश्रीतको हत्यारा पत्ता लगाउन सकेन भनेर काङ्ग्रेस सरकारका बिरूद्ध संसद अवरुद्ध देखि सडक आन्दोलन गरेर ‘हत्यारा पत्ता लगा’ भनेका नेताकार्यकर्ताहरू आफै सरकार प्रमुख र राष्ट्र प्रमुख भएर आएपछि पनि मौन रहनु आश्चर्यको विषय बनेको छ ।
मदन भण्डारीको निधन पछि नेकपा एमाले २०५१, २०५४, २०५७, २०६३, २०६६, २०६८, २०७०, २०७२, २०७३ र २०७४ देखि
हालसम्म लगातार सरकारमा सहभागी हुँदै र नेतृत्व गर्दै आइरहेकोछ । तीन वर्षदेखि त एकछत्र बहुमतको सत्ता चलाइसकेको पनि छ । पार्टीमा किचलो बढ्दा जनताको बहुदलीय जनवाद (जबज) लिन होडबाजी गर्ने नेताकार्यकर्ताहरू सर्वेसर्वा आफ्नै नेता हुँदाको बखतमा पनि हत्यारा पत्ता लगाउ भनेर सडकमा आउन नसक्नु दु:खद पक्ष हो । तत्कालीन छानबिन आयोगको प्रमुख, वर्तमान पार्टी अध्यक्ष एवम् सरकार प्रमुख केपि ओली र भण्डारीकि धर्मपत्नी एवम् राष्ट्र प्रमुख विद्या भण्डारी भएको बेला छानबिन नहुनुले थुप्रै आशङ्का पैदा हुने गरेको छ । त्यसैले एमालेले भण्डारीको निधनलाई हत्याको विषय बनाई कमाइ खाने भाँडो मात्रै बनाएको छ भन्दा अत्युक्ति नहोला । एमालेकै मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलकनाथ खनाल, केपि शर्मा ओली प्रधानमन्त्री भए तर भण्डारी/आश्रीत हत्याको घटनामा वास्ता राखेनन् चुपचाप रहे । जब एमाले कम्जोर हुन्छ तब भण्डारीको हत्याको प्रसङ्ग जोडेर मदनको नाममा राजनीति गर्दछ । पटकपटक एमालेका नेता र प्रचण्डले समेत भण्डारीको हत्यारा पत्ता लगाएरै छोड्छौं भनेका पनि थिए । तर कसैले पनि आफू भर्‍याङ चढेपछी भूइमै छोडेर गए वास्ता गरेनन् ।
नेपालमा कम्युनिस्ट व्यवस्था नेपाली माटो सुहाउँदो छैन र त्यो व्यवस्था नेपालमा टिक्न सक्दैन भन्ने बुझेरै नेपाली माटो सुहाउँदो जनताको बहुदलीय जनवाद (जबज) को नवीन प्रयोग गरेर अर्थात कम्युनिस्ट प्रणालीलाई लोकतान्त्रिकरण गर्दै मार्क्सवादलाई नवीनता दिई नेपाली कम्युनिस्ट आन्दोलनलाई जीवन्तता दिनुभएका जननेता मदन भण्डारी र कुशल सङ्गठक जिवराज आश्रितप्रति हार्दिक श्रद्धा सुमन !

चर्चामा

सम्बन्धित समाचार