• होमपेज
  • समाचार
  • सगरमाथाको उचाइ बढ्यो, अब ८८४८.८६ मिटर

सगरमाथाको उचाइ बढ्यो, अब ८८४८.८६ मिटर

  • मङ्लबार, मंसिर २३, २०७७
सगरमाथाको उचाइ बढ्यो, अब ८८४८.८६ मिटर

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई सार्वजनिक भएको छ। मंगलबार राजधानीमा विशेष कार्यक्रम गरी नेपाल र चीनले एकै पटक सगरमाथाको उचाई सार्वजनिक गरेका हुन्। यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर थियो। अहिले ८ हजार ८ सय ४८.८६ पुगेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

नेपालले नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो। दुबै देशले छुट्टाछुट्टै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाइ मापन पूरा गरेका छन्। करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो। यसको लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो।

सगरमाथा मापन टोलीले ग्लोवल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो। यो प्रविधि सबैभन्दा अत्याधुनिक प्रविधि मानिन्छ। सगरमाथाको मापन गर्न नापीका दुई जना कर्मचारी खिमलाल गौतम र रविन कार्की मेसिन बोकेर मे २३ २०१९ मा सगरमाथाको चुचुरोसम्मै पुगेका थिए। उनीहरू चुचुरोमा १ घण्टा १६ मिनेट बसेका थिए।

सगरमाथाको मापन सुरु गर्नुअघि विभागले सन् २०१७ डिसेम्बरमा अन्तर्राष्ट्रिय गोष्ठी गरी विज्ञहरूको सल्लाह र सुझाव मागेको थियो। सो गोष्ठीमा चीन, भारत, अमेरिका, बंगलादेश, न्युजिल्यान्ड, बेलायतलगायत देशका प्रतिनिधिको सहभागिता थियो।

सगरमाथाको उचाइ मापनपछि करिब ६ महिनासम्म विभागका कर्मचारीहरुले डाटा प्रोसेसिङ गरेका थिए। नेपालले पहिलो पटक आफ्नै स्रोत, साधन र प्रविधिबाट सगरमाथाको उचाइ मापन गरेको नापी विभागले जनाएको छ। उचाइ मापन गर्दा अत्याधुनिक प्रविधि मात्र नभइ परम्परागत प्रविधि पनि प्रयोग गरिएको थियो। नेपालले सगरमाथाको मापनको काम अन्तिम चरणमा पुर्‍याएको बेला चीनले पनि उत्तरी मोहडाबाट सगरमाथाको मापन सुरु गरेको थियो।

सगरमाथाको उचाई नाप्दा तिब्बती मोहडाबाट मे महिनामा आरोहण गरेका चिनियाँ सर्वेक्षकहरूले झण्डै अढाइ घण्टा चुचुरोमा बिताएका थिए।

उनीहरूले पनि भू-उपग्रहण प्रणाली र राडार जस्ता उपकरण जडान गरी तथ्याङ्क सङ्कलन गरेका थिए। यसअघि चीनले आफ्नो नापी निकाय न्याश्नल एडमिनिस्ट्रेशन अफ सर्भेइङ्, म्यापिङ एण्ड जीयो इन्फरमेशन (एनएएसजी) ले सन् २००५ मा गरेको उचाइलाई आधार मानेर सगरमाथाको उचाइ समुद्र सतहबाट ८ हजार ८ सय ४४ दशमलब ४४ मिटर रहेको बताउँदै आएको छ। उनीहरुले सगरमाथाको चट्टानसहित उक्त उचाइ रहेको र माथि चुचुरोमा तीन दशमलब ५ मिटर हिउँ रहेको बताउने गरेको थियो।

गत मंसिर १० गतेको मन्त्रिपरिषद् बैठकले नेपाल र चीनका सर्भे अधिकारीले संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको भनिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय गरेको थियो।

विश्वका कतिपय भूगर्भविद्हरूले सन् २०१५ नेपालमा गएको विनाशकारी भूकम्पका कारण सगरमाथको उचाइमा फेरबदल भएको हुनसक्ने आशंका गरेका थिए।

सन् १८४७ मा तत्कालीन भारतीय सर्वेयर जनरल कर्णेल जर्ज एभरेष्टको नाममा विश्वको सर्वोच्च हिमशिखरलाई अङ्ग्रेजीमा माउन्ट एभरेष्ट नामाकरण गरिएको हो।

विगतमा कैयौँ पटक सगरमाथाको उचाइ मापन गरिए पनि हालसम्म नेपाल र अन्तराष्ट्रिय स्तरबाट सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन अनुसार ८ हजार ८ सय ४८ मिटर उचाईलाई नै आधिकारीक मान्दै आएका छन्।

चर्चामा

सम्बन्धित समाचार