शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • शोकमै गोविन्द र रामबहादुरका परिवारको दशैँ

शोकमै गोविन्द र रामबहादुरका परिवारको दशैँ

  • सोमवार, कार्तिक १०, २०७७
शोकमै गोविन्द र रामबहादुरका परिवारको दशैँ

धनगढीः आज बडादशैँ । टीका र जबरा ग्रहण गरी मान्यजनबाट आर्शिवाद लिने दिन । दाजु डिउटीबाट फर्किनुहुन्छ अनीसँगै बसेर टीका लगाउनुपर्छ । सायद यो बेला यस्तै सोचिरहेका हुन्थे होला पुनर्वासका पवन । दाजुसँग बसेर दशैँ नमनाएको पनि ३ वर्ष बितिसकेको थियो ।

त्यसैले पनि यसपालीको दशैँ पवनका लागि खास हुनेवाला थियो । किनकी दाजु नजिकै धनगढीमा कार्यरत हुनुहुन्थ्यो । तर जीवनमा सधै सोचेझै कहाँ हुन्छ र ? गित नै छ नी, सोचे झै रैनछ जिन्दगी । आखिर पवनको परिवारमा पनि ठीक यस्तै भएको छ, अहिले । जताततै दशैँको हर्षोल्लास छाएका बेला पवनको घरमा परेको बज्रपातले यी चाहाना चुडेर लगेको छ ।

१० दिन पुग्यो दाजु, गोविन्द बिकको विभत्स हत्या भएको आज । हो, उमेरले भर्खर २१ पुगेकी भाउजुको सिउँदो पुछिएको, अवोध नानीहरुको साहारा खोसिएको पनि ठीक १० दिन पुग्यो । आशाको पिल्लर ढलेको घरको एक कुनामा १० दिनदेखि पुजा भावविह्ल छिन् । जवानी छँदै पती वियोगले विक्षिप्त बनेकी उनको मुखबाट अझै आवाज निस्किन सकेको छैन् । केवल आश्रुधारा बगिरहेको छ ।

जीवनको सूर्य नै सदाका लागि अस्ताएको अनुभुति गरिरहेकी छिन् । छेवैमा गोविन्दको तस्बिरले उनलाई हेरिरहन्छ । बेला बेला गोविन्दलाइ सम्झिदै टोलाउँछिन् उनी । पुजाका देवर पवनले भाउजुको अवस्थाबारे बताउँदै भने, ‘दाजुलाई सम्झेर बेला बेला भक्कानिनु हुन्छ । कतिखेर एक्कासी अचेत बन्नुहुन्छ । तैपनि आफूलाई सम्हाल्ने कोसिस गरिरहनुभएको छ ।’

उमेरले ५० वर्ष कटेकी आमा कलावती बिकको अवस्था पनि दर्दनाक छ । दशैँको मुखमा दैवले बुढेशकालको साहारा चुडेर लगेपछि दैवलाई सराप्न पुग्छीन् उनी । ‘हे दैव ! के बिगारेको थियो मेरो गोविन्दले । मेरो मुटुको टुक्रा थियो, चुडालेर लगिस् । उ भन्दा पहिले मलाई किन लगिनस् ?’गोविन्दका परिवारका लागि यसपाली दशा बनेको दशैँ खै अब कहिले आउँछ पत्तो छैन् ।

‘दाजुले जागिर लागेदेखि राम्रोसँग दशैँ मनाउन पाएका थिएनौँ ।’ पवनले भने, ‘यसपाली धनगढीमै कार्यरत भएकाले दाजुसँगै बसेर दशँै मनाउने धोको थियो । तर अब त्यो धोको हामीले कहिल्यै पूरा गर्न पाउने छैनौँ ।’ दाजुको विभत्स हत्या गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग उनको छ । ‘हामीले दाजुलाई त पाउँदैनौँ तर उहाँको हत्या गर्नेहरुलाई राज्यले कारवाही गरेर हाम्रो घाउमा मलम लगाउनुपर्छ ।’

प्रहरी सहायक निरीक्षक बिकसँगै डिउटीमा खटिएका बेला विभत्स हत्या गरिएका जवान रामबहादुर साउदको परिवार पनि यतिबेला बियोगमा छ । २ वर्षदेखि दशैँमा घर जान नपाएका साउदले भाइ प्रकाशलाई भनेका थिए, ‘यो वर्ष रमाइलो गरेर दशैँ मनाउनुपर्छ । म पनि विदामा घर आउँछु ।’ तर परिवारसँगै बसेर दशैँ मनाउने रामबहादुरको चाहाना पनि कहिल्यै पूरा हुने छैन् । न त उनको परिवारको नै ।

‘दशैँमा देवतालाई भाकल गरी राखेको रागो र बोका चढाउने तयारी गरेका थियौँ । यो वर्षको दशैँ राम्रैगरी मनाउने सल्लाह भाईसँग पनि भएको थियो । तर दैवको अगाडि कसको के नै लाग्दो रहेछ ।’ उनका दाजु गंगा भन्छन्, ‘७२ वर्षको आमा र ६९ वर्षका वुवाका आसु अझै रोकिएका छैनन् । घरी घरी भाईलाई सम्झिदै रुन्छन् ।’

विडम्बना दशैँकै कारण किरिया समेत राम्रोसँग गर्न पाएनन् साउदको परिवारले । ‘दशैँमा मठमन्दिरमा पूजापाठ, बली दिइन्छ । आफ्नो त दशा लाग्यो लाग्यो अरुहरुको पनि किन दशैँ बिर्गानु भनेर ७ दिनमै काजकिरिया समाप्त गर्यौँ ।’ गंगाले भने ।

साउदकी श्रीमती खिमा पतिवियोगको पीडामा छिन् । भन्छिन्, ‘दैवले दिएको चोट सहनै पर्यो । दशैँमा विदा मिलेन भने तिहारमा पक्कै आउँछु भन्नुहुन्थ्यो । तर मेरा खुसी सबै दैवले चुडेर लग्यो ।’

पतिवियोग त छदैछ टुहुरा २ छोरीको लालनपालन कसरी गर्ने अब ? भन्ने पिर अर्कोतीर छ । साउदका दाजु गंगाको माग छ, ‘यदी देशमा कानून छ भने भाईको हत्या गर्ने अपराधीहरुलाई राज्यले आजीवन जेल हाल्नुपर्छ । तब मात्र हामी न्याय पाएको अनुभुती गछौँ ।’ उनले भने, ‘२ छोरीको पालनपोषणदेखि शिक्षादिक्षाको जिम्मा लिएर सरकारले कानून अनुसार पाउने सबै सेवासुविधा दिनुपर्छ ।’

(अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको गत कात्तिक १ गते डिउटीमा खटिएका बेला विभत्स हत्या गरिएको थियो । उनीहरुको हत्यामा संलग्न भएको आरोपमा ८ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।)

चर्चामा

सम्बन्धित समाचार