शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बलिउड/हलिउड
  • एकसाथ किन आउँदैनन् बलिउड सेलिब्रिटी नेपाल ?

एकसाथ किन आउँदैनन् बलिउड सेलिब्रिटी नेपाल ?

  • सोमवार, मंसिर ८, २०७७
एकसाथ किन आउँदैनन् बलिउड सेलिब्रिटी नेपाल ?

प्रधानमन्त्रीमा निर्वाचित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आए । भारतीय प्रधानमन्त्री नेपाल नआएको १७ वर्ष भइसकेको थियो मोदी नेपाल आउँदा । त्यसयता उनी पटक-पटक नेपाल आइसकेका छन् । भलै नेपाल-भारत सम्बन्ध कहिले नाकाबन्दी त कहिले सीमा अतिक्रमणले किन नचिसियोस् । भारतीय राष्ट्रपति नेपाल आइरहन्छन् । भारतीय राष्ट्रपति कार्यकारी नभए पनि पोर्टफोलियोका हिसाबले एक नम्बरको पद हो । त्यहाँका विदेशमन्त्रीको पनि नेपालमा बाक्लै भ्रमण हुँदै आएको छ ।

राजनीतिक स्तरमा भारतीय उच्च राजनीतिज्ञहरूको नेपाल भ्रमण बाक्लै हुने गरे पनि बलिउडका उच्च सेलिब्रिटीहरू नेपाल विरलै मात्रै आउने गरेका छन् । आफ्नै व्यक्तिगत काम विशेषले बलिउड सेलिब्रिटीहरू यदाकदा नेपाल आए पनि उनीहरू आफ्नो कलाकारिता प्रदर्शन गर्न भने हम्मेसी आउँदैनन् । आमिर खान, शाहरुख खान, अक्षय कुमार, अमिताभ बच्चन, सलमान खानजस्ता अभिनेता तथा उनीहरूसँगै पर्दामा देखिने समकालीन अभिनेत्रीहरू नेपालमा खासै आएको पाइँदैन । कुनै संस्थाको ब्रान्ड एम्बेस्डरका रुपमा वा चलचित्रको छायांकनका लागि नेपाल आउनेबाहेक हिन्दी चलचित्रका पहिलो रोजाइका अभिनेता तथा अभिनेत्रीहरू नेपाल आउँदैनन् ।

जबकि हरेक शुक्रबार हिन्दी चलचित्र भारतसँगै नेपालमा पनि प्रदर्शन हुन्छन् । नेपालमा नेपालीभन्दा पनि भारतीय चलचित्रको प्रतीक्षा बढी हुन्छ । युवा पुस्ताको रोजाइमा नेपालीभन्दा हिन्दी चलचित्र नै पहिलो रोजाइमा पर्छ । त्यसोभए किन बलिउडका ठूला स्टारको रोजाइमा नेपाल पर्दैन ? अथवा बलिउडका ठूला सेलिब्रिटी किन नेपाल आएर स्टेज कार्यक्रममा देखिँदैनन् ?

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का नेपालमा बलिउडका ठूला सेलिब्रटी आफ्ना कार्यक्रम लिएर नेपाल नआउनुमा सरकार नै मुख्य कारण भएको बताउँछन् । बलिउडका ठूला सेलिब्रिटी ल्याउँदा के फाइदा हुन्छ भन्नेतर्फ सरकारको ध्यान कहिल्यै नखिचिएको उनको भनाइ छ ।

“हामीले करिब १२ वर्षअगाडि कलाकारको आयआर्जनका लागि रङ्‍गशालामा बलिउडका अधिकांश ठूला कलाकार बोलाएर स्टेज कार्यक्रम, अन्तर्क्रिया गर्छौं भन्दा सरकारले सुरक्षा प्रदान गर्न सक्दैनौं भन्यो,” रवीन्द्र भन्छन्, “त्यसयता हामीले पनि बलिउडका ठूला सेलिब्रिटी ल्याउन पहल गरेका छैनौं । तर, उताका कलाकार यता आउने र यताका कलाकार उता गएर आफ्ना अनुभव आदानप्रदान गरेको गरेको अवस्थामा वास्तवमा हामीलाई राम्रै हुन्थ्यो ।”

संस्थागत हिसाबले हाम्रा संस्था र उनीहरूका कलाकारका संस्थाहरूबीच र कलाकारहरूबीच राम्रो सम्बन्ध बनाउन नसक्नु पनि बलिउड सेलिब्रिटी नेपाल नआउनुको एउटा कारण रहेको खड्का बताउँछन् । “बेलाबेलामा गोविन्दा आउनुहुन्छ । तर, उहाँ त हाम्रै पारिवारिक सदस्य जस्तै हो । अरु केही कलाकार पनि आउनुहुन्छ । तर, उहाँहरू कति थाहै नदिइ आउनुहुन्छ र पूजापाठ गरेर जानुहुन्छ । तर संस्थागत र व्यावसायिक हिसाबले आउनुहुन्न,” खड्का भन्छन्, “हाम्रोजस्तो सुन्दर देशमा बलिउडका ठूला सेलिब्रिटी आउनु भनेको पर्यटन प्रवर्द्धन हुनु पनि हो । पर्यटन नै हाम्रो आम्दानीको मुख्य स्रोत बनाउन सकिन्छ भन्ने सरकारको सोच रहेका बेला यसको माध्यम बलिउड सेलिब्रिटीलाई बनाउन सकिन्छ र सक्नु पनि पर्छ ।”

निर्देशक दीपेन्द्र के खनाल बलिउडको प्राथमिकतामा नेपाल कहिल्यै नपरेको बताउँछन् । बिहारको एक अंशका रुपमा बलिउडले नेपाललाई लिने गरेको उनी बताउँछन् । “उनीहरूले कहिले पनि नेपाललाई आफ्नो बिजनेसको टेरिटोरीको रुपमा लिएनन् । कतिपय अन्तर्वार्तामा पनि बलिउड सेलिब्रिटीहरू नेपाललाई बिहारकै एक टेरिटोरी हो भनेर विवादमा आइरहेका हुन्छन्,” निर्देशक खनाल भन्छन्, “बलिउडकर्मीहरू नेपालाई बिहारको आँखाले हेर्छन् । उनीहरू बिहारलाई पनि खासै प्राथमिकतामा राख्दैनन् ।”

अन्य देशको तुलनामा नेपालबाट खासै धेरै बिजनेस नजानु पनि हिन्दी चलचित्रका कलाकार नेपाल नआउनुको अर्को कारण रहेको उनी बताउँछन् । नेपालमा चलचित्र रिलिजका लागि खासै धेरै पैसा पनि नलिने गरेको भन्दै एउटा गीतको राइट्स जति पनि रकम नहुने खनाल बताउँछन् । “हाम्रा डिष्ट्रिब्युटरहरूबीचको प्रतिस्पर्धाका कारण मात्रै पछिल्लो समय हिन्दी चलचित्रले नेपाल राइट्स पनि केही महँगो भएको हो,” उनी भन्छन् ।

‘द-दवङ द टुर’ अन्तर्गत सलमान खान ०७४ फागुनमा नेपाल आउने भनेर टिकटसमेत बेचिसकेको अवस्थामा समेत उनी नेपाल आएनन् । उनलाई ओडीसी इन्टरटेन्मेन्टले नेपाल ल्याउने प्रयास गरेको थियो ।

गत वर्ष इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्डको २०औं संस्करण नेपालमा गर्ने तयारी भए पनि अन्तिम समयमा आएर रोकिएको थियो । नेपाली चलचित्र उद्योगलाई बेवास्ता गर्ने सरकार विदेशी अवार्ड गर्न साढे ४४ करोड रुपैयाँ खर्चिन तयार भएको भन्दै सरकारको आलोचना भएपछि अन्तिम समय अवार्ड स्थगित भएको थियो ।

मिस वर्ल्ड-२०२० नेपालमा गर्न सकिने भनेर मिस वर्ल्डले छलफल अगाडि बढाइरहेका बेला कोरोनाका कारण थप प्रक्रिया नै अगाडि बढ्न सकेन ।

चर्चामा

सम्बन्धित समाचार