शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश ६
  • कर्णाली प्रदेशसभा सदस्य रेग्मीलाई कारबाहीको सिफारिस

कर्णाली प्रदेशसभा सदस्य रेग्मीलाई कारबाहीको सिफारिस

  • मङ्लबार, चैत्र १०, २०७७
कर्णाली प्रदेशसभा सदस्य रेग्मीलाई कारबाहीको सिफारिस

सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई कारबाहीको लागि सिफारिस गरिएको छ । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशसभा संसदीय दलले सांसद् रेग्मीलाई कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।

संसदीय दलका प्रमुख सचेतक सीता नेपालीका अनुसार माओवादी केन्द्रबाट निर्वाचित भएपनि उनी गत शुक्रबार बसेको प्रदेश संसदीय दलको बैठकमा उपस्थित भएनन् । ‘सर्वोच्च अदालतले माओवादी केन्द्र र एमाले ब्युँताइदिएपछि पार्टीको बैठकमा सहभागी नभएकाले उहाँलाई कारबाही गर्न सिफारिस गरिएको हो,’ नेपालीले भनिन् ।

सांसद रेग्मी एमालेको (ओलीपक्ष) को केन्द्रीय सदस्य तथा प्रदेश सचिवमा मनोनित भएका थिए । सांसद रेग्मीले आफु कुनै पनि हालतमा एमाले नछोड्ने अभिव्यक्ति दिँदै आएका छन् । यतिमात्र हैन, रेग्मी आफ्नो सांसद पद नै गएपनि कुनै फरक नपर्ने बताउँछन् । ‘मैले मेरा जनतालाई सोधेर नै यस्तो निर्णय गरेको हुँ । यदी मेरो सांसद पद नै गएपनि जनताको पक्षमा बोल्ने मेरो मुखलाई कसैले रोक्न सक्दैन,’ एक कार्यक्रममा उनले भनेका थिए ।

कर्णालीका मन्त्रीहरुले भ्रष्टाचार गरेको फाइल आफूसँग भएकाले सुर्खेतको पिपल चौतारामा गएर जनतालाई जानकारी गराउने उनले उद्घोष गरेका छन् । उनी दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद हुन् ।

उनी माओवादी केन्द्रबाटै निर्वाचित भएपनि उनी शुरुवातदेखि नै प्रदेश सरकारका मुख्यमन्त्रीको विरुद्धमा लाग्दै आएका थिए । उनले प्रदेश सरकारले गरेका हरेक गतिविधिमा विरोध जनाउने काम गर्थे । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव तयार गर्ने प्रधानमन्त्री केपी ओली पक्षका सांसद यामलाल कँडेल निकट बनेका थिए ।

चर्चामा

सम्बन्धित समाचार