शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ६
  • कर्णालीमा एमाले ढुक्क

कर्णालीमा एमाले ढुक्क

  • बिहिबार, बैशाख २, २०७८
कर्णालीमा एमाले ढुक्क

काठमाडौं– केन्द्रमा राजनीतिक हलचल पैदा भएसँगै प्रदेश सरकारहरू हल्लिन थालेका छन् । गण्डकी र लुम्बिनी प्रदेशमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी भइरहँदा कर्णाली प्रदेशमा एमाले ढुक्क देखिएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार विश्वासको मत लिने तयारी गरिरहँदा एमाले नयाँ सरकार गठनको गृहकार्य अघि बढाएको छ । प्रदेश प्रमुख गोविन्दबहादुर कलौनीले शुक्रबार नै कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गरेका छन् ।

गत चैत ५ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरेको थियो । एमालेका मन्त्रीहरू सरकारबाट बाहिरिएका थिए । केन्द्रमा चर्को विवाद भएर समानान्तर गतिविधितिर अघि बढे पनि कर्णाली प्रदेश संसदीय दलमा भने एमाले एक भएको थियो ।

बिहीबार नयाँ सरकार गठनका लागि माओवादी केन्द्रबाहेकका राजनीतिक दलसँग छलफल गर्ने एमालेका मुख्य सचेतक गुलाबजंग शाहले जानकारी दिए ।

“एमालेको नेतृत्वमा सरकार बन्नेमा हामी ढुक्क छौँ । सकेसम्म सबैलाई मिलाएर लैजाने कोसिस गरिरहेका छौँ,” उनले बाह्रखरीसँग भने, “आज दुई बजेपछि नयाँ सिनेरियो आउला ।”

कर्णाली प्रदेश सभामा एमालेको सभामुखसहित २० मत रहेको छ । माओवादी केन्द्रको १३ मत रहेको थियो । धर्मराज रेग्मी एमालेतिर लागेकाले पार्टीले दल त्यागको जानकारी गराइसकेकाले ऊसँग १२ मत रहेको छ । कांग्रेसका ६ जना सांसद छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १ मत रहेको छ ।

एमाले र इतरपक्षसँग १९, १९ मत रहेकाले सभामुख निर्णायक हुँदा आफ्नो सरकार बन्नेमा ढुक्क रहेको शाह बताउँछन् । यद्यपि, राप्रपा अहिलेसम्म इतरसमूहमा नखुलेकाले एमालेलाई सहयोग गर्ने शाहको भनाइ छ । #बाह्रखरी

चर्चामा

सम्बन्धित समाचार