शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • युट्युबमा अभिनेत्रीहरु : खाली समय आफ्नै च्यानललाई

युट्युबमा अभिनेत्रीहरु : खाली समय आफ्नै च्यानललाई

  • आइतवार, अशोज २५, २०७७
युट्युबमा अभिनेत्रीहरु : खाली समय आफ्नै च्यानललाई

लकडाउनमा न फिल्मको छायाङ्कन थियो न प्रचार । सबै काम ठप्प । खाली समय के गरी बिताउने ? अभिनेत्री स्वस्तिमा खड्कालाई ‘आइडिया’ फुर्‍यो- युट्युब च्यानल खोल्ने । युट्युब अकाउन्ट पहिल्यै थियो । भिडियो राखेकी थिइनन् । अरुले नै खिचेका आफ्ना फोटोसुटका केही भिडियो युट्युबमा अप्लोड गरिन् ।

‘ती अरुकै लागि खिचिएका भिडियो थिए, मैले आफ्नो च्यानलमा राखेको मात्र हो । मलाई युट्युब खोल्न त अगाडिदेखि नै मन थियो । तर काममै व्यस्त थिएँ । समय दिन पाइँदैन भनेर खोलेकै थिइनँ । यो लकडाउनमा समय भयो । समय कटाउनु पनि पर्ने भयो । त्यसैले खोलें,’ स्वस्तिमा सुनाउँछिन्, ‘म सामाजिक सञ्जालमा सक्रिय नै हुन्छु । यो अर्को एउटा प्लेटफर्म पनि हुन्छ भनेर खोलेकी हुँ ।’

लकडाउनबीच नै प्रश्नोउत्तर भिडियोले उनको युट्युब ‘मनिटाइज’ भयो । स्वस्तिमा प्रश्नोउत्तर नै च्यानलको अफिसियल भिडियो रहेको बताउँछिन् । अभिनेता नाजिर हुसेनसँगको ५ वर्षको मित्रतालाई लिएर पनि उनले भिडियो बनाएर सार्वजनिक गरिन् । युट्युबमा राखेका भिडियोबाट आशा गरेभन्दा राम्रो प्रतिक्रिया पाएपछि स्वस्तिमालाई युट्युबमा सक्रिय हुन मन लागेको हो । ‘भ्युज पनि राम्रै आयो । त्यसैले हरेक हप्ता भन्दा पनि महिनाको एकपटक भिडियो ल्याउने तयारी छ । अरु काम पनि भइहाल्छ । अब महिनामा एउटा भिडियो बनाउने सोच्दै छु,’ उनले भनिन् ।

लकडाउनमा स्वस्तिमा मात्र होइन अन्य अभिनेत्रीहरु पनि युट्युबमा सक्रिय देखिए । प्रियंका कार्की, केकी अधिकारी, रिमा विश्वकर्मा, वर्षा राउत पनि लकडाउनबीच युट्युबमा व्यस्त देखिए । साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि चार दिनअघि मात्रै आफ्नो युट्युब च्यानल खोलेकी छिन् । लकडाउनकै समयमा युट्युब च्यानल खोल्नेमा केकी पनि पर्छिन् ।

पर्दापछाडिका दृश्य राख्न युट्युब : स्वस्तिमा खड्का

बिहाइन्ड दि सिन (बिटिएस) अर्थात् पर्दापछाडिको दृश्य राख्ने उद्देश्यले स्वस्तिमाले युट्युब च्यानल खोलेकी हुन् । ‘मलाई मेरो कामको ‘बिटिएस’ राख्ने मन थियो । एक दर्शकको हिसाबले मलाई पनि बाहिरतिरको फिल्म हेर्दा बिटिएस हेर्न रमाइलो लाग्छ । पर्दापछाडि कसरी कलाकारले काम गर्छ होला, निर्देशकले कसरी सोचिरहेको हुन्छ होला भन्ने हेर्न मलाई रमाइलो लाग्छ । अब यहाँका दर्शकलाई पनि त्यस्तै अनुभव हुन्छ होला भनेर युट्युब अकाउन्ट बनाएँ,’ उनले सुनाइन् ।

तर, लकडाउनका बीच उनले पर्दापछाडिका दृश्य युट्युबमा राख्न पाइनन् । फिल्मको छायाङ्कन भइरहेको थिएन । एक हप्तायता उनी विज्ञापन र म्युजिक भिडियोको काममा व्यस्त भएकी छन् । आफ्नो च्यानलका लागि पर्दापछाडिको दृश्य खिचेकी छिन् । सम्पादनको क्रममा रहेको उक्त भिडियो आफ्नो युट्युब च्यानलमा राख्ने तयारीमा छिन् स्वस्तिमा ।

युट्युबका लागि भिडियो बनाउन धेरै समय खर्च हुने उनले अनुभव गरेकी छिन् । नाजिरसँगको भिडियो तयार पार्न पाँच दिन लाग्यो । आफूलाई मेकिङतिर पनि रहर भएकाले त्यतातर्फ अनुभव बटुल्न पाएको उनी बताउँछिन् । ‘समय दिन त एकदमै गाह्रो हुँदो रहेछ । अरु बेलामा तयार सेटमा गएर काम गरिन्छ । यता त लाइट, क्यामेरा, साउन्ड आफैंले हेर्नुपर्छ । साउन्डले बेलाबेला धोखा दिन्छ । झ्याउलाग्दो पनि हुँदो रहेछ । मेकिङतिर रहर भएर होला यता अनुभव गर्न रमाइलै भयो । पर्दापछाडिको काममा कति समय दिनुपर्दो रहेछ भनेर थाहा पाएँ,’ स्वस्तिमाले भनिन् ।

स्वस्तिमा भिडियो बनाउनुअघि कन्टेन्टबारे योजना बनाउँछिन् । घर नजिकैको स्टुडियोमा त्यहीकै एकजना भाइले भिडियो र सम्पादनको काम गरिदिन्छन् । भ्युजले कत्तिको अर्थ राख्छ ? प्रश्नको उत्तर दिँदै भनिन्, ‘भ्युजले अवश्य नै अर्थ राख्दो रहेछ । जति धेरैले हेरे उति धेरैकहाँ भिडियो पुग्ने हो । त्यसको मतलब भ्युजको लागि जे पनि गर्ने, बोल्ने त गर्दिनँ । मेरो उद्देश्य भनेकै क्यान्डिड भिडियो होस्, म कस्तो छु भन्ने देखियोस् ।’

युट्युबबाट पैसा कमाउने सोच भन्दा पनि यो प्लेटफर्मलाई प्रयोग गर्न खोजेको उनी बताउँछिन् । ‘जति आफ्नो च्यानलमा समय दिन्छु त्यति नै समय अरुलाई दिएँ भने त्योभन्दा बढी कमाउन सक्छु म । यो त मैले एउटा प्लेटफर्म मात्र सिर्जना गर्न खोजेको त हो । पैसाका लागि होइन । पैसा नआउने भन्ने होइन तर पैसा नै प्राथमिकतामा छैन,’ उनले भनिन् ।

सिरिज र लघु फिल्मका लागि युट्युब : प्रियंका कार्की

लकडाउनको पहिलो एक महिना प्रियंकाले पनि खाली बसेरै बिताइन् । दोस्रो महिनाबाट भने युट्युबमा ‘कुकिङ रेसीपी’ हेर्न थालिन् । त्यस्तै परिकार पकाएर परिवारलाई खुवाउन थालिन् । सबैले उनको परिकारको तारिफ गरे । त्यसपछि प्रियंकाले पनि युट्युबमा ‘कुकिङ रेसिपी’ राख्ने सोचिन् । समयको सदुपयोग पनि हुने भयो । ‘एनिबडी क्यान कुक’ ट्यागलाइनमा युट्युबमा ‘चप चप डायरिज’का भिडियो बनाउँदै राख्न थालिन् । युट्युबबाट दर्शकसँग जोडिन पनि पाइन् ।

‘लकडाउनमा सबैजना केही नयाँ गर्न चाहन्थे । मैले पनि यो डिजिटल प्लेटफर्मलाई प्रयोग गरेर अगाडि बढ्ने सोचें । चप चप डायरिजलाई राम्रै प्रतिक्रिया आइरहेको छ । पकाउँदै गएपछि मलाई पकाउनेतिर इच्छा रहेछ भन्ने बुझें । कन्टेन्टमा त १/२ दिनमै १ लाख भ्युज कटिरहेको छ । लकडाउन लम्बिँदै गएपछि कसरी हुन्छ युट्युबलाई सक्रिय पारौं भन्ने भयो । अहिलेको समयमा यो नै प्रमुख बजारजस्तो लागेर युट्युब चलाएको हुँ,’ उनले सुनाइन् ।

हुन त गत वर्षदेखि नै प्रियंकाले युट्युब च्यानल खोलेकी थिइन् । लघु फिल्म र सिरिज राख्न आफूले युट्युब च्यानल खोलेको उनी बताउँछिन् । लकडाउन नहुँदो हो त ‘जस्ट एनोदर लभस्टोरी’को सिजन २ अहिले आइसक्थ्यो । तर, लकडाउनले गर्दा प्रियंकाले सिरिज छायाङ्कन गर्न सकिनन् । लकडाउनबीच नै उनले ३ लघु फिल्मको स्क्रिप्ट भने लेखिसकेको बताउँछिन् ।

उनी युट्युब भिडियो घरमै बसेर छायाङ्कन गर्छिन् । पति अभिनेता आयुष्मानले भिडियो खिचिदिन्छन् । दुवैजना मिलेर भिडियो सम्पादन गर्छन् । ‘भिडियो बनाउन गाह्रो भएको छैन, रमाइलै भइरहेको छ,’ उनले सुनाइन् ।

युट्युबका भिडियोमा आउने भ्युले आफूलाई अर्को भिडियो बनाउन हौसला दिने उनको भनाई छ । युट्युबबाट राम्रै कमाइ हुने प्रियंकाको अनुभवले भन्छ । ‘जस्ट एनोदर लभ स्टोरी’को समयमा पनि युट्युबबाट मैले राम्रै कमाएँ । लगानी उठेर पनि नाफा भएको थियो । अहिले पनि मिहेनत गरेर महिनामा ४/५ वटा राम्रो भिडियो राख्नुभयो भने राम्रै कमाइ हुन्छ,’ आफ्नो अनुभव सुनाइन् ।

युट्युबमा सक्रिय भइरहँदा प्रियंकालाई एउटै कुरा मिस भयो । ‘बाहिर स्वतन्त्र भएर निसक्ने मन छ । भीडमा गएर निडर भएर फिल्मको काम सुरु गर्ने मन त छ,’ उनले आफ्नो कुरा राखिन् ।

दर्शकसँग जोडिन युट्युब : रिमा विश्वकर्मा

लकडाउनबीच रिमाले पनि युट्युबमा भिडियोहरु बनाइरहिन् । खासमा रिमाले सन् २०१६ मै युट्युब च्यानल खोलेकी हुन् । ‘नेपाल आइडल’को ‘वर्ल्ड टुर’का विभिन्न भिडियो सार्वजनिक गर्न युट्युबमा राख्थिन् उनी । ‘दर्शकलाई प्रतिस्पर्धीहरुका बारेमा जानकारी दिन रमाइलोको लागि युट्युब खोलेकी थिएँ । लकडाउनको समयमा प्रशस्त समय भयो । मैले कविता लेखें । स्केच बनाउन कोशिस गरें । दर्शकसँगको अन्तरक्रिया मिस भा’को जस्तो पनि भयो । अनि फेरि युट्युबमा सक्रिय भएँ,’ रिमाले भनिन् ।

युट्युबप्रति उनको रुचि बढ्दै गएको छ । आफ्नो युट्युबका लागि उनी नयाँ टिम नै खडा गर्दैछिन् । अवस्था सामान्य भएपछि पनि युट्युबलाई सक्रिय बनाउन टिम निर्माण गरिरहेको रिमा बताउँछिन् । उनी योजना बनाएरै भिडियो बनाइरहेकी हुन्छिन् । अहिले मोबाइलबाट भन्दा पनि क्यामेरा नै प्रयोग गरेर भिडियो खिच्छिन् । ‘प्रोडक्सनको सबै काम हेर्छु आफैंले । हामीलाई त प्रोडक्सनको बानी छैन । अलिकति झ्याउलाग्दो रहेछ,’ उनले भनिन् ।

हप्ताको एउटा भिडियो बनाउने तयारी छ रिमाको । उनी युट्युबलाई लामो समयसम्म निरन्तरता दिन चाहन्छिन् । भविष्यमा लघु फिल्म बनाएर युट्युबबाटै सार्वजनिक गर्ने उनको योजना छ ।

युट्युबरसँगको विवाद

पछिल्लो समय युट्युबमा आएका अश्लील कमेन्टलाई लिएर अभिनेत्री र युट्युबरबीच विवाद भयो । अभिनेत्रीहरुले आफूले दिएको अन्तरवार्तामा आएका अश्लील कमेन्ट हटाउन युट्युबरसँग अनुरोध गरे । केहिले ती अश्लील कमेन्ट डिलिट पनि गरिदिए, कतिले गरेनन् । त्यसपछि पनि अभिनेत्रीहरुले युट्युबरलाई दिएको अन्तरवार्ताका हेडलाइनलाई लिएर आपत्ति जनाए । अन्तरवार्ता नै नदिनेसमेत भनेपछि भने युट्युबरहरुसमेत जुर्मुरिएका थिए ।

त्यसैपछि हो अभिनेत्रीहरुले धमाधम युट्युब च्यानल खोल्न थालेको । युट्युबरसँगको त्यही विवादले गर्दा कलाकारले युट्युब खोलेको प्रियंका बताउँछिन् । ‘युट्युब चलाउनु नराम्रो होइन । तर, तपाईंले कुनै कलाकारलाई बोलाएर त्यो कलाकारलाई सम्मान दिनुहुन्छ कि भएको सम्मान पनि खोस्दिदिनुहुन्छ भन्ने कुराले फरक पार्ने हो । म कुनै कलाकारलाई कार्यक्रममा बोलाउँदा कतिखेर त्यसले नराम्रो बोल्ला र त्यसको हेडलाइन बनाउँछु भनेर कुरिरहेको हुँदिन,’ उनले भनिन्, ‘युट्युबमा अन्तरवार्ता दिनु हामीलाई समस्या छैन । नकारात्मक कमेन्टले गर्दा हामीले युट्युबमा अन्तवार्ता दिन कम गरेको हो । आफ्नो युट्युब खोलेपछि कसैलाई काहीँ जानै पर्दैन। यो सबै त्यही नेगेटिभीटिको उपज हो ।’

प्रियंका थप्छिन्,’उहाँहरु कलाकारको इज्जत गए पनि युट्युबको भ्यु बढ्नुपर्छ भन्ने सोच राख्नुहुन्छ । कुनै बेला भन्न खोजेको कुरा मिलेर नआइदेला, बोली चिप्लएला तर म मेरो युट्युबमा त्यो कुरा ध्यान दिएर काटदिन्छु । तर त्यस्तो कति युट्युबरले हामी गर्छौं भन्न सक्छन् ?’

स्वस्तिमालाई पनि हेडलाइनलाई लिएर युट्युबरहरु गम्भीर नभइदिएको लाग्छ । त्यसैले आफ्नो च्यानलमा उनी ती कुरामा ध्यान दिने बताउँछिन् । ‘युट्युबरहरुले जे पनि बोल्ने, जस्तो पायो उस्तै हेडलाइन राख्ने म त गर्दिनँ,’ उनले भनिन् ।

चर्चामा

सम्बन्धित समाचार