शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • इटलीको नेपल्समा लकडाउनको विरोधमा प्रदर्शन, प्रहरीमाथि आक्रमण

इटलीको नेपल्समा लकडाउनको विरोधमा प्रदर्शन, प्रहरीमाथि आक्रमण

  • आइतवार, कार्तिक ९, २०७७
इटलीको नेपल्समा लकडाउनको विरोधमा प्रदर्शन, प्रहरीमाथि आक्रमण

इटलीको तेस्रो ठूलो शहर नेपल्समा लकडाउनको अवज्ञा गर्दै ठूलो विरोध प्रदर्शन भएको छ । कोरोना संक्रमितको संख्या दैनिक रुपमा फेरि बढ्न थालेपछि गर्भनर भिन्सेन्जो डि लुकाले यहाँ ४० दिने लकडाउन घोषणा गरेका थिए । तर, आक्रोशित बनेकाहरुले स्वतन्त्रताको नारा लगाउँदै आन्दोलन थाले ।

शुक्रबार राति यहाँका सडकमा उनीहरुले विरोध प्रदर्शन गरे । त्यसक्रममा उनीहरुले प्रहरीमाथि पनि आक्रमण गरे । आन्दोलनकारीहरुले बोतल, पटाका र अन्य वस्तुहरु प्रहरीतर्फ फ्याँकेका थिए । प्रहरीले पनि अश्रुुग्याँस प्रहार गरेर आन्दोलनकारीलाई तितर–वितर पार्न खोजेको थियो ।

महामारी सुरु भएयता राष्ट्रव्यापी रुपमा कडा लकडाउन गर्ने इटली पहिलो देश थियो । यहाँ, कोरोना भाइरस महामारीका कारण स्वास्थप्रणाली नै संकटमा परेपछि ९ मार्चदेखि नै लकडाउन भएको थियो । पहिलो लहरका दौरान यहाँको उत्तरी लोम्बार्डी क्षेत्र सबैभन्दा धेरै प्रभावित भयो । जब दैनिक नयाँ कोभिड १९ संक्रमितहरुको संख्या घट्न थाल्यो, तब इटलीले बिस्तारै लकडाउन खुकुलो ग¥यो । यद्यपी, पछिल्लो समय फेरि युरोपमा दोस्रो लहर देखिएको छ । जसकारण बाध्य भएर इटलीका अधिकारीहरुले फेरि लकडाउन गरे ।

बुधबार इटलीका प्रधानमन्त्री जोसेप्पे कोन्टेले भाइरससँग लड्नका लागि जनताले अनावश्यक यात्रा नगर्नेलगायत ‘सानो त्याग’ गर्नसके सरकारले कडाइ गर्नुनपर्ने बताएका थिए । इटलीमा शुक्रबार एकैदिन कोभिड १९ का १९ हजार १ सय ४३ नयाँ संक्रमित देखिएका छन्, जो महामारी सुरु भएयताकै उच्च हो ।

यसअघि बिहीबार १६ हजार ७८ जना संक्रमित भेटिएका थिए । इटलीमा कुल संक्रमितको संख्या ४ लाख ८४ हजार नाघेको छ । ३७ हजार ५२ जनाले ज्यान गुमाएका छन् भने २ लाख ६२ हजार निको भइसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार