मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • राजनीति
  • सत्ता समिकरणमा सुदूरपश्चिमका प्रदेश सांसद पर्ख र हेरको अवस्थामा

सत्ता समिकरणमा सुदूरपश्चिमका प्रदेश सांसद पर्ख र हेरको अवस्थामा

  • बिहिबार, माघ १, २०७७
सत्ता समिकरणमा सुदूरपश्चिमका प्रदेश सांसद पर्ख र हेरको अवस्थामा

धनगढी — सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरु सत्ता समिकरणको जोड घटाउमा पर्ख र हेरको अवस्थामा रहेका छन। प्रतिनिधिसभा विघटन भएपछि विभाजित देखिएको नेकपाको प्रचण्ड–नेपाल र ओली समूहले सत्ता फेरबदल गर्ने कसरत जारी राखेका बेला दुवैतिरका प्रदेशसभा सदस्यहरु पर्ख र हेरको अवस्थामा रहेका हुन्।

प्रचण्ड–नेपाल समूहभित्र आकांक्षी धेरै हुँदा रिक्त रहेका दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्न मुख्यमन्त्रीलाई समेत सकस भइरहेको दाबी गरेको देखिन्छ।

प्रचण्ड–नेपाल समूहकै सचेतक अक्कलबहादुर रावलले मन्त्रीका लागि आफ्नो समेत दाबी रहेको खुलाएका छन। उनले अन्य प्रदेशसभा सदस्यहरुले समेत सहयोग गर्ने विश्वास पनि व्यक्त गरेका छन्। तर मन्त्री नियुक्तिमा समय लाग्नसक्ने उनी बताउँछन्।

मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेपछि सुरु भएको गुटगत राजनीतिको झिल्को भित्रभित्रै सल्कीरहेको छ।

मुख्यमन्त्रीले पूर्वाधार विकास मन्त्रीलाई पद मुक्त गरेपछि ओली समूहको केन्द्रीय सदस्यमा मनोनित आन्तरिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका थिए।

तर स्पष्ट बहुमतका साथ सरकारमा रहेको प्रचण्ड–नेपाल समूहभित्रै आकांक्षी धेरै भएपछि रिक्त मन्त्रालयमा मुख्यमन्त्री भट्टले नयाँ मन्त्री नियुक्त गर्न नसकेपछि सत्ता समिकरणको जोडघटाउ तिव्र बनेको हो।

सघन छलफल र परामर्श बिना जिम्मेवारी दिदा कतै आफ्नै समूहबाट सरकार अप्ठ्यारो त पर्ने होइन भन्ने भयले मन्त्रीपरिषद् विस्तार हुन नसकेको बताइएको छ।

ओली समूहले समेत प्रदेश सरकारको सत्ता हत्याउन आन्तरिक रणनीति र तयारीलाई तिव्रता दिएको बताइएको छ। खासगरि प्रतिपक्षी नेपाली काँग्रेस र जसपासँग सत्ता साझेदारी गरेर अगाडी बढ्न रणनीतिमा लागेको ओली समूहले अहिले नै आफूअनुकुलको वातावरण बनाउन सकेको छैन।

ओली समूहमा १५ जना प्रदेश सभा सदस्य पुगेको दाबी छ। जुन प्रदेश सरकार ढाल्न र बनाउन पर्याप्त हुन्छ। तर नेकपा ओली समूहका प्रदेशसभा सदस्य रतनबहादुर थापा भने काँग्रेसले मुख्यमन्त्री माग गर्दा समस्या भएको बताउँछन्।
‛हामी नयाँ सरकार गठन गर्न सक्छौ। तर काँग्रेसलाइ पनि ल्याउने कुरा भएको छ। उहाँहरुले मुख्यमन्त्री मागिरहेकाले समस्याा भएको छ,’ थापाले दिनेशखबरसँग भने।

सत्तासाझेदारी गर्नैपर्ने स्थितीमा काँग्रेसले मुख्यमन्त्री दिनुपर्ने अडान राखेपछि उसै पनि कमजोर देखिएको ओली समूहको अंकगणित पनि थप कमजोर बन्दै गएको चर्चा हुन थालेको छ। तर नेपाली काँग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले त्यो विषयमा छलफल नै हुन नसकेको दाबी गरेका छन।

‛नेपाली काँग्रेसले अहिलेसम्म कुनै औपचारिक निर्णय गरेको छैन्। आन्तरिक छलफल समेत भएको छैनन्। मुख्यमन्त्री मागेकको कुरा मलाइ जानकारी भएन,’ खड्काले भने।

प्रदेशसभामा अल्पमतमा रहेको ओली समूहमा २ पूर्व मन्त्रीसहित ७ जना प्रदेशसभा सदस्य खुलेका छन। आफूतीरै रहेका केहीलाई प्रचण्ड–नेपाल समूहले प्रलोभनमा पारेपनि १५ जना प्रदेशसभा सदस्य ओली समूहमा लागेको दाबी गरिन्छ।

मुख्यमन्त्री त्रिलोचन भट्ट भने प्रचण्ड–नेपाल समूहमा नै सुरक्षित देखिएका छन। तर असन्तुष्टि व्यवस्थापनमा चतुर बन्न नसकेमा स्वयंम मुख्यमन्त्रीको पद समेत धरापमा पर्ने निश्चित रहेको प्रदेशसभा सदस्यहरुको भनाई छ। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार