शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश १
  • प्रदेश एकमा टेलिफोनबाटै पढाइ

प्रदेश एकमा टेलिफोनबाटै पढाइ

  • बिहिबार, मंसिर ४, २०७७
प्रदेश एकमा टेलिफोनबाटै पढाइ

कोरोना संक्रमणका कारण विद्यालय प्रत्यक्ष रुपमा खुल्ने अवस्था नभएपछि र अनलाइन कक्षाले सबै विद्यार्थीलाई समेट्न नसकेपछि प्रदेश १ मा पठनपाठनको नयाँ अभ्यान सुरु गर्न लागिएको छ ।

इन्टरनेट, टेलिभिजन र कम्प्युटरको पहुँच नभएका विद्यार्थीलाई टेलिफोनबाट शिक्षण सिकाइ सञ्चालन गर्ने तयारी सामाजिक विकास मन्त्रालयले गरेको हो । अनलाइन कक्षाले समेट्न नसकेका विद्यार्थीलाई लक्षित गर्दै मन्त्रालयले कोरोना प्रभावित क्षेत्रका विद्यालयलाई लक्षित गरी सिकाईलाई निरन्तता दिने र पठनपाठन सञ्चालन गर्ने उद्देश्यले टेलिफोनबाट पढाई सञ्चालन गर्ने तयारी थालेको छ । नयाँ ढंगले टेलिफोनबाट पठनपाठन गराउनका लागि प्रदेश सरकारले ‘हेल्लो विद्यार्थी कार्यक्रम’ सुरु गर्न लागेको छ ।

कोरोना संक्रमणका कारण लामो समयदेखि शैक्षिक संस्था बन्द छन् । शैक्षिक संस्थामा पुगेर पढ्ने र पढाउने अवस्था छैन । शैक्षिक संस्थामा पठनपाठन गराउँदा कोरोना भाइरसको संक्रमण झन् तीव्र रुपमा फैलनसक्ने सम्भावनाका कारण शैक्षिक गतिविधी ठप्प छन् । शिक्षक र विद्यार्थीले शैक्षिक संस्थामा पुगेर पढाउने र पढ्नसक्ने अवस्था नभएपछि शिक्षण सिकाईलाई निरन्तरता दिन प्राविधिकको प्रयोग गर्दै अनलाइन कक्षा सुरु भयो ।

कतिपय विद्यालयले अनलाइनमार्फत पठनपाठनलाई निरन्तरता दिइरहेका छन् । तर अनलाइन सिकाईमा थोरै विद्यार्थीको मात्रै सहभागिता छ । अधिकांश विद्यार्थीलाई अनलाइन कक्षाले समेट्न सकेको छैन ।

पहिलो चरणमा ६ जिल्लाका १० वटा स्थानीय तहमा कार्यक्रम सुरु गरिने प्रदेश शिक्षा निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकीले जानकारी दिए । त्यसको प्रभावकारीता हेरेर अरु स्थानीय तहमा पनि टेलिफोनबाट पठनपाठन गराइने उनको भनाइ छ

धनकुटाको पाख्रीबास नगरपालिका र साँगुरीगढी गाउँपालिका, तेह्रथुमको छथर गाउँपालिका, सुनसरीको बर्जु र गढी गाउँपालिका, झापाको कचनकवल र कमल गाउँपालिका तथा मोरङको केराबारी गाउँपालिकामा टेलिफोन पठनपाठनका लागि सम्झौता भइसकेको निर्देशक बुढाथोकीले बताए । मोरङको मिक्लाजुङ र इलामको चुलाचुली गाउँपालिकामा सम्झौता गर्न बाँकी रहेको उनको भनाइ छ ।

नेपाल टेलिकमको पाठशाला (क्लोज युजर ग्रुप) सियूजी सिममार्फत विद्यार्थीको पढाईलाई निरन्तरता दिइने उनले बताए । विद्यार्थी र शिक्षकले मात्र प्रयोग गर्न मिल्ने सियूजी सिममा एक सय २९ रुपैयाँले १ महिना पुग्ने जानकारी बुढाथोकीले दिए । उनका अनुसार विद्यार्थीका लागि सित्तैमा सिम दिइने र ३ महिनाका लागि शिक्षक र विद्यार्थीको सिममा ब्यालेन्सको व्यवस्था गरिनेछ ।

नेपाल सरकारको सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार अनुसार इन्टरनेट, टेलिभिजन र कम्प्युटरको सुविधा नभएका विद्यार्थीका लागि सिम र रिचार्जको व्यवस्था गरिने बताइएको छ । जसका लागि एउटा स्थानीय तहमा दुई सय ५० शिक्षक र पाँच विद्यार्थीको कोटा निर्धारण गरिएको छ । रिचार्ज गर्नुपर्ने विद्यार्थीको विवरण स्थानीय तहले तयार गर्ने निर्देशक बुढाथोकीले बताए ।

उनका अनुसार विद्यार्थी छनौट गर्दा गरिबभित्रको पनि गरिबलाई छनौट गर्नुपर्ने छ । विद्यार्थीलाई पुस्तक वितरण गरिसकिएको र अभिभावकको मोबाइलमा सिम तथा रिचार्जको व्यवस्था गर्नाले कार्यक्रम प्रभावकारी बन्ने शिक्षा निर्देशनालयको विश्वास छ । अभिभावकको मोबाइल हुने हुँदा विद्यार्थीको पठनपाठनबारे अभिभभावकसँग पनि जानकारी लिन सकिने बुढाथोकीले बताए ।

अनलाइन कक्षाले समेट्न नसकेका विद्यार्थीका लागि टेलिफोनबाट सिकाउने गरी कार्यक्रम तयार गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । कोरोनाको संक्रमण कहिलेसम्म भन्ने यकिन नभएकाले पठनपाठन कार्यलाई अघि बढाउन मन्त्रालयले टेलिफोनबाट शिक्षण सिकाइ सुरु गर्ने तयारी गरेको उनले बताए । ‘हेल्लो विद्यार्थी कार्यक्रम’का लागि सामाजिक विकास मन्त्रालयले एक लाख ५० हजार र स्थानीय तहले एक लाख रुपैयाँ व्यहोर्नुपर्ने मन्त्री घिमिरेले बताए ।

चर्चामा

सम्बन्धित समाचार