बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश
  • राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको दसैं शुभकामना

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको दसैं शुभकामना

  • सोमवार, कार्तिक १०, २०७७
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको दसैं शुभकामना

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी ओलीले दसैंको शुभकामना दिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड-१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन आग्रह गरेकी हुन्।

‘आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुन आएको छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘विजयादशमी, २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग, जोश र जाँगर थप्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दै मङ्गलमय शुभकामना व्यक्त गर्दछु।’

उनले यो पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन्।

दसैंमा स्वास्थ्य सुरक्षामा अधिक ध्यान राखौँ : उपराष्ट्रपति
विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) को सामना गर्नु परिरहेको प्रतिकुल परिस्थितिमा नेपालीहरुको महान पर्व दसैंलाई सबैले स्वागत गरेको भन्दै उपराष्ट्रपति पुनले पर्व मान्दा स्वास्थ्य सुरक्षामा ध्यान दिन सुझाव दिएका छन्।

हाम्रो देशमा मनाइने सबै खाले चाड पर्वहरुले नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाईचारा र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आइरहेका उल्लेख गर्दै उपराष्ट्रपति पुनले बडा दसैंको यस पावन पर्वको माध्यामबाट नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाईचारा र बलियो एकताको अभिवृद्धि हुँदै जाने कुरामा विश्वास व्यक्त गरेका छन्।

‘कोरोना भाइरसको महामारीका कारण यसवर्षको बडा दसैं विगत वर्षहरुको जस्तो उल्लासमय वातावरणमा मनाउने अवस्था रहेन। यो प्रतिकुल अवस्थामा आइपुगेको बडा दसैं सबै नेपालीले जहाँ छौं त्यहीं अवस्थामा घरमै बसेर मनाउनुहुनेमा विश्वस्त छु’, उपराष्ट्रपति पुनले भनेका छन्, ‘वर्ष दिनमा आइपुगेको महान् चाडलाई कोरोना भाइरस संक्रमण थप फैलने माध्यम बन्न नदिन र चाड मनाउँदा स्वास्थ्य सुरक्षामा अधिक ध्यान दिन सबैमा अपील गर्दछु।’

शुभकामना सन्देशसँगै उपराष्ट्रपति पुनले कोरोना भाइरसले स्वास्थ्य अवस्था जटिल भएकाहरुको उचित उपचारको प्रवन्ध गर्न तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सबै तहका सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।

जो जहाँ जहाँ छौँ, त्यहीँ दसैं मनाऔँ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले नेपालीहरूको ठूलो चाड बडादसैंको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन्।

ओलीले चाडबाड केवल पर्व र उत्सव मात्र नभई सामाजिक प्रबन्धका आधार पनि भएको बताउँदै यिनलाई अपनाउँदै अगाडि बढाउनु आवश्यक रहेकामा जोड दिएका छन्।

चाडबाडका नाममा हुने गरेका केही नकारात्मक पक्ष तथा औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् भन्दै उनले यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वलाई मितव्ययी र उचित बनाउन सबै सजग र सचेत रहनुपर्ने बताएका छन्।

अहिले कोरोना महामारीको यस विषम परिस्थितिमा यस महान् चाडलाई विगतभन्दा फरक ढंगले मनाउनु परेको जनाउँदै प्रधानमन्त्रीले आफ्ना मान्यजनसँग टीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित सङ्क्रमणको खतरा ख्याल गर्न सुझाव दिएका छन्।

ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिमा सङ्क्रमणको सम्भावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दसैं मनाउनुपर्ने उनको भनाइ छ।

यसपालिको बडादसैं, हामी जो जहाँ जहाँ छ, त्यहीँत्यहीँ रहेर मनाउन प्रधानमन्त्रीले सबैसँग अनुरोध गर्दै प्रधानमन्त्री ओलीले आफ्नो निवासमा टीका नभएकोसमेत जानकारी दिएका छन्।

वजयादशमीका दिन भगवतीले सत्य हासिल गरेका उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आशीर्वाद ग्रहण गरिन्छ। असत्यमाथि सत्य तथा अन्यायमाथि न्याय र अमानवीय तत्वमाथि मानवताको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वमा घटस्थापनादेखि नवमीसम्म माता नवदुर्गाको पूजा गर्दै सप्तशती पाठ गरी विशेष अर्चना र आराधना गरिन्छ।

चर्चामा

सम्बन्धित समाचार