शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • धार्मिक
  • यमपञ्चकको पाँचौं दिन : आज भाइटीका, टीकाको साइत ११ बजेर ३७ मिनेटमा

यमपञ्चकको पाँचौं दिन : आज भाइटीका, टीकाको साइत ११ बजेर ३७ मिनेटमा

  • सोमवार, मंसिर १, २०७७
यमपञ्चकको पाँचौं दिन : आज भाइटीका, टीकाको साइत ११ बजेर ३७ मिनेटमा

काठमाडौं : हिन्दू नेपालीहरुको दोस्रो महान चाड तिहारको आज मूख्य दिन अर्थात् यमपञ्चकको पाँचौं दिन भाइटीका । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत विहान ११ बजेर ३७ मिनेटमा भएको जनाएको छ ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुनारधर्मराज, गणपत्या दिवनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गीटीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाईदिने गरिन्छ ।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायू, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै विभिन्न सात रङको ठाडो टीका लगाउनुका साथै दाजुभाइलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहिआएको छ ।त्यसपछि दिदीबहिनीले दाजुभाईलाई ओखर, कटुस, मसला र सेलरोटी लगायतका मिठोमिठो खानेकुरा दिने र दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक परम्परा छ ।

त्यस्तै टीका लगाइदिइसकेपछि घरको मूल ढोकामा ओखर फोड्ने चलन छ । यसो गर्दा सबै बाधा अड्चन हट्ने धार्मिक विश्वास छ ।

मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरेपनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको बताइएको छ ।

भाइटीकाकै दिन यस वर्ष नेपाल संवतअनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । यसै दिनदेखि नेपाल संवत् ११४१ पनि सुरु हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार