शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • अनुगमनका क्रममा घुस लिएको आरोपमा ४ कर्मचारी पक्राउ

अनुगमनका क्रममा घुस लिएको आरोपमा ४ कर्मचारी पक्राउ

  • शनिबार, मंसिर २०, २०७७
अनुगमनका क्रममा घुस लिएको आरोपमा ४ कर्मचारी पक्राउ

वीरगन्ज : उद्योगामा अनुगमनमा गएका बेला बार्गेनिङ गरेर घुस रकम लिएको आरोपमा वीरगन्ज स्थित गुणस्तर तथा नापतौल कार्यालयका चार जना कर्मचारी पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले गुणस्तर तथा नापतौल कार्यालयका सहायक निरीक्षक विरेन्द्र उपाध्याय, कार्यालय सहयोगीद्वय पदमबहादुर रोक्का र सत्यनारायण चौधरी तथा सवारी चालक उदय प्रताप सिंहलाई नियन्त्रणमा लिएको हो।

वीरगन्ज स्थित एक टेक्स्टाइल उद्योगमा बिहिबार अनुगमन गर्न गएका उनीहरुले ११ हजार रुपैयाँ घुस लिएको आरोप छ। उद्योग अनुगमनका क्रममा ११ हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि उनीहरुलाई नियन्त्रणमा लिएको पर्साका प्रमुख जिल्ला अधिकारी आसमन तमाङ्गले बताए।

गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका प्रमुख वरिष्ठ निरीक्षक शशीभुषण यादवका अनुसार गण्डक चोकका केही उद्योगमा नापतौल कार्यालयबाट अनुमति नलिइ तौल गर्ने गरेको भनेर सूचना आएको थियो। उक्त सुचनाको आधारमा कार्यालयबाट ती चार जना कर्मचारी अनुगमनका लागि निस्केका थिए। उद्योगको अनुगमनका क्रममा मालसामान तौल गर्ने मेसिन (काँटा) मा त्रुटी भेटिएको थियो।

अनुगमन टोलीले तौल काँटा नियन्त्रणमा लिएपछि बार्गेनिङ गरेर ११ हजार रुपैयाँ घुस लिएर काँटा उद्योगलाई नै फिर्ता गरिदिएका थिए। कर्मचारीले घुस लिएको उजुरी प्रमुख जिल्ला अधिकारी तामाङ समक्ष पुगपछि तमाङ्गको निर्देशनमा स्थानीय प्रशासनले चारै जनालाई बिहीबार नै नियन्त्रणमा लिएको हो।

कर्मचारीहरुले उद्योगमा अनुगमनका क्रममा ११ हजार रुपैयाँ घुस लिएको र गाडीमै बाँडफाँड गरेको स्वीकार पनि गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। पक्राउ परेका चार जना कर्मचारी मध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भएकाले उनीहरु संक्रमणमुक्त भएपछि चारै जनालाई हेटौडा स्थित अख्तियार दुरुपयोग अनुसन्धानको क्षेत्रीय कार्यालयमा बुझाइने प्रमुख जिल्ला अधिकारी तमाङले बताए।

चर्चामा

सम्बन्धित समाचार