शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • सुदूरपश्चिममा १९५९ बेपत्ता महिला र बालबालिका मध्ये ८३ प्रतिशतको अवस्था अज्ञात

सुदूरपश्चिममा १९५९ बेपत्ता महिला र बालबालिका मध्ये ८३ प्रतिशतको अवस्था अज्ञात

  • शनिबार, माघ ३, २०७७
सुदूरपश्चिममा १९५९ बेपत्ता महिला र बालबालिका मध्ये ८३ प्रतिशतको अवस्था अज्ञात

धनगढी — सुदूरपश्चिम प्रदेशमा बितेको साढे ३ वर्षको अवधीमा झण्डै २ हजार जना महिला र बालबालिका बेपत्ता भएको पाइएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलकाअनुसार आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म १ हजार ९ सय ५९ महिला तथा बालबालिका बेपत्ता भएको सूचीमा छन।

प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी निरीक्षक दिपक पातलीले आर्थिक वर्ष २०७५/७६मा सबैभन्दा धेरै ८ सय ६२ जना महिला तथा बालबालिका बेपत्ता भएको बताए। जसमा महिलाको संख्या मात्र ५ सय ४५ रहेको छ भने १ सय ८६ बालिका र १ सय ३१ बालक छन।

बेपत्ता भएका मध्ये १ सय २२ जना फेला परेपनि अन्यको अवस्था अझै अज्ञात नै रहेको प्रहरीले जनाएको छ। यस्तै आर्थिक वर्ष २०७६/७७ मा ७ सय १४ जना बेपत्ता भएकोमा४ सय ७६ महिला, १ सय ३० बालिक र १ सय ८ बालक रहेका छन। उनीहरुमध्ये १ सय ५५ जना मात्रै फेला परेको प्रहरीको तथ्यांक छ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधीमा मात्र प्रदेशभर ३ सय ८३ जना बेपत्ता भएका छन। जसमा महिला २ सय ७९, बालिका ६५ र बालक ३९ छन।

यसरी हेर्दा आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म बेपत्ता भएका झण्डै २ हजार जनामा ३ सय ४० जना फेला परेपनि अन्यको अवस्था अज्ञात रहेको प्रहरी निरीक्षक पातलीले बताए। जुन १७ प्रतिशत हो भने थप करिब ८३ प्रतिशतको अवस्थाबारे पत्ता नलागेको हो।

तर कतिपय व्यक्तिहरु परिवारको सम्पर्कमा पनि आइसकेको हुने भएपनि प्रहरीकहाँ जानकारी प्राप्त नभएको पनि हुनसक्ने उनले बताए।

भौगौलिक र जनसंख्याका दृष्टिकोणले ९ वटा जिल्ला मध्ये सबैभन्दा ठुला रहेको कैलालीमा पनि ८ सय ५९ जना महिला र बालबालिका अझै हराएको सूचीमा रहेका छन्।

आर्थिक वर्ष २०७५/७६ मा ३ सय ९६, आर्थिक वर्ष ३ सय १९ र चालु वर्षको हालसम्म १ सय ४४ जना हराएको प्रहरीले जनाएको छ।

आर्थिक वर्ष २०७५/७६ मा बेपत्ता भएका मध्ये ४४ जना, आर्थिक वर्ष २०७६/७७ मा ४१ जना र चालु वर्षमा २४ जना मात्र फेला परेको जिल्ला प्रहरी कार्यालयको महिला तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रहरी निरिक्षक लक्ष्मी राज जोशीले बताए।

प्रविधिको गलत प्रयोग, कम उमेरमा विवाह गर्ने इच्छा, आर्थिक अभाव, मानव बेचबिखनमा पर्नु, विभिन्न प्रलोभन लगायतका कारण सुदूरपश्चिममा महिला तथा बालबालिका बेपत्ता हुने क्रम बृद्धि हुदै गएको प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी निरिक्षक दिपक पातली बताउँछन्।

प्रहरीले हराएको जानकारी पाउने बितिकै खोजी कार्य गर्ने गरेकोे वताएको छ भने हराएका फेला परेकाहरुलाई आफन्तको जिम्मा लगाउने र शंकास्पद देखिएमा अनुसन्धान गरि आवश्यक कारवाही अघि बढाउने गरिएको जनाएको छ। दिनेश खवरबा

चर्चामा

सम्बन्धित समाचार