• होमपेज
  • देश/प्रदेश
  • आन्दोलनमा जाने कि नजाने भन्ने बिषयमा केन्द्रीय समितिमा देउवा र पौडेलको चर्काचर्की

आन्दोलनमा जाने कि नजाने भन्ने बिषयमा केन्द्रीय समितिमा देउवा र पौडेलको चर्काचर्की

निर्वाचन आयोगले चुनाव चिन्ह टुंगो नदिँदासम्म नेकपा फुटेको हुँदैन, नफुटी आन्दोलनमा जानु हुँदैन : देउवा

  • बुधबार, पुस ८, २०७७
सेयर गर्नुहोस् :
आन्दोलनमा जाने कि नजाने भन्ने बिषयमा केन्द्रीय समितिमा देउवा र पौडेलको चर्काचर्की

काठमाडौँ — संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध कांग्रेस आन्दोलनमा जाने कि नजाने भन्ने विषयमा केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच नै चर्काचर्की परेको छ । बुधबारको कार्यसमिति बैठकमा केहीबेर दुई नेताबीच चर्काचर्की परेको एक केन्द्रीय सदस्यले बताए ।

केन्द्रीय समिति बैठक लम्बिने देखिएपछि पौडेलले बुधबार नै आन्दोलनका कार्यक्रम घोषणा गर्नु पर्ने बताएका थिए । तर, सभापति देउवाले बारम्बार नेकपा फुटिनसकेको भन्दै विरोधका कार्यक्रम घोषणा गर्न इन्कार गरे । देउवाले निर्वाचन आयोगले नेकपाका दुई पक्षको चुनाव चिन्हको निर्णय नगर्दासम्म पार्टीले विरोधको कार्यक्रममा जान नहुने बताएपछि पौडेल जंगिएका थिए ।

‘पार्टी कहिले फुट्छ ? निर्वाचन आयोगको निर्णय कहिले आउँछ भनेर कांग्रेस कुरेर बस्ने ? त्यतिञ्जेल सुतेर बस्ने ?’ भन्दै पौडेल सभापति देउवाप्रति आक्रमक बनेपछि सहमहामन्त्री प्रकाशरण महत र अर्का केन्द्रीय सदस्य शंकर भण्डारीले बसिरहेका ठाउँबाट उठ्दै सभापतिलाई बोल्न दिनुपर्ने भन्दै बचाउ गरेका थिए । केन्द्रीय सदस्य गुरु घिमिरेले पौडेलले सही कुरा गरेको भन्दै उनको बचाउ गरेका थिए ।

देउवाले प्रधानमन्त्री ओलीसँग सम्झौता गरेको र पार्टीलाई आन्दोलनमा लैजानबाट रोक्नका लागि सभापति देउवाले पार्टीको बैठकसमेत लम्बाउन चाहेको पौडेल पक्षको आरोप छ । त्यही बुझेर नै पौडेलले बुधबार तत्काल विरोधका कार्यक्रम घोषणा गर्न माग गरेका थिए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारदेखि बैठक सुरु भएको हो । दुई दिनमा जम्मा ८ जनाले मात्रै धारणा राखेका छन् । बुधबारसम्म बोल्नेको सूचीमा २७ जना बाँकी छन् । कतिपयले नाम टिपाउनै बाँकी छ । एक केन्द्रीय सदस्यका अनुसार १ बजे बोलाईएको बैठक ३ बजे राख्ने, दिनमा चारजनाको दरले बोल्न दिएर बैठक लम्बाउन खोजिएको छ । ‘अदालत र निर्वाचन आयोगको निर्णय नआएसम्म पार्टीलाई अलमल्याएर राख्ने चाहना सभापतिमा देखियो,’ ती सदस्यले भने, ‘लोकतन्त्र र संविधानवादलाई मूलमन्त्र मान्ने पार्टीले संविधानलाई यत्रो घाइते बनाउने काम गर्दा पनि लाभहानीलाई हेरेर कुनै मुभ नगर्नु दुर्भाग्य हो ।’

देउवानिकट केन्द्रीय सदस्य एनपी साउदले मंगलबारको बैठकमा पार्टी आन्दोलनमा नगइ चुनावको तयारीमा जुट्नुपर्ने बताएका थिए ।

सहमहामन्त्री प्रकाशशरण महतले भने आन्दोलनको पक्ष र विपक्षमा देखाएर कांग्रेसमा फुट ल्याउने कोसिस गरिएको दावी गरे । ‘पार्टीमा छलफल त हुन्छन् नि । त्यसो भन्दैमा हामीमा विभाजन छ भन्ने होइन । विभाजन ल्याउने कोसिस गरिँदैछ त्यो सफल हुँदैन । हामी संसद विघटनको विरोधमा छौं । हामी भोलि नै विरोधको कार्यक्रम घोषणा गर्दैछौं,’ महतले भने । #कान्तिपुर

चर्चामा

सम्बन्धित समाचार