शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • वैध भोटको गन्ती भए म नै जित्नेछु चुनावः ट्रम्प

वैध भोटको गन्ती भए म नै जित्नेछु चुनावः ट्रम्प

  • शुक्रबार, कार्तिक २१, २०७७
वैध भोटको गन्ती भए म नै जित्नेछु चुनावः ट्रम्प

रिपब्लिकन पार्टीका उम्मेद्वार डोनल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडन दुबै नै अमेरिकी राष्ट्रपति चुनावमा जीत हासिल गर्ने दाबी गरिरहेका छन् । अन्तिम नतिजा आउन बाँकी नै छ र दुबै पक्ष कानूनी लडाईंमा उल्झिनका लागि तयारीमा जुटेका छन् ।

इलेक्टोरल कलेजको संख्याको हिसाबले हेर्ने हो भने थुप्रै महत्वपूर्ण राज्यमा अहिले पनि मतगणनाको काम जारी छ । यही राज्यले चुनाव नतिजा निश्चित गर्नेछ ।

बीबीसीले मिशिगन र विस्कन्सिनमा ट्रम्पभन्दा जो बाइडन अघि बढिरहेको अनुमान गरेको छ । पेन्सिल्वेनियाको नतिजा अहिलेसम्म आएको छैन । विस्कन्सिन, मिशिगन र पेन्सिल्वेनिया राज्यको नतिजाले जो बाइडनको जीत सुनिश्चित गर्न सक्छ ।

ट्रम्पका प्रतिनिधिले नेवाडा, विस्कन्सिन, जर्जियास, पेन्सिल्वेनिया र मिशिगनमा पुनः मतगणना गर्नुपर्ने माग राखेका छन् । राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली गरिएको दाबी गरेका छन् ।

नेवाडा र एरिजोनामा हाल जो बाइडनको अग्रता छ । यस्तै जर्जियामा मत गणनाको काम जारी छ र यहाँ दुबै उम्मेद्वारबीच मत भिन्नता निकै कम हुँदै गइरहेको छ ।

केही बेर अघि राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनमा भने, ‘यदि वैध भोटको गन्ती गर्ने हो भने चुनाव म नै जित्नेछु ।’ ह्वाइट हाउसको ब्रिफिङ रुमको प्रयोग गर्दै उनले धाँधली गरेर आफूलाई दोस्रो पटक राष्ट्रपति बन्नबाट रोक्न खोजिएको आरोपलाई दोहोर्याए । आफ्नो दाबीबारे कुनै प्रमाण पेस नगर्दै ट्रम्पले भने, ‘अवैध मत गन्ने हो भने उनीहरुले हामीबाट परिणाम खोस्न सक्नेछन् ।’

जर्जिया र पेन्सिलभेनिया राज्यमा उनको अग्रतामा भारी गिरावट आउन थालेपछि ट्रम्पले यस्तो दाबी गरेका हुन् । अझै पनि दोस्रो कार्यकालका लागि आवश्यक २७० इलेक्टोरल मत पाउने रेसमा ट्रम्प कायम नै रहेका छन् । तर, त्यो सम्भावना बिस्तारै कम हुँदै गएको देखिन्छ ।

ट्रम्पले ढिला आएका मत गन्न बन्द गर्नुपर्ने पक्षमा रहेको बताए । उनले हुलाकबाट आएका मतपत्रहरु एकतर्फी रहेको पनि जिकिर गरे । डेमोक्राटले हुलाकबाट बढी मतदान गर्ने गरेको पाइन्छ । हालसम्म ७५ प्रतिशत त्यस्ता मत जो बाइडेनको पक्षमा देखिएको छ ।

चुनावी अभियानका दौरान नै ट्रम्पले हुलाकबाट गरिने मतदानबाट धाँधली हुन सक्ने बताउँदै आएका थिए । उनले आफ्ना समर्थकलाई हुलाकबाट मतदान नगर्न आग्रह गरेका थिए ।

‘मैले निकै जटिल राज्यहरुमा ठूलो अग्रताका साथ जितिसकेको छु’ ट्रम्पले दाबी गरे । पत्रकार सम्मेलनका दौरान उनले पत्रकारको प्रश्नहरु भने लिन मानेनन् ।

उनका अनुसार चुनावको विषय अदालतसम्म पुग्यो किनभने यो प्रक्रिया अनुचित थियो । यसबारे उनले भने, ‘चुनावमा यस्तो प्रकारको धाँधली हामी सहन सक्दैनौं । पोस्टल ब्यालटबारे मैले पहिले नै भनिसकेको छु कि यो विनाशकारी प्रमाणितत हुनसक्छ ।’

राष्ट्रपति चुनावको विषयमा थुप्रै राज्यमा पुनः मतगणनाको गुहार लगाउँदै ट्रम्पका प्रतिनिधि अदालतको ढोकासम्म पुगेका छन् । पेन्सिल्वेनियाको फिलाडेल्फियाको अदालतमा एक मामलाको सुनुवाई हुन अझै बाँकी छ ।

ट्रम्पले आफू एरिजोनामा अघि बढिरहेको बताएका छन् । एरिजोनमा हालसम्म ८८ प्रतिशत मतको गन्ती पूरा भएको छ । यहाँ अहिलेसम्म बाइडनको अग्रता देखिएको छ ।

उनले भने, ‘चुनावको पवित्रताको रक्षा गर्नु हाम्रो लक्ष्य हो र हामी भ्रष्टाचारका कारण यति महत्वपूर्ण चुनावमा कुनै पनि धाँधली हुन दिँदैनौं ।’

ट्रम्पले थपे, ‘मलाई लाग्छ कि चुनावको पवित्रताको विषयमा हामी सम्झौता गर्न सक्दैनौं । चुनावको नतिजाका लागि सायद हामी कानूनी प्रक्रियाबाट गुज्रनुपर्नेछ । मलाई आशा छ नतिजा चाँडै नै आउनेछ । यो विषयको निर्णय न्यायाधिसले लिनुपर्नेछ ।’

चर्चामा

सम्बन्धित समाचार